४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

फोहर बन्दै आकासे पुल

काठमाडौं-सर्वसाधारणलाई सजिलैसँग सडक पार गर्न, ट्राफिक जाम घटाउन र सडक दुर्घटना न्यून गर्न बनाइएका राजधानीका आकासे पुल हिजोआज फोहर हुन थालेका छन् । पुलमा दिनहुँ मलमूत्र र फोहर थुप्रिएको हुन्छ । बटुवा नाक थुनेर पुल पार गर्छन्।

साँघुरा पुलमाथि पनि फुुटपाथ व्यापारीले पुलको आधाभन्दा बढी ठाउँ ओगटेका कारण सर्वसाधारण ठेलमठेल गर्दै पुल पार गर्न बाध्य छन् । फुटपाथ व्यापारीले बटुवालाई हैरान बनाउँदा पनि काठमाडौं महानगरपालिका कानमा तेल हालेर बसेको सर्वसाधारण आरोप लगाउँछन् ।

महानगपालिकाले पुल हेरचाह तथा मर्मत गर्न इनोभेटिभ कम्पनी प्रालिलाई जिम्मा दिएको छ । कम्पनीले पुलबाट आर्थिक फाइदा मात्र उठाएको तर पुलको हेरचाह र संरक्षणमा भने बेवास्ता गरेको देखिएको छ । पुल संरक्षण र सरसफाइमा ध्यान नदिएको कम्पनीले विज्ञापन राखी पुललाई कमाइखाने भाँडो मात्र बनाएको पुल पार गर्दै गरेका बागबजारका राम श्रेष्ठले आक्रोश पोखे । ‘कम्पनीले विज्ञापनका बोर्ड झुण्ड्याएर पुललाई कमाइखाने भाँडोमात्र बनाएको छ,’ उनले भने, ‘पुलमा फुटपाथ व्यापारीको रजार्इँ छ ।’

करिब १० वर्ष पुराना आकासे पुल जीर्ण भइसकेका कारण जोखिमपूर्ण पनि छन् । १० पुराना आकासे पुल रत्नपार्क क्षेत्रमा नै ९ वटा छन् । १० वर्षअघि निर्मित पुल जीर्ण भए पनि ती पुलको साटो नयाँ पुल निर्माण गर्न कामपासँग कुनै योजना छैन । त्यसबेलै निर्माण गर्न करिब २ करोड रुपैयाँ लागेका पुल अहिले निर्माण गर्दा अझ बढी लागत पर्ने इन्जिनियरहरू बताउँछन् ।

रत्नपार्क क्षेत्रमा रहेका ९ वटा आकासे पुल सरसफाइ गर्न कम्पनीले एक÷एक जना कर्मचारी राखेको छ । तर ती कर्मचारीले महिनामा १० दिन पनि पुल सफा गर्दैनन् ।

एउटा पुलमा ५ भन्दा बढी फुटपाथ पसल र होर्डिङ बोर्ड टाँसिएका छन् । ती पसलहरुबाट एक महिनामा प्रति पसल २० हजारका दरले इनोभेटिभले रकम उठाउने गरेको एक फुटपाथ व्यापारीले बताए । त्यसैगरी कम्पनीले होर्डिङ बोर्डबाट पनि रकम असुल्ने गरेको छ । तर यति धेरै आम्दानी हुने आकासे पुल फोहर नै छन् । सरसफाइ नभएकै कारण सर्वसाधारण हैरान हुँदा पनि इनोभेटिभले पुल सरसफाइ र संरक्षणतर्फ ध्यान नदिएको बताउँछन् रत्नपार्क पुलको भित्री सटरमा फेन्सी पसल चलाउने किशोर राना । उनी भन्छन््, ‘हामीसँग चर्को रकम असुल्छन् तर सरसफाइमा कुनै चासो दिँदैन ।’

कामपाले पुलको मर्मत तथा वरपर सरसफाइ गर्ने सर्तमा इनोभेटिभलाई जिम्मा लगाएको थियो । पुलको रेखदेख र मर्मत सम्भार सम्झौता अनुसार महानगरले दिएको जिम्मेवारी पन्छाएर कम्पनीले कमाउने थलोका रुपमा लिँदै आएको छ । कम्पनीले एक वर्षमा कामपालाई २२ लाख रुपैयाँ राजस्व बुझाउँछ । पुलमा राखिएका होर्डिङ बोर्ड र पसलबाट पर्याप्त राजस्व उठे पनि कम्पनीले पुल मर्मत सम्भार र सरसफाइ गरेको छैन । महानगरले अनुगमन नगरेका कारण पुल वरपर फुटपाथ व्यापारी बटुवा हिँड्नै नमिल्ने गरी सामान फिजाउँछन् ।

पुल मर्मत सम्भार र सरसफाइ कम्पनीले गर्ने भए पनि कामको अनुगमन महानगरले नै गर्नुपर्ने इनोभेटिभ कम्पनी प्रालिका प्रमुख मनोज भेटुवालले जानकारी दिए । उनले पुल मर्मत सम्भारको दायित्व कम्पनीको भए पनि पुलमा फुटपाथ व्यापारी हटाउने र अनुगमन महानगरपालिकाको रहेको बताए ।

यसबारे कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले कर्मचारी अभावमा अनुगमन गर्न नसकिएको बताए । दिनहुँजसो फुटपाथ व्यापारी भरिएका काठमाडौंका आकासे पुल मर्मत गर्न महानगर र इनोभेटिभले ध्यान नदिँदा त्यसको मार बटुवाले भोग्नु परेको हो । सर्वसाधारणलाई पैदल हिँड्न समेत अप्ठेरो पर्ने गरी  फुटपाथ व्यापारीले पुलको साँघुरो ठाउँ कब्जा गर्दा सर्वसाधारण हैरान छन् । आक्कलझुक्कल नगर प्रहरी आएर धपाएजस्तो गरे पनि साँझ पुल फेरि फुटपाथ व्यापारीले भरिन्छ ।

प्रकाशित: २६ श्रावण २०७३ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App