३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

खरको छाना विस्थापित गर्दै खजुरा

खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने भएको छ। खरको छाना बनाएर बसोबास गरिरहेका विपन्न परिवारहरूका खरका छाना विस्थापित गर्ने भएको हो।

नेपाल सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम गर्न लागिएको गाउँपालिकाले जनाएको छ। यसभन्दा यहाँका दुई सय ३७ विपन्न परिवारका छाना फेरिएको छ। संघीय सरकारको सहयोगबाट एक सय ८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका खरको छाना विस्थापित गरिएको गाउँपालिकाका सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिए।  

उनका अनुसार यस आर्थिक वर्षमा यहाँका करिब एक सय ६० वटा घर खरको छानामुक्त गरिने छ। ‘पहिलो चरणमा खरको छाना हटाउने कार्यक्रम छ,’ उनले भने, ‘दोस्रो चरणमा खपडा, टायल पनि विस्थापित गर्छांै। अहिले खरलाई पहिलो प्राथमिकतामा राखिएको छ।’ खरको छाना विस्थापित गर्न एउटा परिवारले ५० हजार रूपैयाँसम्म सहयोग पाउने छन्। ‘हामीले टिन (जस्तापाता) खरिदका लागि मात्र पैसा दिने हो,’ उनी भन्छन्, ‘अन्य ज्यामी खर्च स्वयम् परिवारले नै दिनुपर्छ।’

‘अति विपन्न परिवारलाई पनि जस्तापाताको छानामा राख्न खोजेका हौं,’ उनले भने। खरको छाना हुँदा चैतवैशाखमा आगलागीका घटना धेरै हुन्छन्। खरका छाना विस्थापित गरियो भने त्यस्ता घटनामा कमी आउने पालिकाले जनाएको छ। हरेक वर्ष घर छाउने कारणले किसानले खरको जोहो गर्नुपर्ने, खरबारीमा आगो लाग्दा घर पनि जोखिम हुने गरेको उनले बताए।

गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्नहरू खुसी भएका छन्। खरको छानामुक्त हुने भएपछि छाना फेरिरहनु पर्ने बाध्यता अन्त्य हुने यहाँका विपन्न परिवारहरू बताएका छन्।

प्रकाशित: २९ मंसिर २०७९ ०१:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App