१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

रजिस्ट्रेसनविनै नर्सिङ पढाइ

काठमाडौं- विद्यार्थी भर्ना भएको तीन वर्ष बितिसक्दा पनि  पूर्वाञ्चल विश्वविद्यालयले रजिस्ट्रेसन नगरेको भन्दै  बौद्धमा रहेको स्तुपा(नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स) कलेजका नर्सिङका विद्यार्थी आन्दोलनमा उत्रे।

विद्यार्थी भर्ना भएको तीन वर्षसम्म लगातार परीक्षाहरु दिए पनि नतिजा नआएको र सिम्बोल नम्बर राखेर वेबसाइटमा चेक गर्दा विदहेल्ड देखाउने गरेपछि आक्रोशित विद्यार्थीले सोमबार कलेज तोडफोड नै गरे।

तीन वर्षअघि स्तुपा कलेजले विश्वविद्यालयको २० सिटको स्वीकृति पाए पनि ३० विद्यार्थी भर्ना गर्‍यो जसमध्ये एकले बीचैमा छाडे। थप ९ विद्यार्थी अझै कलेजको नियमित विद्यार्थी छन्। विश्वविद्यालयले लिने परीक्षामा नियमित परीक्षा दिने र पास हुने नै भएका छन्। तर हालसम्म विश्वविद्यालयले सिटभन्दा बढी विद्यार्थी भर्ना गरेको भन्दै रजिस्ट्रेसन गर्न नमानेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ।

कलेज अध्यक्ष प्रा.डा. ऋतु गर्तौलाले विश्वविद्यालयले विद्यार्थीको समस्या समाधान गर्न अघि बढिसकेको दाबी गरे। उनले अब यो समस्या विद्यार्थीको नभएर कलेज र विश्वविद्यालयको भएको बताए। 'अब विद्यार्थीले चिन्ता लिनु पर्दैन,' गर्तौलाले नागरिकसँग भने, 'विश्वविद्यालयले एक महिनाभित्र रजिस्ट्रेसन गर्ने भनेको छ।'

विश्वविद्यालयका रजिस्ट्रार डा. निरोज पाण्डेले स्तुपा कलेजको विद्यार्थीको बाधाअड्काउ फुकाउन विश्वविद्यालयले कार्यकारी परिषद् डाकेर समस्या समाधानको बाटोतिर लागेको दाबी गरे।

पूर्वाञ्चल विश्वविद्यालयले स्तुपा कलेजलाई २० सिटको स्वीकृति दिएकामा कलेजले तीन वर्षअघि २९ विद्यार्थी भर्ना गरेकाले तोकेको सिटभन्दा बढी विद्यार्थी भर्ना गरेको भन्दै विश्वविद्यालयले ९ विद्यार्थीको रजिस्ट्रेसन रोकेको उनले बताए।

तर विद्यार्थीहरु आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएपछि सर्वोच्चले तत्काल विद्यार्थीको परीक्षा दिलाउनू भनेर दिएको आदेशअनुसार विश्वविद्यालयले ९ विद्यार्थीको परीक्षा नियमित लिँदै आएको उनले प्रस्ट्याए।

तीन वर्षअघि विश्वविद्यालय र कलेजबीच समन्वय कमीका कारण विद्यार्थी मर्कामा परेको उनले स्वीकारे। 'विद्यार्थीको भविष्य सुरक्षित गर्न विश्वविद्यालयका कानुनी सल्लाहकार देवीबहादुर घिमिरेसँग छलफल गरी कानुनी आधारमार्फत् अघि बढाएका छौं,' उनलेे भने।

'कलेजले सिटभन्दा बढी २९ विद्यार्थी भर्ना लिएको लिस्ट विश्वविद्यालयलाई पठायो। हामीले २० सिट मात्र तोकेकाले माथिको २० विद्यार्थीलाई रजिस्ट्रेसन गर्‍यौं,' रजिस्ट्रार पाण्डेले नागरिकसँग भने, 'तर कलेजले अलफाबेटिकल अर्डरमा नामावली पठाएकाले नर्सिङ प्रवेश परीक्षाको उत्कृष्ट विद्यार्थीकै रजिस्ट्रेसन नभई विद्यार्थीमाथि अन्याय भएको हामीलाई महसुस भएको छ।'

