१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्मचारी नहुँदा काम गर्न कठिनाइ

सडक डिभिजन कार्यालय जुम्लामा दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको छ।

प्राविधिक कर्मचारी पर्याप्त नहुँदा योजना निगरानीदेखि बिल भुक्तानीसम्म गर्न गाह्रो हुने गरेको हो।

डिभिजन प्रमुख राजीव श्रेष्ठका अनुसार सब-इन्जिनियरको दरबन्दी १२ जनाको भए पनि ३ जना मात्र कार्यरत छन्। सब-इन्जिनियरको दरबन्दी रिक्त छ। ५ जना इन्जिनियरको दरबन्दी भएको सडक डिभिजन कार्यालयमा २ जना मात्रै कार्यरत छन्। भौगोलिक विकटताका कारण कर्णालीमा इन्जिनियर र सब-इन्जिनियर आउन नमान्ने गरेको कार्यालय प्रमुख श्रेष्ठले बताए।  

पटक-पटक दरबन्दीअनुसारको जनशक्ति पठाउन माग गरिन्छ। श्रेष्ठले भने, 'विभागले प्राविधिक जनशक्ति खोज्नुस्‚ हामी पठाइदिन्छौं भन्छ तर कार्यालय प्रमुख प्राविधिक जनशक्ति खोजेर कहाँ जानु। जनशक्ति अभावले निकै ठूलो समस्या झेल्नु परिरहेको छ। कार्यालयमा निर्माण व्यवसायीहरू धर्ना दिइरहन्छन्। जनशक्ति नहुँदा फिल्डमा प्राविधिक जनशक्ति खटाउन सकिएको छैन। यो कर्णालीको विडम्बना नै हो।'  

एउटा साइटमा हेर्न कम्तीमा दुई दिन लाग्ने गरेको छ। कर्मचारीको अभाव भएकाले डिभिजन कार्यालयले सानातिना कार्यक्रममा कम र ठूला आयोजनामा बढी केन्द्रित भएको जनाएको छ। अहिले चारवटा हाइवे कर्णाली राजमार्ग, नाग्म गमगडी सडक, मनाङ-मुस्ताङ जोड्ने सडक र जुम्ला-डोल्पा सडकलाई प्राथमिकतामा राखेर काम भइरहेको कार्यालयले जनाएको छ। कर्णालीमा कर्मचारी आउन नमान्नु‚ भूगोल र मौसम नै अहिलेका मुख्य चुनौती हुन्। सडक डिभिजन कार्यालयको वार्षिक बजेट झन्डै अर्बभन्दा बढी छ। तर, सबै बजेट खर्च हुन सक्दैन।

जनशक्ति अभावले नाक्चालाग्ना सडक कम प्राथमिकतामा

गमगडी हुँदै नाक्चालाग्ना सडक निर्माणका लागि मुगुमा योजना कार्यालय खोलिएको छ। तर‚ कार्यालय सहयोगी र लेखापालबाहेक अन्य कर्मचारी छैनन्। दरबन्दी हेर्दा योजना प्रमुख एक जना, इन्जिनियर २ जना, सब-इन्जिनियर ४ जना र १ लेखाअधिकृत र लेखापालको दरबन्दी देखिन्छ। नामले निकै ठूलो मानिएको योजना कार्यालय कामले निकै शून्य छ। अहिले योजना कार्यालय मुगुको प्रमुखको जिम्मेवारी पनि सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठलाई दिइएको छ। मलाई योजना कार्यालयको प्रमुख भनेर अतिरिक्त जिम्मेवारी दिइएको छ,उनले भने अहिले कर्मचारीलाई तलब दिने काम हुन्छ। जनशक्ति खटनपटन गर्न कठिन छ।  

प्राविधिक जनशक्ति दरबन्दीअनुसारको नहुँदा गमगडी नाक्चालाग्ना सडक पनि प्राथमिकतामा पर्न सकिरहेको छैन। गमगडीदेखि नाक्चालाग्नासम्मको झन्डै ९६ किलोमिटरमध्ये अहिलेसम्म १७ किलोमिटर मात्र सडक खनिएको छ। त्यही पनि पहिरोले सडकको सबै खण्ड अस्तव्यस्त छ। २०६७ सालमा पहिलो टेन्डर खोलेर निर्माण कार्य प्रारम्भ भएको नाग्चालाग्ना सडक कछुवाको गतिमा निर्माण अघि बढिरहेको हो।

प्रकाशित: २५ पुस २०७९ ०७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App