२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

जब उनले कुवेतमा १० लाखमा बेचिएको थाहा पाइन्...

वाग्मती प्रदेशकी २१ वर्षीया एक युवती आकर्षक तलब-सुविधाको आशामा गत मंसिर २७ गते कुवेत पुगिन्। उनलाई कुवेतको रोयल रेस्टुरेन्ट कम्पनीमा राम्रो तलब-सुविधासहित काम पाइने प्रलोभन देखाएर नेपालबाट तीनजना दलालले त्यहाँ पठाएका थिए। तर त्यहाँ पुगेपछि भने आकर्षक तलब–सुविधा प्राप्त गर्ने उनको सपना चकनाचुर भयो। उनलाई कुवेतमा मासिक तलब–सुविधा दिने गरी काममा पठाइएको नभई बेचिएको थियो।

दलालहरूले वैदेशिक रोजगारीका लागि भन्दै कुवेत पुर्‍याउँदासम्म पनि आफू बेचिएको पत्तै नपाएको ती युवती बताउँछिन्। परिवार र आफन्तबाट शुभकामना बटुलेर कुवेत ओर्लिएकी उनलाई विमानस्थलमा लिन कुवेतस्थित नेपाली एजेन्टकै कार्यालयबाट एक युवती आएकी थिइन्। कुवेतस्थित एजेन्टको कार्यालमा पुगेको केही घन्टापछि उनलाई लिन एक अरबी युवक आए। नेपाली युवती र ती युवकबीच केही खासखुस कुरा भयो। त्यसपछि त्यो युवकले उनलाई लिएर गए। विमानस्थलसम्म लिन आएकी नेपाली युवतीले अरबी युवकसँगै जान भनेको उनले सुनाइन्। ‘मलाई पनि काम गर्ने कम्पनीको मान्छे लिन आएको होला भन्ने लाग्यो । त्यो युवकसँगै गएँ,’ उनले भनिन्।

आफूलाई कम्पनीमा नभएर ती युवकले घरमा लिएर गएको उनले बताइन्। ‘म रेस्टुरेन्टमा काम गर्न भनेर आएकी हुँ, घरमा किन ल्याएको?’ भनेर सोध्दा ती युवकले ‘तिमीलाई १० लाख रूपैयाँमा किनेर ल्याएको’ जवाफ दिए। पीडित युवतीले भनिन्, ‘त्यसपछि मात्र मैले आफू बेचिएको थाहा पाएँ।’ त्यसपछि आफू अत्तालिएकी उनले बताइन्। उनका अनुसार घरमा पु¥याएको केही घन्टा पनि नबित्दै मालिकले काम गर्न दबाब दिँदै कुटपिट गर्न थाले। उनीहरूले आफूले किनेर ल्याएकाले जस्तोसुकै काम गर्नुपर्ने भन्दै दबाब दिए। वैदेशिक रोजगारीमा गएर आकर्षक तलब–सुविधा प्राप्त गर्ने उनको सुन्दर सपना क्षणभर पनि टिक्न सकेन।

ती युवतीका अनुसार आदेश नमान्दा घरमालिकले उनलाई कपाल भुत्ल्याउने, फलामको लौरो वा नजिकै जे भेटिन्छ त्यसैले कुट्ने गर्थे। घरमालिकले उनको मोबाइल पनि खोसे। घरपरिवारसँगको सम्पर्क पनि टु्ट्यो। केही समयपछि जब मोबाइल हात पर्‍यो उनले सबैभन्दा पहिले आफ्नो अवस्थाबारे परिवारलाई जानकारी गराइन्। उनले कुटपिटबाट भएका चोटसहितको भिडियो ह्वाट्स एपमार्फत नेपालमा रहेका दाइलाई पठाइन् र जतिसक्दो चाँडो उद्धार गर्न भनिन्। आफ्नो अवस्थाबारे परिवारलाई जानकारी गराएको थाहा पाएपछि घरमालिकले फेरि मोबाइल खोसेको उनले बताइन्। ‘घरमालिकले आफूले मात्र कुट्ने नभएर बाहिरबाट डरलाग्दा अरबी बोलाएर कुटपिट गर्न लगाउँथे। शरीरमा नीलडामबाहेक केही थिएन। खाना खान पनि दिँदैनथे,’ उनले भनिन्।

