२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
समाज

लोप हुँदै 'भकारी'

पहिले-पहिले घरमा हुने माटोको ढरा (भकारी) हेरेर परिवारको सम्पन्नता आङ्कलन गरिन्थ्यो। खेतबारीमा उब्जेको अन्नपात सुरक्षित भण्डारण गरेर राख्ने माटोको ढरा वा भकारी जति ठूलो हुन्थ्यो ती परिवार त्यति नै धेरै सुखी सम्पन्न रहेको मानिन्थ्यो।

घरमा रहेको ढरा र भकारीको सङ्ख्या र आकार प्रकारले परिवारको धनसम्पति खेतलगायत सो परिवारसँग रहेको श्रीसम्पतीको प्रमाणित गर्ने आधार नै हुन्थे। जुन घरमा जति ठूलो भकारी र माटोको ढरा हुन्थ्यो त्यो घर त्यति धेरै धनाढय, सुखी र सम्पन्न रहेको मानिन्थ्यो।

जुम्लाको गाउँघरमा अन्न भण्डारणको लागि बनाइने माटोको ढरा भकारी लोप नै भइसकेको भन्दा दुईमत नहोला। जुम्ला लगायत साविकको कर्णाली अञ्चल भित्रका गाउँ (गाउँमा छोरी चेलीको वैवाहिक सम्बन्धको कुरा गर्न आउँदा छोरी पक्षले छोरा पक्षको घरमा रहेको ढरा भकारी हेरेर उसको आर्थिक हैसियतको आङ्कलन गरेर वैवाहिक सम्बन्ध गासिने गरिन्थ्यो तर अहिले न त ढरा भकारी नै छन् न त अब ती प्रचलमै रहे।

यस परम्परालाई जोगाउन नयाँ पुस्ताले चासो देखाउनुपर्ने संस्कृतिविद्हरु बताउँछन्। माटोको ढरा परम्परा, कलासंस्कृति र घर परिवारको आर्थिक हैसियत झल्किने माध्यम मात्र थिएनन् ती स्वास्थ्यको दृष्टिकोणले पनि अति उपयुक्त थियो।

माटोको ढरा भकारीमा विषादी नमिसाई खाद्यान्न सुरक्षित रहने भएकाले स्वच्छ र स्वस्थ्य खानेवस्तुको रक्षाको लागि ढरा अहिले पनि उत्तिकै अनिवार्य देखिन्छ। धान, चामल, गहुँ, जौ, कोदो, फापर, सिमी, मकै, कागुनो लगायत खाद्यान्न भण्डारण गर्न बनाइने माटोको भकारी अति उपयुक्त हुने मानिन्थ्यो।

अन्नपात भण्डारणका लागि घरघरमै बनाइने माटोको ढराको ठाउँ अब प्लाष्टीकका भाँडावर्तनहरुले लिइसकेपछि ढराको निर्माण हुन छाडेको हो। घरमा भित्रिने खाद्यान्नको मात्रासमेत कमी भएर ढरा बन्न छाडेको ग्रामीण क्षेत्रका किसानहरु बताउँछन्।

सिंजा ६ की लुहारे बुढा बताउँछिन् 'अब उत्पादित खाद्यान्न प्लास्टिकका भाँडामै अटाउने भएपछि ढरा बन्ने र बनाउने क्रम लगभग सकिएको छ। ग्रामीण क्षेत्रका महिलामा कलाकौशल प्रदर्शन गर्ने दृष्टिकोणले पनि माटोको ढरा निर्माण गर्ने कार्य पछिल्लो पुस्ताको अरुचिले हुन छाडेको छ'। 

जुम्लकासमाजसेवी कालो बुढा भन्छन्, 'लेसिलो कालो वा रातो माटोमा गाईको गोबर र पानी मिसाएर त्यसलाई मुछ्दै महिनौं लगाएर ढरा भकारी बनाइने गरिन्थ्यो, माटाको ढरा दशकौं अघिसम्म बस्तीमा कैयौँ महिलाले एकसाथ आ–आफ्ना घरमा बनाएर आफूनो राख्ने गर्ने गर्थे।

कसले कस्तो ढरा बनाउँदैछन्, गाउँ टोलका महिलाहरुमा हेर्ने र सिक्ने लहर हुन्थ्यो, राम्रो र कलात्मक ढरा हेर्न आउनेको भीडभाड नै लाग्ने गथ्र्यो।

खासगरी हिउँदमा ढराहरु बनाउने कामको लहर नै देखिने गरिन्थ्यो। नयाँ पुस्तामा त्यस्तो रौस र लहर नदेख्दा अब पुराना रितिथिति, परम्परा, कला र आफ्नो भन्ने विशेषता नै हराउने चिन्ता प्रयाप्त छ।' उनले भने।

संस्कृति परम्परा र मौलिक पहिचान झल्किने र स्वास्थ्यको लागि समेत अति उपयुक्त हुने माटोको ढरा भकारी बनाउने कार्यलाई जगेर्ना गर्न ढरा बनाउने तालिमहरु सञ्चालन गर्नुपर्ने स्थानीयहरुको भनाइ छ।

प्रकाशित: ३ माघ २०७९ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App