१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काम नगर्ने ठेकेदारको स्काभेटरमा नगरपालिकाले लगायो ताला

क्याप्सनः काम नगर्ने ठेकेदारको मेसिनमा ताला लगाउँदै वडाध्यक्षद्वय राई र घिमिरे। तस्विरः महेश्वर

खोटाङमा काम नगर्ने एक ठेकेदारको यन्त्र उपकरण (मेसिन)मा ताला लगाइएको छ। सदमरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक निर्माण गर्न काम जिम्मा लिएर अलपत्र पारेको भन्दै ठेकेदारको ना ६ त २६१ र लु ३ त ८७६८ का २ ट्याक्टर तथा अर्को एउटा स्काभेटरमा ताला लगाएको हो।  

ठेक्का लिएको काम गर्न साइटमा ल्याइएका मेसिन उपकरण अन्तै लैजान खोजेपछि नगरपालिकाले ताला लगाएको जनाएको छ। दिक्तेल हाटडाँडा काफ्लेगाउँ– घुम्तीबर सडक स्तरोन्नति कार्यको जिम्मा लिएको लगलगे कन्ट्रक्सन काठमाडौंले काम गर्न ल्याएको मेसिन त्यहाँ काम नगरी अन्त लेजान खोजेपछि ताला लगाएको दिक्तेल रुपाकोट मझुवागढी नगर उपप्रमुख बिसन राईले बताए।  

काम गर्ने जिम्मा लिएर ल्याएको उपकरणहरु त्यहाँ नगरी अन्तै लैजान खोजेपछि उनकै उपस्थितिमा वडा नं. १ दिक्तेलका वडाध्यक्ष नवराज राई र वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले तालाबन्दी गरेका हुन्। उनीहरुले ट्याक्टर र स्काभेटरमा फलामे साङलो लगाएर ताला लगाईदिएको उपप्रमुख राईले बताए।  

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुंगाको रेखदेखमा गर्ने उक्त सडक स्तरोन्नति कार्य गर्ने गरी सो कन्स्ट्रक्सनले ०७८ माघ २० गते सम्झौता गरेको थियो। तर, अहिलेसम्म काम नगरी अलपत्र पारेर ट्याक्टर, स्काभेटर अन्यत्र लैजान लागेपछि तालाबन्दी गर्नुपरेको नगरपालिकका प्रवक्तासमेत रहेका वडाध्यक्ष घिमिरेले बताए। उनले जिम्मा लिएका काम अलपत्र पारेर छाड्ने ठेकेदारका मेसिन उपकरणमा नगरप्रमुख तीर्थराज भट्टराईकै निर्देशन अनुसार तालाबन्दी गरिएको बताए। ठेकेदारले नगरपालिका आएर काम गर्ने कबुलीयतनामा कागजनमा हस्ताक्षर नगरेसम्म ताला नखोल्ने पनि घिमिरेले बताए।  

४६ लाख रुपैँयाको उक्त योजनाको काम आधा मात्र सम्पन्न भएको छ। सडक स्तरोन्नति गर्ने भन्दै माटो कटिङ गरेर पर्खाल लगाउन थालेकाले सडकमा आउजाउ गर्न नसकिने अवस्था सिर्जना भएको छ। काम अधकल्चो भएकाले सामान्य वर्षा हुँदा पनि  ट्याक्टर कुदाउनसमेत हम्मे भएको काम छाडेर हिड्न खोज्दा नगरपालिका यसो गर्न बाध्य भएको जनाएको छ। ठेक्का अवधि अझै ९ महिना बाँकी रहेकाले पहिले काम सकेर मात्र मेसिन उपकरण अन्यत्र लान पनि नगरपालिकाले सुझाएको छ।  

सो सडक स्तरोन्नतिको काम अधुरो हुदा स्थानीय बजारबासी धुलाम्य हुने तथा विरामीलाई जिल्ला अस्पताल ल्याउनसमेत कठिनाई भएको छ। त्यसैगरी ज्येष्ठ नागरिक, अशक्त, बालबालिका थप प्रभावित भएकाले चाँडो काम सक्न नगरपालिकाले ठेकेदारलाई आग्रह गरेको छ।  

उता यही कन्ट्रक्सनले २३ लाख ६८ हजारमा गर्नेगरी जिम्मा लिएको भुते–जिरो–आयुर्बेद खण्डको सडक स्तरोन्नति कार्य पनि ८ महिना अवधि बाँकी रहदासम्म काम सक्ने छेकछन्द देखिएको छैन। सम्झौता म्यादभित्र योजना सक्नका लागि द्र्तगतिमा काम गर्नुपर्ने भन्दै ठेकेदार कम्पनीलाई नगरपालिकाले ताकेता गरिरहेको छ।  

नगरपालिकाले यसअघि पनि यसैगरी एउटा ठेकेदारको मेसिन उपकरणमा ताला लगाएको थियो। जिल्ला अस्पताल चोक–लफ्याङ खण्डको सडकको काम अलपत्र पारेको भन्दै ढुकुचु÷बगाले÷विएनटी जेभीको लफ्याङमा रहेकोे मेसिन उपकरणमा ताला लगाएको थियो। ठेकेदारले नगरपालिकासँग समयमै काम सक्ने वाचासहितको कागज गरेपछि ताला खोलिएको थियो। जस अनुसार अहिले अस्पताल चोकदेखि लफ्याङसम्मका ३ सय ७ मिटर लामो सडक ग्राभेल गर्ने काम धमाधम भईरहेको छ।

प्रकाशित: १६ मंसिर २०७९ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App