१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

किसानका भरोसा, विश्वेश्वर महादेव

विश्वेश्वर मन्दिरमा भक्तजनको घुइँचो छ। मन्दिरमा पूजाअर्चना र आरती नियमित भइरहेको छ। ज्ञान महायज्ञ धार्मिक महोत्सव विश्वेश्वर मन्दिरपरिसरमा चल्दै छ। पुस १५ देखि सुरु धार्मिक महोत्सवको शनिवार सांगे हुँदै छ। महोत्सवमा सांगेका लागि होम गर्ने प्रबन्ध मिलाइएको छ।

धार्मिक महोत्सवलाई सफल पार्न समुदाय नै सक्रिय छ। थारु बाहुल्य समुदायबीच बाँसगढी–८ लक्षणामा रहेको विश्वेश्वर मन्दिर साता दिनयता खचाखच छ। दिउँसो कथा, बिहान र राति भजन र किर्तन मन्दिरपरिसरमा चलिरहन्छ। दैनिक हुने आरतीले गाउँ उज्यालो बनाएको छ। थारु, पहाडी, मधेसी र मुस्लिम समुदायबीच यस मन्दिरले धार्मिक सद्भाव कायम गर्न वा एकतामा सहयोग पु¥याएको छ। समुदायको सक्रियतामा सञ्चालित धार्मिक महोत्सवमा पण्डित रामचन्द्र तिमिल्सेना र हरिशचन्द्र तिमिल्सेनाले गर्ने कथावाचनमा भक्तजन आकर्षित छन्।

सहिष्णुताको प्रतीक मानिएको विश्वेश्वर मन्दिरको पूजाअर्चनामा समुदायको सद्भाव झल्किन्छ। थारु, पहाडी, मुस्लिम, मधेसी र गुरुङ समुदायको आस्थाको केन्द्र विश्वेश्वर मन्दिरमा महादेवकोे शक्ति रहेको कथा जोडिएको छ। जहाँ विश्वेश्वरको मन्दिर निर्माण गरेर मूर्ति स्थापना गरिएको छ, त्यहाँ प्राचीनकालदेखि महादेवको उत्पत्ति भएको बताइन्छ। सो मन्दिरमा प्राचीनकालदेखि नजिकको काठको कुवाबाट जल निकालेर चढाइन्थ्यो। कुवाबाट पानी निकालेर ढुंगामा जल सेचन गर्ने परम्परा रहेको तत्कालीन प्रधान दिनानाथ ज्ञवाली स्मरण गर्छन्। सो क्षेत्रमा २०३३ जेठ मा सुक्खा लाग्यो। विश्वेश्वर महादेवलाई भाकेर जल चढाएपछि पानी प¥यो। उनका अनुसार १० वर्षमुनिका ४० जना बच्चालाई महादेवको प्रतीकमा जल चढाउँदा पानी परेको इतिहास जीवित छ। यसै कारण सबै समुदाय र धर्मावलम्बीको विश्वेश्वर मन्दिरप्रति विश्वास बढेको पाइन्छ। खडेरीमा नगदे बालीलाई जति आवश्यकता पानीको पर्दछ, किसानमा विश्वेश्वर महादेवप्रति पनि त्यत्तिकै श्रद्धा छ।

बर्खे खडेरीलाई निस्तेज गर्ने एक मात्र शक्ति सम्झेर वर्षौ अघिदेखि पुजारी राखेर पूजा गर्ने मन्दिरमा थिति बसालिएको छ। तराईमा लामो समयसम्म पर्ने खडेरी पनि महादेवको अघि निरीह बन्दा किसानमाथि विश्वेश्वर महादेवको कृपा रहेको बुझाइ छ। खेत धाँजा फाटेर बाली सुक्दा विश्वेश्वर महादेवलाई सम्झी भजनकिर्तन गरी नजिकको मुर्गिया जुडेना र कन्जरहवाजस्ता प्राकृतिक तालमा किसानले एक अर्कालाई पानी छ्याप्दा घर नपुग्दै पानी पर्ने विश्वास अझ स्थानीयमा छ।  

श्रद्धाले शिर झुकाउने ती समुदायबीच मन्दिर छ। महादेवको प्रतीकमा हरेक दिन पुज्ने गरिन्छ। प्राचीनकालदेखि गाउँमा रहेका विश्वेश्वर महादेवले किसानलाई भलो गरिरहेको किंवदन्ति छ। पानी परेन भने भजनकिर्तन गरेर समुदायले महादेवलाई पूजा गर्छन्। विश्वेश्वरलाई सर्व शक्तिवान् मानिन्छ। महादेवको शक्तिले अप्ठ्यारो अवस्थामा किसानको पक्षमा देखिने गरेको आस्थाकै कारणले समुदायको सक्रियतामा मन्दिरको जीर्णोद्धार गरी भव्य बनाइएको छ। मन्दिरको सम्पत्ति पूर्व–पश्चिम राजमार्गको छेउमा दुई बिघा जग्गा छ। तीन कट्ठामा बनेको मन्दिर आकर्षक छ। मन्दिरको सम्पत्ति जोड्न स्थानीयको योगदान सम्झनयोग्य छ। नित्य पूजाखर्चमा नागरिक दैनिकका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको साझेदारी थियो। ज्ञवालीले नित्य पूजा व्यवस्थापनका लागि पुजारी केदारनाथ पौडेललाई व्यवस्थापन गरेका थिए। ज्ञवालीले विश्वेश्वर मन्दिर बनाउने चाहना देखाएका थिए। तर मन्दिरलाई मूर्त रूप दिने ज्ञवालीको सपना पूरा हुन सकेन। उनको वाचा पूरा गर्न छोरा तथा स्थानीय विनोदराज ज्ञवाली अघि सर्दा लक्षणामा आकर्षक मन्दिर तयार भएको छ।  

मन्दिरलाई व्यवस्थित गर्न र नित्यपूजालाई निरन्तरता दिन तन, मन र धनले स्थानीय समुदाय लाग्दा आस्थाको केन्द्र विश्वेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्र बनेको छ। केन्द्रस्तरबाटै मन्दिरको संरक्षण गरी धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्ने माग छ। पूर्व–पश्चिम राजमार्गको लक्ष्मणा चोकदेखि दक्षिण रहेको लक्ष्मणा गाउँको बीच भागमा मन्दिर छ। महोत्सवकै अवसरमा शुक्रबार २२ गतेसम्म भक्तजनले गरेको सहयोग ११ लाख रूपैयाँ संकलन भएको छ।

प्रकाशित: २३ पुस २०७९ ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App