२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लैङ्गिक हिंसा नियन्त्रण गर्न धार्मिक गुरुहरुको भूमिका महत्वपूर्ण

महिला हिंसा नियन्त्रणका लागि धार्मिक गुरुहरुको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन्।

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत राष्ट्रिय अन्तरधार्मिक नेपालले धार्मिक गुरुसहितको सरोकावालासंग गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले महिला हिंसासंगै समाजमा भइरहेको अन्य परम्परागत मान्यताहरु परिवर्तनका लागि सरोकारवालाहरुको भूमिका महत्वपूर्ण भएको बताएका हुन्।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोगकी प्रवक्ता सर्मिला भट्टराइले समाजले धर्मगुरुहरुको भनाइ मान्ने हुँदा महिला हिंसा नियन्त्रणमा धर्म गुरुहरुको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले अझै पनि गाउँ गाउँमा महिला हिंसाको बारेमा जनचेतना पुगिनसकेको र महिलाहरु हिंसा सहन बाध्य भइरहेको बताइन्। आयोगले हिंसामा रहेको महिलाहरुलाई सहयोग गरिरहेको र आगामि दिनमा पनि त्यसलाई प्रभावकारी रुपमा अगाडि बढाउने उनको भनाइ थियो।

मानव अधिकार आयोगकी कल्पना आचार्यले महिला हिंसा अन्त्यका लागि आयोगले विभिन्न निकायहरुसँग मिलेर काम गरिरहेको र त्यस अभियानमा धार्मिक गुरुहरुको पनि भूमिका रहेको बताइन्। समाजमा हुने हिंसा नियन्त्रणका अभिभावकको र परिवारको ठूलो हात रहने उनको भनाइ थियो। धार्मिक गुरुहरुले आफ्नो कामसँगै यस्ता खालका हिंसा नियन्त्रणका लागि बाल्न आवश्यक रहेको उनले उल्लेख गरिन्।

ललितपुर महानगरको महिला विकास प्रमुख महेश्वरी विष्टले हाम्रो समाजमा धार्मिक गुरुहरुले बोलेको कुरा पवित्र मान्ने हुँदा महिला हिंसा जस्ता कुराहरुमा गुरुहरुले बोल्ने हो भने हिंसा नियन्त्रण हुन सक्ने बताइन्। विष्टले आफ्नो अनुभव सुनाउँदै अझै पनि हिंसा भनेको के हो भन्ने कुराको चेतनामा कमी रहेको र सम्पन्न परिवार,पढेलेखेको परिवारमा पनि हिंसा हुने गरेको बताइन्।

सामुदायिक रेडियो प्रशारक संघका व्यवस्थापक दिपक आचार्यले महिला हिंसा अन्त्यका लागि सञ्चार माध्यमले आफ्नो ठाउँबाट बिषयहरु उठाइरहेको र पछिल्लो दिनमा धर्म गुरुहरुलाई पनि जोडेको बताए। हिंसा नियन्त्रणको लागि धर्म गुरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामि दिनमा सञ्चार माध्यमले यस्ता बिषयलाई प्रथमिकतामा राख्नुपर्ने बताए।

गैरसरकारी संस्था ललितपुरकी सचिव  नन्दा ताम्राकारले राज्य र सरोकारवाला निकायहरुले नदेखेको कुरा धार्मिक गुरुहरुले देख्न आवश्यक रहेको बताइन्। उनले लैङ्गिक हिंसाको बहस गरिरहदा त्योसँगै प्रजनन् स्वास्थ्यलाई पनि जोड्न आवश्यक रहेको बताइन्।

एकद्वार संकट व्यवस्थापन केन्द्र पाटनकी प्रमुख डा.श्रीजना कुवरले महिला हिंसामा परेको महिलाहरु अन्तिम समयमा मात्र बाहिर आउने हुँदा त्यो अवस्था नै आउन नदिन अगाडि देखि लाग्नुपर्ने बताइन्। हिंसामा परेका महिलाहरु अन्तिम समयमा मात्र केन्द्रको सहयोग लिन आइपुग्ने हुँदा त्यो अवस्थासम्म आइपुग्न नदिन हिंसाको बारेमा जानकारी दिन आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा सहभागि अन्य व्यक्तिहरुले समाजमा धर्मको नाममा विभिन्न हिंसाहरु हुने र त्यसलाई नियन्त्रण गर्न धर्म गुरुको महत्वपूर्ण भूमिका रहने बताए। राष्ट्रिय अन्तरधार्मिक नेपालले समाजमा भइरहेको हिंसा नियन्त्रणका लागि धार्मिक गुरुहरुसँग काम गर्दै आइरहेको छ।  

प्रकाशित: १९ मंसिर २०७९ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App