२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

शौचालयको कहानी सर्वसाधारणलाई हैरानी

काठमाडौं- करिब ४५ लाख जनसंख्या रहेको देशको राजधानी काठमाडौंमा जम्माजम्मी ३२ वटा मात्र सार्वजनिक सौचालय छन्।

करिब आधा करोड जनसंख्या बस्ने काठमाडौंमा पर्याप्त सार्वजनिक सौचालय नहुँदा सर्वसाधारणले सास्ती भोगीरहेका छन्। काठमाडौं महानगरपालिकाको तथ्यांक अनुसार महानगरमा जम्मा ३२ वटा सौचालय छन्। तर भएका ३२ वटा सौचालय पनि अत्यन्त दुर्गन्धित र फोहर छन्। भुँइमा दिसापिसाब जताततै भएका सौचालय प्रयोग गर्न सर्वसाधारण बाध्य छन्। दुर्गन्धले सौचालय वरपरका क्षेत्रमा पनि हिँडीसक्नु छैन। बटुवा सौचालय अत्यन्त फोहर भए पनि नाक थुन्दै दिसापिसाब गर्न बाध्य छन्।

काठमाडौंको गोंगबु सर्वसाधारण र यात्रीको भीडभाड भइरहने क्षेत्र हो। तर यस क्षेत्रमा एउटा पनि सार्वजनिक सौचालय नभएकाले यात्रु दिशापिसाबले च्याप्दा पनि दबाउनुपर्ने बाध्यता छ। नगन्य मात्रामा रहेका निजी सौचालय पनि व्यवस्थित नहुँदा त्यसको मारमा सर्वसाधारण छन्। गोंगबुमा भेटिएका मनोज केसी भन्छन्, 'निजी सौचालयले प्रतिव्यक्ति १० रुपैयाँ लिन्छन्, तर भित्र पस्यो कि बिरामी हुने डर हुन्छ।' उनी मात्र होइन काठमाडौंमा दैनिक ओहोरदोहोर गर्ने सर्वसाधारणले दुर्गन्ध सहेेर हिँड्नु परेको छ।

सर्वसाधारणको घुँइचो लाग्ने अर्को ठाउँ हो– कलंकी। यहाँ पनि महानगरपालिकाले बनाएको एउटा सौचालयमात्र छ। भन्नु पर्दैन, यहाँको सौचालय पनि उस्तै फोहर र दुर्गन्धित छ।

नगन्य संख्यामा रहेका निजी सौचालयमा पनि लाइनमा बसेर पस्नुपर्ने अवस्था छ। सौचालयको कुरा सामान्य देखिए तापनि दिनहुँ सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। सार्वजनिक सौचालय व्यवस्थित बनाउन महानगरपालिकाले कुनै चासो देखाएको छैन।

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सहरी क्षेत्रका सौचालय व्यवस्थित गर्न स्थानीय विकास मन्त्रालयमा पत्राचार गरेको बताए। उनले भने, 'सहरको जनसंख्या हेर्दा सार्वजनिक सौचालय अत्यन्त आवश्यक भएकाले पुराना सौचालय भत्काएर नयाँ मापदण्ड अनुसार सौचालय बनाउने योजना अघि सारेका छौँ।'

टेन्डर लगाइएका सौचालयको अनुगमन समेत महानगरले नगर्दा ठूलै आर्थिक अनियमिता हुने गरेको छ। सार्वजनिक सौचालयको दुर्गन्ध आउने मात्र नभएर सडकमा दिसापिसाब नै बगेर आउँदा पनि व्यवस्थित गर्न महानगरपालिकाले चासो नदेखाएको राजधानीकों रत्नपार्कमा भेटिएका सुजन वली बताउँछन्। उनी भन्छन्, 'सौचालयको फोहरले सिंगो सहर नै दुर्गन्धित र प्रदूषित बनाएको छ।'

रत्नपार्क क्षेत्र भीडभाड र व्यस्त हुने ठाउँमध्ये पर्छ। तर हजारौं मानिसको भीडभाड भइरहने यो ठाउँमा पैदल यात्रुले सौचालय प्रयोग गर्न पाएका छैनन्।

