जुम्लाकै गौरवको आयोजना बहुउेश्यीय सभाहल अहिले युवायुवतीको डेटिङ गर्ने थलो बन्दै गएको छ। केही वर्षअघि देखि अलपत्र अवस्थामा रहेको सभाहल लुकिछिपी बस्ने भेटघाट गर्ने गोप्य थलो हुदै गएको हो।
तत्कालिन शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय जुम्लामार्फत आर्थिक वर्ष २०७१/०७२ देखि आयोजना सम्झौता गरी निर्माण कार्य थालिएको थियो। झण्डै एक दशक अघि निर्माण कार्य थालिएको तत्कालिन जिल्ला परिषद् बहुउद्देश्यीय सभाहल निर्माण हुन सकेको छैन।
आधा निर्माण भइसकेको भवन पूरा नहुँदा भौतिक संरचना जिर्ण हुदै गएका छन्। सरियाहरु खिया लागेर रातो बनेका छन्। यो अलपत्र सभाहलले जनप्रतिनिधि र कर्मचारीलाई गिज्याउदै आएको छ। २०७० सालको दोस्रो संविधान सभाका सभासददेखि ०७९ साल निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीले सभाहल निर्माण कार्य पहलमदमी गरेको पाइदैन।
०७० सालको दोस्रो संविधान सभा सदस्य प्रत्यक्ष निर्वाचित काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, समानुपातिक निर्वाचत पुर्वराज्य मन्त्री गोमा कुँवर, एमालेबाट समानुपातिक निर्वाचित बलबहादुर महत, नेमकिपाबाट समानुपातिक निर्वाचित डिल्लीप्रसाद काफ्लेले अलपत्र सभाहलको निर्माण कार्यमा कुनै जोड दिएनन्।
०७० सालको दोस्रो संविधान सभा सदस्यमा जुम्लाबाट प्रत्यक्ष र समानुपातिक गरी ४ जना संघमा सभासद थिए। सभाहलको निर्माण कार्य भने ०७१ साउन ४ गतेदेखि थालिएको हो। यो आयोजना ०७४ भदौ ६ गते सम्पन्न हुनुपर्ने हो तर भएन। त्यतिबेलाका सभासदको पदावधि पनि ०७४ सालको निर्वाचन पछि सकियो,सभाहल अलपत्र अवस्थामा थियो। ०७४ सालको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फ तत्कालिन नेकपाबाट गजेन्द्रबहादुर महत निर्वाचित भए। संसदमा निकै गर्जिने सांसदका रुपमा चिनिएका महतको पालामा पनि अलपत्र सभाहल निर्माणको गति लिन सकेन।
नरेश भण्डारी ०७४ सालको प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट प्रत्यक्षतर्फ निर्वाचित भए। यस्तै प्रदेश सभा निर्वाचित क्षेत्र २ बाट तत्कालिन नेकपाका नेता पदम रोकाया, समानुपातिकमा दीनवन्धु श्रेष्ठ निर्वाचित भए। उनी तीनै जना प्रदेशका मन्त्रीसमेत भए। तर त्यो लामो समयदेखि अलपत्र परेको सभाहलले पुर्णता पाउन सकेन। अहिलेसम्म अलपत्र अवस्थामा रहेकोले सभाहलको निर्माण कार्य पहल नै नगरेको नागरिकको बुझाई छ।
सभाहल अलपत्रै रहेको अवस्थामा ०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फ राप्रपा युवा नेता ज्ञानेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र निर्वाचिन २ बाट एमाले युवा नेता टेकराज पछाई निर्वाचित भएका छन्।
यस्तै प्रतिनिधिसभा समानुपातिकमा कान्तिका सेजुवाल, विनिता कठायत र छिरिङ ल्यामु लामा सांसद बनेका छन्। सेजुवाल चन्दननाथ नगरपालिकाकी २०७४ मा मेयरसमित भइसकेकी हुन्।
जिल्ला सभाको पाँचौ बैठकबाट अलपत्र पूर्वाधार विकासलाई निरन्तरता दिने निर्णय समेत भएको छ। २०७१ फागुन ४ गते सम्झौता भई ६ महिना म्याद थपसहित २०७४ भदौ ६ मा सम्पन्न हुने भनिए पनि अहिलेसम्म ५८ प्रतिशत मात्र काम सकिएको बुझिएको छ। ६ करोड १९ लाख ४९ हजार ६ सय ६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता रकम मध्ये तीन करोड ५९ लाख २ सय ५६ रुपैयाँ खर्च भइसकेको जनाएको छ।
उक्त भवनको निर्माण जिम्मा आशीष र थेगिम जेभी धनगढीले लिएको थियो। प्राविधिक दृष्टिले यो अलपत्र सभाहलका आधा निर्माण भएका देवल, सरीया, सिमेन्ट बिग्रीसकेका छन्। पुरानो ठेक्कालाई निरन्तरता दिने वा अर्को कार्यालयलाई फाइल हस्तान्तरण गर्ने विषयमा जिल्ला समन्वय समितिले नै निर्णय गर्नुपर्ने
सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सव इन्जिनियर चन्द्रबहादुर खड्काले बताए।
प्रकाशित: १९ पुस २०७९ १३:२४ मंगलबार