२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बरुवामा सिद्रे–अजिंगरे जोड्न झोलुङ्गे पुल

भर्खरै निर्माण सम्पन्न भएको सिद्रे–अजिंगरे जोड्ने झोलुङ्गे पुल। तस्बिरः महेश्वर

पहाडी भेगका गाउँबस्तीलाई वडा कार्यालय र सदरमुकाम गाईघाट आउजाउ गर्न त्रियुगा नगरपालिका १६ को सिद्रेमा झोलुङ्गे पुल निर्माण भएको छ। बर्खायाममा स्थानीय बरुवा खोला तरेर आउजाउ गर्न सिद्रे र अजिंगरेलाई जोड्न निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ। 

१ सय ६४ मिटर लामो तथा १ मिटर ८० सेन्टीमिटर चौडाईको उक्त पलि २ करोड ८८ लाख लागतमा निर्माण भएको त्रियुगा १६ का वडाध्यक्ष मानबहादुर राईले बताए। उनका अनुसार आर्थिक वर्ष ०७७÷०७८ देखि निर्माण सुरु भएको पुलका लागि संघीय सरकारको स्थानीय पूर्वाधार विभाग (डोली) र नगरपालिकाको संयुक्त लगानीमा पुल निर्माण सुरु भएको थियो। जस अनुसार डोलीबाट ८५ प्रतिशत अनुदान रकममा त्रियुगा नगरपालिकाले लागत सहभागितावापत १५ प्रतिशत थपेर पुल निर्माण भएको हो।

त्यहाँ पुल निर्माण भएपछि वडाका बिभिन्न आधादर्जन गाउँबस्तीबासी स्थानीयलाई बर्खायाममा जोखिमयुक्त खोला तर्नुपर्ने समस्या हटेको छ। हरेक बर्खायाममा खोला बढ्ने हुँदा १६ नं. वडाका सिद्रे, जाँते, अम्वोके, डिहिटार, बेल्दोभान, डहर र आसपासका बस्तीबासीलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। बाढीको कारण बालबालिकालाई विद्यालय आउजाउ गर्न तथा वडा कार्यालय चिलाउने र नगरपालिका केन्द्र गाईघाट जान आउन जोखिम हुँदै आएको समस्या पुल बनेपछि समाधान भएको वडाध्यक्ष राईले बताए।

अब सदरमुकाम गाईघाट जान, वडा कार्यालय चिलाउने आउन तथा विद्यार्थीलाई स्कुल जान आउन पुलले सहज बनाएको छ। वर्षेनी बरुवा खोलाले छेक्ने गरेपछि ३ वर्षअघि वडाध्यक्ष राईले त्यहाँ पुल बनाउन माग गरेका थिए। उनको माग अनुसार नगरपालिकाले वार्षिक कार्यक्रममा पारेर संघीय सरकारमार्फत स्रोत सुनिश्चित गरेर योजना अघि बढाएको थियो। जस अनुसार डोलीबाट ८५ प्रतिशत स्रोत सुनिश्चित भएसँगै नगरको १५ प्रतिशत लागत सहभागितामा पुल निर्माण भएको वडा सदस्यसमेत रहेकी जिल्ला समन्वय समिति सदस्य गोमा कार्कीले बताइन्।

कार्कीका अनुसार नगरपालिका भए पनि १६ नं. वडा निकै बिकट र पहाडी भूभागले भरिएको छ। पहाडी र बिकट भूभाग भएकाले विकास निर्माणबाट धेरै ओझेलमा रहेको वडालाई ०७४ को स्थानीयतह चुनावपछि निर्वाचित जनप्रतिनिधिले दिनरात खटेर विकसित गरिदै लगेको कार्कीको भनाइ छ। उनले यसअघि बेलदोभानमा पनि झोलुङ्गे पुल बनिसकेकाले खाँबुतर्फबाट आउजाउ गर्न पनि सहज भएको बताइन्।

अर्की वडा सदस्य कुन्ती परियारले वडाका भित्री भागसम्म सडक सञ्जाल निर्माण भइरहेको बताइन्। १६ नं. वडा निकै बिकट भएकाले खानेपानी, सडक, विद्युत, सञ्चारका लागि  टेलिकम टावर, विद्यालय र स्वास्थ्य सेवा केन्द्रहरु बनाएर चलाउने काम भइरहेको छ। अहिले विद्युतीकरण सबैतिर भइसकेको छ भने विद्यालय र खानेपानीको समस्या पनि लगभग टरिसकेको छ। वडाका बस्तीबस्तीसम्म सडक सञ्जाल बनाइए पनि धुले र कच्ची भएकाले बर्खायाममा भत्कने र पहिरो जाने हुँदा यातायात चल्न नसकने अवस्था सदस्य परियारले बताइन्।

अर्का वडा सदस्य लिलबहादुर श्रेष्ठले बाह्रै महिना यातायात चल्ने सडक बनाउन वडाबासीले माग गरिरहेको बताए। त्यसका लगि सबै सडकहरुलाई स्तरोन्नतिसहित कालोपत्रे बनाउनुपर्ने अवाश्यक्ता छ। तर, त्यसो गर्न धेरै बजेट चाहिने भएकाले वडाले नगरपालिका र प्रदेश तथा संघीय सरकारसँग बजेट माग गरेको श्रेष्ठले बताएका छन्।  

प्रकाशित: २० पुस २०७९ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App