२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

युवती हत्या प्रकरण: सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ। मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका-४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन्।

किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजी कार्य तीव्र पारिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए। मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिरनजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन्। उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी हुन्। हाल उनको डडेल्धुरा अस्पतालमा उपचार हुँदै छ। घाइते नेहाले दिएको बयानका आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ।

माया र नेहा मंगलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए। बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजेको थियो। खोज्दा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी हुन्। घटनाको अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली दुई दिनसम्म घटनास्थलमै बसेको थियो।

माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरी समेत थिइन्। प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कु लगायतका सामग्री बरामद गरेको छ। बरामद गरिएका सामग्रीबाट थप कुरा खुल्ने प्रहरी नायब उपरीक्षक शाहीको भनाइ छ। मायाको शव परीक्षणपछि आफन्तलाई बुझाइएको छ। परीक्षण रिपोर्ट भने सार्वजनिक गरिएको छैन। रासस

प्रकाशित: १६ मंसिर २०७९ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App