उनका दाइले कुवेतमा भएकी बहिनीलाई नेपाल ल्याइदिन अनुरोध गर्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिए। तर उनलाई भने कुवेतमा पुर्‍याएका दलालहरूले ८/९ लाख पैसा दिए मात्र नेपाल फर्काइदिने नभए त्यहीं मार्न लगाउने भन्दै त्रास देखाए। उनीहरूले कुनै मुद्दामा फसाएर कुवेतमै जन्मकैद गराइदिनेसम्मका धम्की दिए। उद्धारका लागि कुवेतमा रहेको नेपाली राजदूतावासमा खबर पुगेको करिब १५ दिनपछि उनलाई बेच्ने एजेन्सीको कार्यालयमा ल्याइयो। त्यसपछि भने उनमा नरकको जीवनबाट छुटकारा पाइन्छ कि भन्ने झिनो आशा जाग्यो। तर बेच्ने एजेन्सीको कार्यालयमा आएपछि पनि उनीमाथिको कुटपिट रोकिएन। त्यहाँ पनि आफूलाई बन्द कोठामा थुनेर नेपाली केटीले नै बेसरी कुटेको उनी बताउँछिन्।

एजेन्सीमा काम गर्ने एक नेपाली युवतीले उनलाई कुट्दै एजेन्सीमा छापा मारे मारिदिने धम्की दिइन्। उनले आफ्नो पैसा डुबेकाले त्यो असुली गर्ने भन्दै यातना दिने गर्थिन्। नेपाली एजेन्सीमै उनलाई १८ दिनसम्म अँध्यारो कोठामा थुनेर राखियो। त्यो बन्द कोठामा उनी मात्र नभएर अरू १८–२० महिलालाई पनि बन्धकजस्तै बनाएर राखिएको थियो। उनीहरूले पनि आफूहरू बेचिएको कथा उनलाई सुनाए। त्यहाँ उनीहरूलाई समयमा खाना खान पनि नदिईकन चिसो भुइँमा राखिएको थियो।

पीडित ती युवतीले कुवेतमा जीउडाल मिलेका, कम उमेरका र हेर्दा आकर्षक देखिने महिलालाई १० देखि १२ लाखमा बिक्री गरिने आफूले थाहा पाएको बताइन्। हेर्दा ठिकै देखिने, धेरै उमेर भएकालाई भने ४ देखि ५ लाखसम्ममा बेच्ने गरिएको उनले जानकारी दिइन्।

कुवेतमा रहेको नेपाली दूतावासले आफूलाई नेपाल पठाउन आग्रह गर्दै एजेन्सीलाई पत्र लेखेपछि बिक्री गर्ने दलालहरूले आफ्नै राजीखुसीमा कुवेत आएको बेहोराको बकपत्रमा हस्ताक्षर गर्न लगाएको उनले बताइन्। साथै उनलाई भिडियोमार्फत पनि सोही बेहोरा बोल्न दबाब दिइयो। सुरुमा उनले दलालहरूको आग्रहलाई स्वीकार गरिनन्। तर निरन्तर यातना दिँदै बकपत्रमा हस्ताक्षर गर्न दबाब दिइयो। उनीहरूले नेपाल फर्काउने टिकट र राहदानी देखाएर त्यसो गरेका थिए। भनेको नमान्दा कपाल समाएर जगल्ट्याउँथे। कुटपिट गर्दा नीलडाम बस्ने भएकाले कपालमा समाएर जगल्ट्याउने गरेको उनले बताइन्। दैनिक यातना सहन नसकेपछि घरको काम गर्न आफ्नै खुसीले कुवेत आएको भन्दै ल्याप्चे लगाउन र भिडियोमा बोल्न उनी तयार भइन्। सहीछाप लगाएको केही दिनपछि मानव बेचबिखनमा संलग्न दलालहरू नै नेपाल पठाउन कुवेत विमानस्थलसम्म आएका थिए। उनीहरूले विमानस्थलमा पनि उनलाई नेपाल पुगेर चलाखी गरे राम्रो नहुने भन्दै धम्की दिएको पीडित युवती बताइन्।

