coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बारपाक–लाप्राक सडक अलपत्रः कार्यालयलाई टेर्दैनन् ठेकेदार

बारपाक–लाप्राक सडक खण्ड।

बारपाक देखि लाप्राक सम्मको १३ दशमलव १४ किलोमिटर सडकमा निर्माण ब्यवशायीले काम नगर्दा अहिलेपनि सवारी साधन आउजाउ गर्न मुस्किल छ। ३४ करोड १५ लाखमा उक्त खण्ड स्तरोन्नती (ग्राबेल) गर्ने जिम्मा लिएको शर्मा/विक्वी जेभीले सुस्त गतीमा काम गरेको छ।  

२०७७ जेठ ९ गते पूर्वाधार बिकास कार्यालय गोरखासँग २०७९ जेठ २२ मा काम पुरा गर्ने जिम्मा लिएको कम्पनीले कबुल गरेको मिति काम गर्न नसकेको कार्यालयले जनाएको छ। ‘पहिलो पटक २०८० जेठ २१ सम्म अहिले म्याद थप भएको छ’ पूर्वाधार बिकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले भने।  

थप भएको म्यादमापनि कामको गती भने पुरानै शैलीमा छ। अहिले सम्म ४५ प्रतिशत मात्रै भौतिक प्रगती भएको पूर्वाधार कार्यालयका इन्जिनियर दिपक बस्नेतले बताए। ‘बित्तिय प्रगती करिब ४१ प्रतिशत छ’ उनले भने।  

अहिलेपनि फिल्डमा काम गर्ने मजदुर, उपकरण, सामग्रीहरु कम छन्। समयमै सडक स्तरोन्नती नगरेको भन्दै लाप्राकका स्थानीय निर्माण ब्यवशायीसँग रुष्ट छन्। अहिले बारपाकदेखि लाप्राक, गुम्दा जाने सर्वसाधारणले सडक सहज नभएकै कारण महँगो भाडा तिरेर जिपमा यात्रा गर्नुपर्ने बाध्यता छ। त्यहाँ सडक सहज भयो भने नियमित बस सेवा संचालन गर्नसकिने यातायात ब्यवशायी बताउँछन्।  

धार्चे गाउँपालिका ४ लाप्राकका वडा अध्यक्ष किसान गुरुङले गत जेठ पहिलो हप्तादेखि सडकमा काम गर्नेहरु नरहेको बताए। ‘बर्खा लाग्यो भन्यो, चुनाव भन्यो हुँदाहुँदै अहिले सम्म काम गर्ने मान्छे आएको छैन’ उनले भने। स्थानीयले वडा कार्यालयमा सडक राम्रो नभएको भन्दै गुनासो गर्दै आएको उनले बताए। ‘दशैँ तिहारमा ठेकेदार हराएपछि वडाबाटै सडक सफा गरेर जसोतसो गाडी चल्ने बनायौँ, अहिले जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ’ उनले भने।  

सडक निर्माण छिटो पुरा गर्न आफुले पूर्वाधार कार्यालय, जिल्ला प्रशासन र निर्माण ब्यवशायीलाईपनि बारम्बार भन्ने गरेको उनले बताए। निर्माण ब्यवशायीले काम हुन्छ भन्ने तर नगर्ने गर्दा बारपाक लाप्राक सडक अलपत्र छ।  

‘कामको गती सुस्त भयो भनेर दुई पटक पत्राचार गरिसक्यौँ’ पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुङ्गानाले भने ‘तर निर्माण ब्यवशायीले गती बढाएनन्।’ दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, वर्षातका बेला निर्माण सामग्री लैजान समस्या हुने लगायत कारण देखाएर ब्यवशायीले काम रोक्दै आएका छन्।  

२०७२ सालको भुकम्पको केन्द्रबिन्दु बारपाक गएका सर्वसाधारण लाप्राक सम्म जान चाहान्छन्। धार्चे गाउँपालिकाको लाप्राक गैरआबासिय नेपाली संघ ९एनआरएनए० ले एकिकृत बस्ती निर्माण गरेको ठाउँ हो। गुप्सिपाखामा निर्माण भएको पाँच सय भन्दाबढि एकैखाले बस्ती रहेको घर हेर्नपनि आन्तरिक पर्यटक लाप्राक जाने गर्छन्। त्यहाँ हिउँपनि पर्छ। बारपाकदेखि लाप्राक जाने सहज नहुँदा धेरै आन्तरिक पर्यटक बारपाकबाटै फर्कने गरेका छन्।  

प्रकाशित: ५ माघ २०७९ ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App