जुम्लाको हिमा गाउँपालिका–२ ओदी गाउँकी बसन्ती रोकाया २३ वर्षकी पुगिन्। उनको काखमा अहिले दुई छोरा र एक वर्षको छोरी छन्।
विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा बसन्ती बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आएकी छन्। कक्षा ८मा पढ्दै गर्दा उनको विवाह भएको हो। १५ वर्षमा बिहे गरेकी उनी एक वर्षपछि आमा बनिन्। हाँस्दै खेल्दै पढ्ने उमेरमा बसन्ती आमा बनिन्। परम्परा र सामाजिक संस्कारका कारण बसन्ती जस्तै जुम्लाका धेरै किशोरी आमा बनेका छन्।
बालविवाह जुम्लाका ग्रामीण क्षेत्रमा पनि झन डरलाग्दो छ। विवाह गरेको एक वर्षमै आमा बनेपछि उनको पढाइ बीचमै छुटेको छ। १५ वर्षीया रोकायाको ८ वर्षअघि मागि बिहे भयो। उनी तीन वर्षकी छोरी,सात वर्षको एक र एक वर्षको छोराको आमा हुन्। यी मात्र होइन, जिल्लाका ग्रामीण क्षेत्रमा कम उमेरमा आमा बन्ने संख्या अधिक छ।
कलिलो उमेरमै आमा बनेका अधिकांशले पढाइ बीचैमा छोडेका छन्। सानै उमेरमा आमा बन्दा उनीहरूमा घरधन्दाको बोझ थपिएको छ। सिन्जा गाउँपालिका ६ की नन्दा बुढाले १४ वर्षकी उमेरमा एक सन्तानकी आमा छिन्। १३ वर्षको कलिलो उमेरमै बिहे गरेकी उनी अहिले नै विभिन्न स्वास्थ्य समस्या देखिन थालेको बताउँछिन्। पती मानबहादुर रोकायाले ज्याला–मजदुरी गरेर सन्तानको पालनपोषण गरिरहेका छन्। सानै उमेरमा विवाह गर्दा सन्तानको पालनपोषणमा समस्या छ,उनले भनिन्,'बालबालिकाको पठनपाठन पनि राम्रो बन्न सकेको छैन।'
घरको अन्नले दुई महिना मात्र खान पुग्ने भएकाले पालनपोषणमा समस्या भइरहेको उनको भनाइ छ। छोराछोरीको पालनपोषणका लागि वर्षभरि नै मजदुरी गर्नुपर्ने बाध्यता रहेको रोकायाले बताए। कलिलैमा विवाह गर्दा अहिले पछुतो भएको उनको पत्नी बसन्ती रोकायाको भनाइ छ। अघिल्लो सालको एसईई परीक्षामा पास भइन्। तर, घरको काम र छोरा सानो हुँदा पढाइ लागि अगाडि बढाउन सकिनन्। उनले भनिन्, 'अहिले कम उमेरमा विवाह गरेकामा धेरै दुख लागेको छ। १३ वर्षको कलिलो उमेरमा भागेर विवाह गरेकी नन्दालाई पनि पढाइ पूरा गर्न नपाएकोमा सबैभन्दा ठूलो दुख छ। सानैमा बच्चा जन्माइयो, झनै बोझ थपियो।' सानैमा विवाह गर्दा आत्मनिर्भर बन्न सकिएन।
पछिल्लो समय जुम्लामा २० वर्ष नपुग्दै आमा बन्नेको संख्या अधिक छ। जनचेतनाको कमी, देखासिकी, गरिबीलगायत कारणले कलिलो उमेरमै विवाह गर्ने चलन धेरै रहेको सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताइन्। कम उमेरमै विवाह गर्दा विभिन्न सामाजिक समस्या देखिन थालेको उनले बताइन्। महिला वा पुरुष दुवै २० वर्ष नपुगी गरिने विवाह कानुनी रूपले बालविवाह ठहरिनेअधिवक्ता नन्द खत्रीले बताए।
प्रत्येक स्थानीय तहका गाउँदेखि टोलटोलमा बालविवाह हुने गरेको जनाए। उनले भने जुम्लाको हकमा बढी दलित बस्तीमा बढी छ। सचेतना कमी,बेरोजगार लगायतका कारण देखिन्छन्। अहिले १५ वटा बालविवाह गरेर सम्बन्धविच्छेद लागि उजुरी परेको बताए। एसईईपछि विवाह गर्ने किशोरीको संख्या अधिक छ। विकट गाउँमा २० वर्ष नपुगेरै बिहे गर्ने र बच्चा जन्माउने प्रचलन कुनै नौलो भने होइन। चन्दननाग नमुना माध्यमिक विद्यालय जुम्लाकी शिक्षिका संमरीता बुढाले भनिन्।हामीले रोक्न धेरै अभियान चलायौं,सफल भएनौं।
जुम्लामा प्रत्येक गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाले पनि बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेका छन्। गैरसरकारी संस्थाले पनि बालविवाह न्युनिकरण सम्बन्धि काम गर्नेछन्। तर बालविवाह एकिन डाटा ल्याउन सकेको अवस्था छैन। उमेर नपुग्दै बिहे गरेर बच्चा जन्माएको देख्दा दुख लाग्ने गरेको सिंजा ६ जोडु गाउँकी महिला स्वास्थ्य स्वयंसेविका धनसरी बुढाले बताइन्।
लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकीले समाजमा बालविवाह रोक्न र कम उमेरमा आमा नबन्न सबैलाई सल्लाह दिंदै आएकी छु,उनले भनिन्,नवविवाहित दम्पतीलाई अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्न आग्रह गर्दै आए पनि बेवास्ता भइरहेको छ। उनले उमेर नपुगेका किशोरीलाई सुत्केरी गराउन कठिनाइ हुने गरेको बताइन्। तीन वर्षसम्म सिंजा ६ दातँमा रहेको मितेरी बर्थिङ सेन्टरमा २४ जना २० वर्ष नपुगेका किशोरी सुत्केरी भएको अनमी शारदा रोकायाले बताइन्। कसैकसैलाई लामो व्यथा लागेर सुत्केरी गराउन दुईरतीन दिनसम्म लाग्ने गरेको छ। उनले भनिन्, २० वर्ष नपुग्दै आमा बन्दा बच्चा कम तौलको जन्मिने, आमा र बच्चामा कुपोषण हुने, रक्तअल्पता हुनेलगायत समस्या देखिने गरेका छन्।
उनका अनुसार कम उमेरमा आमा बन्दा आङ खस्ने जोखिम धेरै हुन्छ। उनले लामो समयसम्म सुत्केरी ब्यथा लाग्दा आमा र बच्चाको ज्यान खतरामा पर्नेगरेको जनाइन्।
प्रकाशित: १० मंसिर २०७९ ०७:०३ शनिबार