२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

पार्किङ शुल्क वृद्धिको विरोधमा इलामका यातायात व्यवसायी आन्दोलित

इलाम–  इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायीले शुक्रबार दोस्रो दिन पनि इलाम बजारमा सवारी साधन प्रवेश गराएनन्। नगरपालिकाले पार्किङ शुल्क पुनर्विचार नगरेसम्म आन्दोलन नछाड्ने व्यवसायीको अडान छ।

नगरपालिकाले स्थानीय स्वायत्त शासन नियमावलीको ‘अपव्याख्या’ गर्दै पार्किङ शुल्क बढाएको व्यवसायीको आरोप छ। गतवर्ष जिल्लाबाहिर जाने गाडीलाई ५० रुपैयाँ लिने गरेकामा यो वर्ष ८७ रुपैयाँ ७५ पैसा लिइरहेको छ । बस, ट्रकलगायत ठूला गाडी र नेपाली पर्यटक सवारीलाई गतसाल ८५ रुपैयाँ लिने गरेकामा चालू वर्ष १ सय १३ रुपैयाँ पुर्याइएको छ।

भारतीय गाडीलाई १ सयबाट बढाएर २ सय २६ रुपैयाँ, लोकल भ्यानहरूलाई २० बाट ३३ रुपैयाँ ९० पैसा, गाउँ जाने ट्र्याक्टर, पिकअपलाई ५० बाट बढाएर ८५ रुपैयाँ लिइरहेको छ । कुद्ने दूरी हेरेर पार्किङ शुल्क लिने व्यवस्था ऐनले नगरे पनि नगरले भने दूरीलाई समेत आधार मानेर शुल्क लिइरहेको व्यवसायीको गुनासो छ ।

नगरले चालू आर्थिक वर्ष २०७३/०७४ मा लागू हुनेगरी सवारी साधनको पार्किङ शुल्क गतवर्षहरूभन्दा दोब्बर बनाएको भन्दै ट्याक्सी, जिप, बस, ट्र्याक्टर र पिकअप व्यवसायी बिहीबारयता आन्दोलनमा छन् । उनीहरूले बिब्ल्याँटेतिरबाट आउने सवारी इलाम बजारभन्दा करिब डेढ किलोमिटरको धोविधारा तथा माइखोलातिरबाट आउनेलाई त्यति नै टाढाको जिरो किलोमिटरसम्म मात्र आउन दिएका छन् । बजार आइपुग्नुअघि नै सवारी साधनले ओरालेपछि सयौं यात्रु सडकमै अलपत्र हुने गरेका छन् । गाडीमा बजारसम्म सामान लिएर आउने यात्रु डेढ किमी टाढैबाट सामान ओरालेर बोक्नुपर्दा ठूलो समस्यामा देखिन्छन् ।
    नगरले आफूले निर्माण गरी सञ्चालन गरेको आधुनिक सुविधासम्पन्न बसपार्कमा नगरपरिषद्ले निर्धारण गरेको पार्किङ शुल्क लिन सक्ने व्यवस्थाअनुसार शुल्क लिएको दाबी गरेको छ । तर, व्यवस्थित पार्किङ नभइ सडकमै पार्किङ शुल्क उठाएर नगरले त्यसैलाई सुविधासम्पन्न भन्न खोजेको व्यवसायी बताउँछन् ।
    शुक्रबार अपराह्न प्रमुख जिल्ला अधिकारी, प्रहरी, नगरपालिकाका प्रतिनिधि र यातायात व्यवसायीबीच समस्या समाधानका लागि छलफल भएको थियो । तर, दुवै पक्षले अडान नछाड्दा समस्या सुल्झिन भने सकेन । छलफलमा व्यवसायीले बढेको शुल्क फिर्ता लिन, नगरपालिका, व्यवसायी, राजनीतिक दल र नागरिक समाजलगायत प्रतिनिधिसहितको सहमतिमा शुल्क पुनः निर्धारण माग गरेका थिए ।
    नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले भने पार्किङ शुल्क नगर परिषद्ले नै पारित गरेकाले चित्त नबुझे अदालतमा गएर न्याय खोज्न व्यवसायीलाई सुझाव दिएको पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघ अध्यक्ष गृष्म सुब्बाले बताए । ‘दुवै पक्ष अडानमै रहेकाले छलफलबाट निष्कर्ष निस्किन सकेन,’ उनले भने, ‘शनिबार बिहान ११ बजे पुनः छलफल बसेर समाधान खोज्ने सहमति भएको छ ।’ शनिबार भने सवारीलाई पार्किङ शुल्क नलिने सहमति भएकाले शनिबार चाहिँ इलाम बजारमा सवारी साधन प्रवेश गर्ने बताए ।
    परिषद्को निर्णय पुनर्विचारका लागि पटक–पटक आग्रह गर्दा पनि कानुनको अपव्याख्या गर्दै नगरपालिकाले मनोमानी ढंगले पार्किङ शुल्क बढाएको अध्यक्ष सुब्बाले बताए । नगरको निर्णयविरुद्ध पूर्वाञ्चल जिप व्यवसायी संघ, नेपाल रात्रिबस व्यवसायी संघ, ट्र्याक्टर व्यवसायी संघ, इलामेली यातायात ट्र्याक्टर मजदुर संघ, पिकअप व्यवसायी संघ, पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघ इलाम, बिब्ल्याँटे, फिक्कल र गोलाखर्क शाखा आन्दोलित छन् ।

 

प्रकाशित: २८ श्रावण २०७३ १३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App