१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

इलाममा खस्यो ५७.४४ प्रतिशत मत

इलाममा ५७.४४ प्रतिशत मत खसेको छ। जिल्लाका ६८ हजार ४ सय ५८ पुरुष र ६० हजार ७ सय १७ महिला गरी १ लाख २९ हजार १ सय ७५ जनाले मतदान गरेको सिडिओ माधबप्रसाद ढुंगानाले जानकारी दिए।

जिल्लाका सबै मतदानस्थलमा निर्धारित समय (साँझ ५) भित्र शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उनले बताए। सिडिओ ढुंगानाले सबै केन्द्रबाट मतपेटिका गणनास्थल आउनेक्रम जारी रहेको बताए।

जिल्लाको क्षेत्र नम्बर १ को गणना सूर्याेदय नगरपालिकाको फिक्कलमा र क्षेत्र २ को गणना सदरमुकामस्थित सिटी हलमा गरिने छ। सोमबार बिहान ७ बजेपछि आवश्यक व्यवस्था गरी गणना सुरु गरिने उनको भनाइ छ।

जिल्लामा प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र छन्। प्रतिनिधिसभातर्फ इलाम क्षेत्र १ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र क्षेत्र २ मा नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसहितका प्रतिस्पर्धी चुनावी मैदानमा छन्।

खनालसँग एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र नेम्बाङसँग गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काको मुख्य प्रतिस्पर्धा रहने आँकलन छ।

२ लाख २४ हजार ८ सय ७७ मतदाता रहेको इलाममा १ सय ५० मतदानस्थल र २ सय ८५ मतदान केन्द्र छन्। प्रतिनिधिसभा क्षेत्र १ मा ७१ मतदानस्थल र १ सय ३६ मतदान केन्द्र छन्। यो क्षेत्रमा १ लाख ९ हजार ५ सय ३५ मतदाता छन्।

प्रतिनिधिसभा क्षेत्र २ मा ७९ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयको तथ्यांक छ। यो क्षेत्रमा १ लाख १५ हजार ३ सय ४२ मतदाता छन्।

प्रकाशित: ४ मंसिर २०७९ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App