उनका अनुसार साउन अन्तिमभित्र विश्वविद्यालयले कार्यकारी परिषद्को बैठक बोलाई बाधाअड्काउ फुकाई विद्यार्थीको रजिस्ट्रेसन गर्नेछ।

विश्वविद्यालय उपकुलपति घनश्यामलाल दास र रजिस्ट्रार पाण्डे विद्यार्थीको समस्या बुझ्न विराटनगरबाट काठमाडौं आएको उनले जनाए। शुक्रबार विश्वविद्यालयको सम्पर्क कार्यालय सिनामंगलमा प्राज्ञिक परिषद् बैठकमा समेत स्तुपा कलेजका विद्यार्थीको समस्याबारे छलफल गरिने उनले जनाए।

उता, विद्यार्थीले भने कलेज र विश्वविद्यालयले तीन वर्षदेखि रजिस्ट्रेसन हुने आश्वासन दिए पनि हालसम्म नभएकोमा भविष्य नै अन्योलग्रस्त बन्दै गएकोमा चिन्ता व्यक्त गरे।

'कलेजले २० सिटमा २९ विद्यार्थी भर्ना लिएको हामीले प्रथम वर्षको परिक्षाको पहिलो दिन मात्र थाहा पायौं,' नर्सिङ तेस्रो वर्षकी रजिस्ट्रेसन नभई चिन्तित एक छात्राले भनिन्, 'परीक्षाको दिन हामीलाई निकै टेन्सन भयो। बल्लतल्ल विश्वविद्यालयले परीक्षा दिन लगायो।'

ती छात्राले थपिन्, 'त्यसपछि हामी विद्यार्थी सर्वोच्च गयौं। सर्वोच्चको आदेशअनुसारै हामीलाई कलेजले दोस्रो वर्षको परीक्षामा सहभागी गरायो। तर नतिजा हेर्न पाएको छैन। सिम्बोल नम्बर राखेर हेर्दा विदहेल्ड देखाउँछ।'

विश्वविद्यालय–कलेज विवादमा विद्यार्थीको भविष्य अन्योल पार्न नहुने नर्सिङका विद्यार्थीको माग छ। तीन वर्षदेखि भर्ना भई नियमित पठनपाठन गरिरहेको र विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षामा समेत सामेल भएकाले विश्वविद्यालयले आफूहरुको रजिस्ट्रेसन गर्नुपर्ने नर्सिङ छात्राको माग छ।

उता, स्तुपा कलेजका प्रमुख कार्यकारी अधिकृत गोपालकृष्ण श्रेष्ठले बिएस्सी नर्सिङमा कलेजले भर्ना गरेका २९ विद्यार्थी नै कलेजको नियमित विद्यार्थी भएकाले सबैको रजिस्ट्रेसन विश्वविद्यालयले गर्नुपर्ने दाबी गरे। उनले विश्वविद्यालयको नियमअनुसारै कलेजले तीन वर्षअघि कोटा थप प्रक्रिया अघि बढाएको र त्यहीअनुसार २९ विद्यार्थी भर्ना गरेको दाबी गरे।

विश्वविद्यालय उपकुलपति घनश्यामलाल दासले कलेजले विश्वविद्यालयले तोकेको सिटभन्दा बढी विद्यार्थी भर्ना लिएकाले समस्या आएको औंल्याए। 'तर पनि सम्मानित अदालतको निर्देशनको सम्मान गर्दै विश्वविद्यायले ९ विद्यार्थीको नियमित परीक्षा लिएर नतिजा प्रकाशन गरिरहेको छ,' उनले भने, 'अदालतले रजिस्ट्रेसन गरी रिजल्ट देऊ भनेपछि विश्वविद्यालय त्यो पनि मान्न तयार हुन्छ।'

प्रकाशित: २४ श्रावण २०७३ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App