१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखा-काठमाडौँ एकीकरण पदयात्रा आजदेखि सुरु

गोरखादेखि सुरु भएको एकिकरण पदयात्रामा सहभागीलाई बिदाई गर्दै र एकीकरण पदयात्रामा सहभागीहरु। तस्विर: नागरिक

ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन सँगै इतिहासको जर्गेना गर्ने उद्देश्यले नेपाली सेनाले गोरखा-काठमाडौँ पदयात्रा सुरु गरेको छ। बिहिबार बिहान गोरखा दरबबारदेखि सुरु भएको पद यात्रामा नेपाली सेनाको टोली सहभागी छ।  

नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकीकरण पदयात्रा सुरु भएको हो। यात्रामा सबुज गण, बर्दबहादुर गण, पुरानो गोरख गण, कालीबक्स गण, श्रीनाथ गण सहभागी छ।  गोरखादेखि सुरु भएको पदयात्रा पुस २७ गते पृथ्वी जयन्ती एवं राष्ट्रिय एबता दिवसका दिन हनुमान ढोका दरबारमा पुगेर टुङ्गिने रिपुमर्दन गणका गणपति हेम विष्टले जानकारी दिए।

राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर पूmलको माला लगाएर नेपाली सेनाको एक टोली गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट पदयात्रामा निस्किएका हुन्। गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट(घाटबेसी) सम्म गोरखाबाट हिँडेको टोली बिहिबार बेलुकी पुग्नेछ। पृथ्वीनारायण शाहकालिन सेना(गुरुज्यूको पल्टन)को पोशाकमा र राष्ट्रिय झण्डा र सेनाको आफ्नै झण्डासहित टर्च लाईट बोकेर बाजागाजा सहित टोली यात्रामा सहभागी छ।  

गोरखबाट हिँडेको टोलीले भिमसेन ८ घाटबेंसीमा धादिङको शिवदल गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछन्। धादिङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली पुस २७ मा काठमाडौँ पुग्ने गरी यात्रा तय भएको गणपति बिष्टले बताए।

नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले विगत चार बर्षदेखि एकीकरण पदमार्गको रुपमा विकास गर्दै आएको छ। अहिले चौथो पटक सेनाले औपचारिक कार्यक्रममार्फत पदयात्रा गरेको हो।  

पदयात्रा सुभारम्भ कार्यक्रममा नेपाली सेनाका पश्चिम पृतनापती उपरथी दिपककुमार बानियाँले इतिहासको महत्व आज जति छ भोलि पनि त्यती नै हुने भएकाले यसको संरक्षण गर्नु आवश्यक रहेको बताए। गोरखा देखि जितगढी सम्मको पदयात्राका लागि पनि सेनाले तयारी गरिरहेको बताउँदै २०८० वैशाखमा उक्त रुटमा पदयात्राको तयारी रहेको उनले बताए।  

नेपाली सेनालाई राष्ट्रिय एकता कायम गर्ने गहन जिम्मेवारी समेत रहेको बताउँदै उनले अहिले पनि राष्ट्रिय एकताको महशुस गरिएको बताए।  

विभिन्न किल्ला, कोट, गढी, दरबारको संरक्षण र बिर पुर्खाको योगदानको कदरका लागि पनि सेनाले विभिन्न कार्य गर्दै आएको पश्चिम पृतनापती बानियाँले बताए। यसका लागि सेना, विभिन्न तहका सरकार, संघ संस्था र सर्वसाधारण बीच सहकार्य जरुरी भएको उनले बताए।  

इतिहासको जर्गेना गरेर अघि बढ्दा देशलाई पनि फाईदा हुने र केही सिक्ने अवसर मिल्ने भएकाले पदयात्राको ‘रुट’लाई पर्यटकीय पदमार्गको रुपमा विकास गर्नुपर्ने गोरखा नगरपालिकाका मेयर कृष्णराना मगरले बताए। साथै उनले पर्यटन प्रर्वद्धनका लागि गोरखाले ठूलो फाइदा लिन सक्ने बताए।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सेनाले सुरु गरेको इतिहासको जर्गेना गर्ने काममा सबैले साथ सहयोग गर्नुपर्ने बताए। इतिहासको संरक्षण र प्रचारप्रसारमा ध्यान दिनसके यसबाट गोरखाले धेरै फाइदा लिन सक्ने उनले बताए।  

उक्त पदमार्गमा गोरखातर्फ गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिकाको रुट पर्छ। यात्रामा सहभागीहरुलाई ठाउँ ठाउँमा स्थानीयले फूल मालाले स्वागत गर्छन्।

प्रकाशित: २१ पुस २०७९ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App