२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

चितवन निकुञ्ज फेरी सिकारीको निसानामाः धमाधम मारिन थाले विश्वकै दूर्लभ ‘गैंडा’

सिकारीसँगै सलबलाउँदै ‘खाग’ तस्करहरु

गत शुक्रबार मध्यविन्दु नगरपालिका २ स्थित नारायणी नदी किनारमा सिकारीले मारेका गैंडाहरु।

२०७३ सालदेखि लगातार तीन वर्ष दुर्लभ एक सिंगे गैँडा शुन्य चोरी सिकारी वर्ष मनाएको चितवन राष्ट्रिय निकुञ्ज फेरी सिकारीको निसानामा परेको छ।

विश्वका कै दूर्लभ वन्यजन्तु ‘एकसिंगे गैडा’ सिकारीको निसानामा पर्न थालेका छन्। सिकारीहरु सक्रिय हुनुको सन्देश गैंडाको खाग तस्करीमा गर्दै आएको समूह पनि सक्रिय हुनु हो। यो संरक्षणको जिम्मेवार निकायका लागि पछिल्लो दिनमा ठूलो चुनौती बनेको छ।

त्यसो त पछिल्ला तीनदेखि सिकारीहरु गैंडा मार्न सक्रिए भइरहेका छन्। तर पछिल्ला दिनमा गैंडा मारिनेक्रम बढ्न थालेको छ।

निकुञ्ज प्रशासनको आधिकारीक तथ्याङका अनुसार तीन वर्षमा ८ वटा गैँडा तस्करले मारेको छन्। तर, मरेका मृत्युको कारण नखुलाइएका गैंडाको संख्या २८ छ।

आर्थिक वर्ष २०७७/०७८ मा चार, गत आव र चालु आव दुई वटा गैंडा सिकारीको निसानामा परेका छन्। गैंडाको खाग तस्करीमा संगल्न व्यक्तिहरुले विभिन्न प्रलोभन देखाएर गैंडा मार्न सिकारीहरुलाई प्रयोग गर्दै आएका छन्।  

विद्युतीय धरापमा पारेर मारेको घट्नामध्ये २०६३ सालपछि मध्यविन्दु नगरपालिका २ स्थित नारायणी नदी किनारको पहिलो घटना हो। त्यहाँ गत शुक्रबार मात्र आमा र बच्चालाई विद्युतीय धरापमा पारेर मारिएको छ। एक स्थानमा दुई वटा गैंडा मारिएका छन्। सिकारीले ती गैंडाको खाग काटेर लगेका छन्।

२०६३ मा निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै जगतपुरमा तस्करले गैंडालाई विद्युतीय धरापमा पारेर मारेका निकुञ्जको तथ्याङकमा उल्लेख छ।

शुक्रबार दुई वटा गैँडा सिकारीले बस्ती नजिकै विद्युतीय धरापमा पारेका हुन्। उनीहरुले नजिकैको मन्दिरबाट विद्युत लगेर धराप थापेको देखिन्छ। यसरी वस्ती क्षेत्रमै विद्युतीय धरापमा गैंडा मार्नु चिन्ताका विषय रहेको बाघमारा मध्यवर्ती सामुदायीक वनका अध्यक्ष जीतबहादुर तामाङ बताउँछन् ।

‘तस्करले सबैभन्दा सजिलो माध्यम विद्युतीय धरापलाई लिएका छन्,’ उनले भने ‘वस्ती नजिकैँ यसरी गैंडा मारिनु भनेका भयावहको स्थिती सृजना हुनु हो।’ अघिल्लो आर्थिक वर्ष माडी क्षेत्रमै दुई वटा गैंडा मारिएका थिए। यो पनि बस्ती क्षेत्रमै पर्दछ। त्यहाँ भालाको प्रयोग गरेर सिकारीले गैंडा मारेको निकुञ्जले जनाएको छ।

निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रका वस्तीमा गैंडा आइरहन्छन्। उनीहरु विद्युतीय धरापमा परिरहेका छन्। गत असोज २२ गते कुमरोज सामुदायीक मध्यवर्ती वन नजिक वस्तीमा एक गैंडा विद्युतीय धरापमा परि मृत्यु भएको थियो।

भरतपुर महानगरपालिका २७ स्थित नारायणी किनारमा अघिल्लो मंसिर २७ गते पनि विद्युतीय धरापमा पारि गैंडा मारिएको थियो। तर, यी गैंडालाई तस्करबाट परिचालित सिकारीले नभई स्थानीयले प्रयोग गरेको विद्युतमा आएर मरेको भनिएको छ। यी सबै गैंडाको खाग सकुसल थियो।