६ वटाले मात्र तिर्छन् राजस्व

काठमाडौंमा सञ्चालित ३२ वटा शौचालयमध्ये ६ वटाले मात्र राजस्व तिर्ने गरेको महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले बताए। उनका अनुसार यसवर्ष सार्वजनिक शौचालयबाट १ करोड रुपैयाँ राजस्व संकलन भएको छ। शौचालय सञ्चालनबाट उठेको रकममा ठूलो चलखेल हुने गरेको छ। महानगरपालिकाले टेन्डरमा शौचालय सञ्चालन गर्न दिएकाले केही दलालले सञ्चालन वापत्को राजस्व समेत महानगरपालिकामा बुझाएका छैनन्।

शौचालयको राजस्व कहाँ जान्छ?

३२ वटा शौचालय रहेको महानगरमा ६ वटा शौचालयले मात्र राजस्व बुझाउने गरेका छन्। त्यसबाहेक २४ वटा सार्वजनिक शौचालयहरुले राजस्व नै तिरेका छैनन्। ६ वटा शौचालयबाट उठेको रकम पनि प्रशासनिक र बाटोघाटो निर्माणमा खर्च हुने गरेको उपमहानगरका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले बताए पनि कुन शीर्षकमा कति रकम खर्च भयो विवरण उपलब्ध गराउन सकेनन्। काठमाडौंका विभिन्न ठाउँमा सञ्चालित सार्वजनिक शौचालयबाट ठूलै रकम उठे पनि ती शौचालयमा छिर्न नाक थुन्नैपर्ने बाध्यता छ।

घुम्ती शौचालय पनि बेहाल

रानीपोखरीको छेउमैै छ– एउटा घुम्ती शौचालय। रानीपोखरी नियाल्न जाने पर्यटक शौचालयनजिक पुग्दा नाक थुनेर हिँड्नुपर्छ। शौचालय राख्ने तर सफा नगर्ने प्रवृतिले नगर नै दुर्गन्धित भएको छ। शौचालय सञ्चालनको जिम्मा लिएकाले प्रति व्यक्ति ५ रुपैयाँ लिए पनि सरसफाइमा सुको खर्च नगर्दा शौचालय दुर्गन्धित छन्।

महिला शौचालय छिर्न कठिन

काठमाडौंमा भएका शौचालय महिलामैत्री नभएकै कारण महिला यस्ता शौचालय छिर्न कठिन छ। काठमाडौं, सुन्धारास्थित घुम्ती शौचालयनजिकै भेटिएकी गंगा केसीले शौचालय महिला र अपांगमैत्री नभएको बताइन्। उनले भनिन्, 'बाहिरबाट शौचालय सफाजस्तो देखिन्छ तर भित्र पानी समेत हुँदैन।' त्यस्तै काठमाडौंका कतिपय ठाउँका शौचालयमा महिला पस्न डर मान्छन्। त्यसमा पनि घुम्ती शौचालयको कथा भने अझै खराब छ। 'घुम्ती शौचालयमा महिला र पुरुष भनेर छुट्याइएको समेत हुँदैन। त्यस्तो शौचालयको प्रयोग महिलाले कसरी गर्ने?', गोंगबुमा भेटिएकी सीता लामा आफूलाई सार्वजनिक शौचालय छिर्न डर हुने बताइन्। उनले भनिन्, 'महिला शौचालय त झन् फोहर हुन्छ र भित्र पस्नासाथ बाहिरबाट चियाउने र गिद्दे नजर लाउने फाल्तु केटाहरू हुन्छन्।'

उपत्यकाका नगर क्षेत्रमा सार्वजनिक शौचालय व्यवस्था गर्न महानगरपालिकाले १ सय ८ स्थानमा नयाँ शौचालय निर्माण गर्न लागेको कार्यकारी अधिकृत तामाङले बताए। उनका अनुसार काठमाडौंका व्यस्त रहने मुख्य ठाउँमा शौचालय निर्माण गरिनेछ।

प्रकाशित: २६ असार २०७३ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App