सेतो सेता दौरा सुरुवाल लगाएका पुरुषहरु हातमा तरबार र ढाल लिएर दमाहाको तालमा नाच्दै सुदूरपश्चिमका पहाडी जिल्लामा भुवा पर्व मनाइन थालिएको छ। भुवा पर्वमा सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम तथा डोटीका केही भू–भागमा भुवा नृत्य गरी रमाइलो गर्दै नाच्ने गरिन्छ। यसै क्रममा पहाडी जिल्लाबाट कैलाली, कञ्चनपुरमा बसाइँ सरेर आएकाहरुले पनि धनगढी तथा तराईंका गाउँघरमा भुवा नृत्य गर्दै रमाइलो गरिरहेका छन्।
पाण्डवले जुवा हारेपछिको १२ वर्ष वनबासका क्रममा समय विताउन र मनोरञ्जन गर्नका लागि रचिएको भुवा नृत्य पुस्तान्तरण हुँदै आएको बझाङ पिठातोलाका पण्डित रामप्रसाद जोशीले बताए। उनले भने,‘विभिन्न गाउँ र ठाउँअनुसार आफू अनुकुल भुवाको ब्याख्या गरिए पनि किंवदन्ती अनुसार पाण्डवहरुले १२ वर्षको वनबासमा समय व्यतित गर्न र मनोरञ्जन लिन भुवा नृत्य रचेका हुन्।’ जंगल बासका क्रममा आइपर्ने वन्यजन्तु तथा दुश्मनलाई परास्त गर्नका लागि ढालले आफ्नो रक्षा गर्दै तरबारले वन्यजन्तु तथा दुश्मनलाई परास्त गर्न सिकिएको एक किसिमको कला भएको उनले बताए। ‘जंगलमा आइपर्ने अफ्ठ्यारालाई सहजै सामना गर्न सैनिकको परेड जस्तै एक किसिमको नृत्यका साथै सुरक्षा खेल हो भुवा,’ उनले भने,‘त्यो बेला जहाँ जहाँ पाण्डवहरुले जंगलमा समय व्यतित गरे, त्यहाँ त्यहाँ यो भुवा नृत्य तथा पर्वको प्रभाव रही रह्यो।’ पाण्डवहरुले १२ वर्षे वनबास विताउने क्रममा सुरुका ११ वर्ष जंगलमा घुमफिर गरेको किंवदन्ती सुनाउँदै उनले भने,‘कर्णाली प्रदेशको रारा दहबाट पाण्डवहरुले भुवा नृत्यको सुरुवात गर्दै नेपालको पश्चिम क्षेत्रका जंगलमा ११ वर्षको समय व्यतित गरेका हुन्।’ त्यो समयमा भीमसेनले बाजा बजाए।
युधिष्ठिरले गीत गाए भने अन्य तीन भाइहरुले ढाल र तरबार लिएर नाचेको किंवदन्ती रहेको उनी सुनाउँछन्। रारा दहबाट सुरु गरेको भुवा नृत्य खेल्दै पाण्डवहरु कर्णाली नदी तरेर बाजुराको कुन्ना खोला हुँदै सुदूरपश्चिम प्रवेश गरेको किंवदन्ती रहेको छ। वनबासका क्रममा ११ वर्ष भुवा खेलेर बिताएका पाण्डवहरुले अन्तिमको एक वर्ष भने बिराटनगरमा रहेको बिराट राजाको दरबारमा गुप्तबास बसेको किंवदन्ती भुवामा गाइने गीतमा उल्लेख रहेको उनी बताउँछन्। भुवामा चाँबाई, भोस्सी भोस्सो, चाली खेल्ने गरिन्छ। वनबास बस्दा पाण्डवका भाइहरु पुगेको र बसेको ठाउँमा छोडेको चिनारी भएको आसपासका ठाउँहरुमा भुवा पर्व बढी मनाउने गरिएको छ।
भुवा पर्वमा रातभरि आगो बालेर डेउडा, भारीखेल तथा भोस्सो खेल्ने गरिन्छ। यो पर्व पुस महिनाको औंसीका दिनदेखि ३ दिन तथा ५ दिनसम्म मनाइने गरिन्छ। हातमा तरवार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित खेलिने यो नाचका सहभागीहरू घर–घरमा गई भोस्सो समेत खेल्ने गर्छन्। भुवा खेल्ने स्थानमा देवीलाई पूजा–आजा गरी बलिसमेत चढाई सकेपछि भुवा पर्वको विसर्जन गरिन्छ।
प्रकाशित: ९ पुस २०७९ १०:२९ शनिबार