पीडित युवतीलाई यही माघ ४ गते मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उद्धार गरेको ब्युरोका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए। ‘वैदेशिक रोजगारीका सिलसिलामा बेचिएका, अमानवीय व्यवहारमा परेका र नारकीय जीवन बिताउन बाध्य बनेका नेपाली चेलीबेटीहरूको उद्धारका लागि निवेदन आउनेबित्तिकै हामी प्रक्रिया चलाउँछौं,’ मल्लले भने। नेपालको कानुनअनुसार उद्धारको प्रक्रिया धेरै लामो हुने भएकाले बेचिएका चेलीबेटीलाई तत्काल उद्धार गर्न नसकिएको मल्ल बताउँछन्। ‘मानव बेचबिखनमा परेका पीडित महिलाको दुःख सुन्दा आजै उद्धार गरौं, भोलि नै स्वदेश फर्काऔं भन्ने लाग्छ तर भनेजस्तो सजिलो छैन। जसले लगेर बेचबिखन गरे, तिनीहरूलाई नै फकाएर सहयोग लिँदा मात्र उद्धार कार्य सफल हुन्छ,’ उनले भने।

सामाजिक सञ्जालका माध्यमबाट दलालसँग हुने सम्पर्क झन् डरलाग्दो रहेको प्रहरी उपरीक्षक मल्लको अनुभव छ। ‘सामाजिक सञ्जालमार्फत दलालहरूसँग सम्पर्क राख्ने, दलालहरूले फोटो पठाइदेऊ भनेपछि पठाइदिने, धेरै लुगा लगाएको नभई अलि कम लुगा वा छोटा लुगा लगाएको फोटो चाहिएको भनेपछि सोहीबमोजिम फोटो पठाइदिने गरेको देखिन्छ। त्यसरी सम्पर्क गरेर जाने पीडित पनि टन्नै छन्,’ उनले भने।

यसरी आफू जोखिममा पर्दैछु भनेर पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलालाई जोगाउन झनै चुनौतीपूर्ण रहेको प्रहरी उपरीक्षक मल्लको भनाइ छ। आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट १४६ वटा मानव बेचबिखनका मुद्दा परेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। त्यसबाट प्रभावित (पीडित) भने २११ जना छन्। जसमा महिलाको संख्याको २०० रहेको छ भने पुरुष जम्मा ११ जना मात्र छन्। २९१ अभियुक्तमध्ये १८० जनालाई मानव बेचबिखनको आरोपमा पक्राउ गरिएको ब्युरोले जनाएको छ।

नेपालभरि आर्थिक वर्ष २०७९/८० को पुससम्म ६८ वटा मुद्दा दर्ता भएका छन्। त्यसमा ९९ जना पीडित छन् भने १४१ जना अभियुक्त छन्। ८६ जना अभियुक्त पक्राउ परेको ब्युरोको तथ्यांकले देखाएको छ। हालसम्म ब्युरोद्वारा ४३८ जनाको उद्धार गरिएको ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए। गत आर्थिक वर्षमा ४६ महिला र चार पुरुष थिए भने चालु आर्थिक वर्षको पुससम्म २८ महिला १६ पुरुषको उक्त ब्युरोमार्फत उद्धार गरिएको तथ्यांक छ।

प्रकाशित: १६ माघ २०७९ ००:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App