लमजुङको राईनास नगरपालिका स्थित राईनासटार सिंचाई आयोजनामा क्षती पुग्ने गरी जलविद्युत आयोजना निर्माण गरेको भन्दै स्थानीयले तोडफोड र आगजनी गरेका छन्।
शनिबार दिउँसो गोरखाको सिरानचोक गाउँपालिका २ पाण्डेवेशीमा रहेको चम्पावती हाईड्रोपावरको कार्यालयमा तोडफोड र आगजनी गरेका प्रहरीले जनाएको छ। यो हाईड्रोपावरले लमजुङ र गोरखाको सिमाना भएर बग्ने चेपे नदीबाट सात मेघावाटको विद्युत निकाल्ने योजना सहित निर्माण भईरहेको छ।
‘सयौँको संख्यामा लमजुङतर्फबाट आएका किसानले गोरखा तर्फ रहेको आयोजनाको कार्यालयमा तोडफोन र सवारी साधनमा आगजनी गरेका हुन’ गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले भने।
आयोजनाले स्टमेट परिर्वतन गरी नहर भन्दा दुई सय मिटर पानी झार्ने गर्ने काम गरेको भन्दै किसान आक्रोशित बनेका राईनासका स्थानीय श्रीकृष्ण पौडेलले बताए। नहरभन्दा तल पानी झार्दा खेतमा पानी लैजान समस्या हुने भन्दै यसअघिपनि पटक–पटक स्थानीय र जलविद्युत आयोजना बिच छलफल हुँदा स्थानीयको मागलाई बेवास्था गरेको उनले बताए।
निर्माणाधीन चम्पावती जलविद्युत आयोजनाका कारण बाह्रसय हेक्टर क्षेत्रफलमा फैलिएको खेत सुख्खा हुने स्थानीय श्रीकृष्ण पौडेलले बताए। हाइड्रोले किसानहरुको माग बेवास्ता गरी काम गरिरहेकाले शनिबार सबै स्थानीय भेला भएको बताउँदै उनले तत्काल सुधार नगरे थप काम रोक्ने स्थानीयबिच परामर्श भईरहेको बताए।
छलफलपछि पनि आयोजनाले काम निरन्न्तर गरिरहेको, स्टमेट भन्दा फरक काम गरेको स्थानीयको आरोप छ। किसानले दूईवटा टिपर, एउटा मोटरसाईकल र एक्साभेटरमा पनि आगजनी गरेका छन्। टिपर पुर्ण रुपमा जलेको एसपी खनालले बताए।
आयोजनाका अध्यक्ष हरिराम पराजुलीले भने स्टमेट परिर्वतन नभएको र चर्चा गरिएजस्तो नहरको मुहान भन्दा तल पानी झर्ने कुरा झुटो भएको बताए। ‘खेतमा पानी नजाने भन्ने कुरा छैन, हामीले स्टमेट अनुसार नै काम गरिरहेका छौँ’ उनले भने ‘आशंकाको भरमा आगजनी र तोडफोड गरियो।’ एक अर्व ३२ करोड लगानीमा निर्माण भईरहेको उक्त आयोजनामा शनिवारको आगजनी र तोडफोडले पाँच करोडभन्दाबढिको क्षती भएको अध्यक्ष पराजुलीले बताए।
चैत मसान्त सम्म निर्माण सक्ने गरी काम भईरहेको बेला यस्ता घटनाले निर्माण अन्यौल हुने कम्पनीले जनाएको छ। आयोजनाको हाल सम्म ७० प्रतिशत काम सकिएको अध्यक्ष पराजुलीले बताए। ‘आगजनी र तोडफोड गर्ने बिरुद्ध क्षतीपूर्ती सहित कारवाहीकालागि कानुनी प्रक्रिया अघि बढाउँछौँ’ उनले भने।
जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले भने, ‘घटनाको अनुसन्धान गरीसंलग्नको खोजी भईरहेको छ।’ शनिवार भने कोहीपनि पक्राउ परेका छैनन्। जलविद्युत आयोजना कार्यालयमा धेरै संख्यामा भेला भएका स्थानीय को को प्रत्यक्ष संलग्न भए भन्ने यकिन गर्न प्रहरीलाई समस्या परेको जनाएको छ। आगलागी गोरखा तर्फको कार्यालयमा लमजुङका स्थानीयले गरेकाले घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई थप समस्या भएको छ।
प्रकाशित: २४ मंसिर २०७९ १४:५१ शनिबार