१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

विराटनगर महानगरपालिकाले हटायो कोसी अस्पतालको अनाधिकृत संरचना

विराटनगर महानगरपालिकाले अनाधिकृतमा निर्माण गरिएको संरचना हटाउन थालेको छ।

नक्सा पास नगरी निर्माण गरिएको कोसी अस्पताल अगाडि रहेको अनाधिकृत संरचना हटाउँदै बिहीबारबाट अभियान सुरु गरिएको महानगरपालिकाले जनाएको छ।

नक्सा पास गर्न आउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि नगर प्रमुख नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अनाधिकृत संरचना हटाउन थालेको हो।

कोसी अस्पतालले सटरको नक्सा पास गरेको थिएन। साथै महानगरलाई बहाल करसमेत अस्पतालले बुझाएको थिएन। विराटनगरलाई यथास्थितिमा राख्न नदिने प्रमुख कोइरालाको प्रतिबद्धतालाई कार्यान्वयनका लागि आफूहरूले योजनाबद्ध रुपमा काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए।

विराटनगरलाई सफा, सुन्दर व्यवस्थित र विकसित बनाउने नगर प्रमुखको योजनालाई हामी कर्मचारीको तहबाट कार्यान्वयन गरिरहेका बताउँदै, प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, ‘महानगरको अभियानमा सबैतिरबाट अत्यन्तै राम्रो साथ र सहयोग पाएका छौं। महानगर क्षेत्रभित्र निर्माण गरिएका संरचनाको ६० प्रतिशतले नक्सा पास गरेका छैनन्। ३० प्रतिशतले माथिल्लो तलाको नक्सा पास नगरेको तथ्याङ्क आफूहरूसँग रहेको छ।’

महानगरले सूचना दिएर नियम विपरीत निर्माण गरिएका संरचना हटाइएको उनले प्रस्ट्याए। महानगरले अस्पतालको प्रवेशद्वारमा रहेका वर–पीपल र अन्य रुखको हाँगासमेत हटाएको छ। भाँचिएर मानवीय क्षति हुने जोखिमलाई ध्यानमा राखेर रुखका हाँगा हटाइएको बताइएको छ।

अस्पताल प्रशासनलाई दुई पटक पत्र काटेर नक्सा पास गर्न र बहाल कर तिर्न आउन आग्रह गर्दा समेत बेवास्ता गरेपछि भत्काउनु परेको महानगरपालिकाले जनाएको छ।

प्रकाशित: २१ पुस २०७९ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App