आठ वर्षको अवधिमा १० वटा गैंडा विद्युतको धरापमा परेर मरेका छन्। २०५५ सालदेखि यत्ता निकुञ्जले पाँच वर्ष शुन्य चोरी सिकार बर्ष मनाएको थियो।  

आव २०७१/०७२, २०७२/०७३, २०७४/०७५, २०७५/०७६, २०७६/०७७ मा सिकारीले गैँडा मारेका थिएनन्। २४ वर्षको अवधिमा १ सय ८१ वटा गैंडा सिकारीले मारेका छन्।  

चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला वर्ष फरार प्रतिवादीहरुको संख्या ठूलो रहेकाले उनीहरु सक्रिय रहेको अनुमान गर्छन।

निकुञ्जको तथ्याङ्कअनुसार १०५ जना प्रतिवादी अझै फरार छन्। सजाय कैद भुक्तान गरेर निस्केका रामकुमार प्रजा, बमबहादुर प्रजा, नर बहादुर कुमाल जेलबाट निस्केर गैंडा तस्करमा नै लागेका थिए।

‘चोरी सिकारी मुद्दामा थुप्रै प्रतिवादीहरु फरार छन्। कति जेलबाट छुटेर पनि फेरी चोरी सिकारमा लागेका छन’, उनले भने। निकुञ्ज संरक्षणको जिम्मा नेपाली सेना, निकुञ्ज प्रशासनलाई छ।

तर, गैंडा सिकारी र तस्करहरु अहिले अझ बढि सक्रिय भएको घटनाक्रमले पुष्टि गरेको छ। गैंडा तस्करीको अनुसन्धानमा लागेका निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन्।  

‘शुक्रबारको घटनाले हामीलाई संरक्षणमा चुनौती थपिएको छ। खागै चोरेर लगिसकेपछि गिरोहलाई निमिट्यान्न नपार्दासम्म चुनौती थपिएको छ,’ अपलटारी फिल्डमा खटिएका तिवारीले भने, ‘उनीहरुलाई ‘कानुनी दायरामा ल्याउन प्रयास गरेका छौँ।’

समुदायको सहभागिता विना संरक्षण गर्न चुनौती नै हुन्छ। सोही अनुसार सरकारले पनि मध्यवर्ती व्यवस्थापन समिति मार्फत समुदायलाई संरक्षणमा लगाउने गरेको छ। तर, मध्यवर्ती वस्ती नजिकै गैंडा मरिदा स्थानीय समेत झस्किएका छन्।

मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले वन्यजन्तु संरक्षणमा स्थानीय समुदायलाई परिचालित गर्नुपर्ने बताए। प्राकृतिक विपत्ति, बासस्थानको कमी, आहाराको अभावजस्ता कारणबारे व्यापक अध्ययन, अनुसन्धान गरेर गैँडाको मृत्यु न्यूनीकरण गर्नु गर्नुपर्ने बताउँछन्।

२०७२ सालदेखि हालसम्म चितवन राष्ट्रिय निकुञ्ज आसपासमा २ सय ४ वटा गैंडा मरेका छन्। त्यसमध्ये सबैभन्दा धेरै बुढो भएर भिरबाट लडेर ६० वटा मरेका छन्। त्यस्तै दलदलमा भासिएर १९, आपसमा जुधेर ४९, बाघको आक्रमणबाट १६, सम्भावित चोरी शिकारबाट ९, विद्युतीय करेन्टबाट १०, बिरामी भएर १०, खाडलमा परी ३, बिष सेवनबाट ५ र कारण नखुलेका २८ वटा गैंडा मरेका छन्। निकुञ्जको गैँडाको संख्या पनि बढ्दो क्रममा छ। सन् २०२१ को गणनामा देशभर सात ५२ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ वटा गैँडा छन्।

विगतका अनुसन्धानले गैंडाको खाग तस्करीमा चार समूहमा व्यक्तिहरु परिचालित हुने गरेका छन्। स्थानीय तहमा सिकारी र तीनलाई लगाउने व्यक्ति हुन्छ भने काठमाडौंमा स्थानीय टोलीलाई परिचालन गर्ने व्यक्ति हुन्छ। यसरी गैंडा मारेर खाग आइपुगेपछि त्यसलाई अन्तराष्ट्रिय बजारमा पु¥याउने व्यक्तिहरुको समूह हुन्छ।  

प्रकाशित: १० माघ २०७९ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App