१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिंदै

वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दै छन्।

पिंढी दर पिंढी रूपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत  मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ।

जलेश्वर नगरपालिका-८ का रामबाबु चौधरीका अनुसार किसानले आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चामल, लडडू लगायत वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गर्दै छन्। गोरुलाई नुहाई नयाँ रंगचंगी डोरी, माला लगाएर पूजा गरिंदै छ।

हलो र गोरुको पूजा गरिसकेपछि खेत जोत्ने चलन छ। किसानले किनेको नयाँ गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने चलन रहेको जलेश्वर–६ का गणेश साहले बताए। किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितका कृषि औजारलाई नयाँ धार लगाएर प्रयोग गर्ने गर्दछन्।

श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चामलमा सक्खर मिसाएर प्रसाद तयार पार्छन् भने हलो र गोरुको पूजा गरेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन्। मिथिलाञ्चलका किसान आजका दिनदेखि खेतीपाती सुरु भएको मान्छन्। आजैका दिनदेखि आआफ्नो बाँझो खेतबारी जोत्न शुभारम्भ गर्छन्।

मिथिलाञ्चलको गाउँ गाउँमा आज सयौं गोरु एकसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरै रूपमा राखेको देख्न पाइन्छ। जलेश्वर–११ का किशुन विच्छा पछिल्लो समय ट्रयाक्टर, पावर टिलर लगायत यन्त्र भित्रिए पनि सबै खेतबारीमा सहज रूपमा पुग्न नसक्ने, आफूले चाहे अनुसारको खेतबारी खनजोत गर्न नसक्ने हुनाले खेतीपातीका लागि हलो र गोरु नै सहज हुने बताउँछन्। रासस  

प्रकाशित: १२ माघ २०७९ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App