२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

ओखलढुंगा प्रहरीलाई अत्याधुनिक नयाँ भवन

नवनिर्मित भवनको उद्घाटन गर्दै आईजिपी सिंह। तस्विरः महेश्वर

जिल्ला प्रहरी कार्यालय ओखलढुंगा अत्याधुनिक नयाँ भवनमा सरेको छ। साविक प्रहरी परिसरमा १० करोड १० लाख ४४ हजार ९१ रुपैया ८१ पैसाको लागतमा निर्मित भवन सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो।

नवनिर्मित भवनको सोमबार दिउँसो आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजिपी) धिरजप्रताप सिंहले उद्घाटन गरे। कार्यालय भवनसँगै, जवान ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत र जुनियर अधिकृत आवासलगायत आधादर्जन बढी भवनको आईजिपी सिंहले एकैचोटी उद्घाटन गरेका हुन्।

उद्घाटन गर्दै आईजिपी सिंहले प्रहरी संगठन जनताप्रति समर्पित एक कुशल र प्रतिबद्ध व्यवसायिक संगठन भएको बताए। उनले संगठनलाई मजबुत, सक्रिय र जनमैत्री बनाउन नवनिर्मित भौतिक संरचनाको ठूलो भूमिका रहने बताए। नवनिर्मित भवनले जिल्लामा कार्यरत सकलदर्जाका प्रहरी कर्मचारीको अव्यक्त पीडाको अन्त्य भएको विश्वास व्यक्त गर्दै यसले थप हौसला मिल्ने अपेक्षा पनि गरे।

आईजिपी सिंहले भवन लगायत भौतिक संरचना निर्माण भएपछि प्रहरी कर्मचारीहरूको कार्य सम्पादनमा पनि सकारात्मक प्रभाव पार्ने बताए। भवन निर्माणमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मानपत्र प्रदान गर्दै आईजिपी सिंहले प्रहरी संगठन देश र जनताप्रति प्रतिबद्ध व्यवसायिक संगठन भएकाले हमेशा जनताप्रति समर्पित भएर शान्ति सुरक्षा र अमन चयनको कार्यमा लाग्न निर्देशन दिए।

कार्यक्रममा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिईआईजी) सुदिप गिरीले प्रहरीलाई सुबिधा सम्पन्न भवन बनेपछि जिल्लाको शान्ति सुरक्षा सुदृढ गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे। नयाँ भवनमा बसेर काम गर्दा थप जोश, जाँगर र उर्जाका साथ गर्न निर्देशनात्मक आग्रह गर्दै डिआईजिपी गिरीले आगामी दिनमा शान्ति सुरक्षमा सुधार भएको सुन्न चाहेको बताए।

प्रहरी संगठनलाई साधनस्रोत सम्पन्न गर्दै लाने उदेश्यले संघ, प्रदेश तथा स्थानीय सरकारसँगको समन्वयमा देशभरका प्रहरी कार्यालयहरुलाई भवनयुक्त बनाउने क्रममा ओखलढुंगामा पनि नयाँ भवन बनेको हो। भवन लगायत भौतिक संरचनायुत्तः बनाउन सके प्रहरीलाई व्यवसायिक सफलता मिल्ने अपेक्षा प्रधान कार्यालयले लिएर यो काम भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताए।  

प्रकाशित: १९ मंसिर २०७९ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App