१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सिरहामा रकमसहित दुईजना प्रहरी नियन्त्रणमा

सिरहा प्रहरीले नवराजपुर चोकबाट शुक्रबार राती दुई जनालाई नियन्त्रणमा लिएको छ। सिरहा क्षेत्र नम्बर २ को सोनवर्सा चोकबाट नवराजपुर ५ का विनोद यादव र सोही गाउँपालिका वडा नम्बर ३ का नागेश्वर यादवलाई नियन्त्रणमा लिइएको सिरहा प्रहरी प्रमुख अर्जुन तिम्लिसिनाले जानकारी दिए।

शुक्रबार राती नवराजपुर गाउँपालिकाको सोनवर्सा चोकमा रहेको प्रहरी चेकपोष्टले लु ७९ प ९२०० र स ९ प १५६५ नम्बरको बाइकमा सवार दुबै जनाको झोला खानतलासी गर्दा ४७ हजार रुपैयाँ र नमूना मत पत्र बरामद भएको सिरहा प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताए। दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको उनले बताए।  

उनीहरु राती मतदातालाई पैसा बाड्न गइरहेको बुझिएको उनले बताए। सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चित्रलेखा यादव र नेकपा जसपा गठबन्धनबाट जसपाका राजकिशोर यादवबीच प्रतिस्पर्धा छ। पक्राउ परेको व्यक्तिहरु जसपा नेकपा गठबन्धनका भएको बताइएको छ।

यता प्रहरीको आरोप खण्डन गर्दै यस क्षेत्रका उम्मेदवार राजकिशोर यादवले निर्वाचन आयोगसँग न्यायीक छानविनको माग गरेको छ। उनले विज्ञप्तीमार्फत भनेका छन्–म उम्मेदवार रहेको सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा हाम्रा कार्यकर्तामाथि आक्रमण गर्ने, राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँड्न खोजेको भनी बदनाम गराउने जस्ता घृणित कार्य भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। निर्वाचन लोकतन्त्रको पवित्र र महत्वपूर्ण पर्व हो। तर, यस्तो पवित्र र महत्वपूर्ण पर्वमा सत्ताको आडमा शक्तिको दुरुपयोग गरिनु, गुण्डागर्दीमा उत्रिनु, स्वच्छ प्रतिस्पर्धामा खलल पुर्याउनु अक्षम्य अपराध हो।’

यस्तो अपराध र हर्कतको हामी घोर भत्र्सना गर्न चाहन्छौं। साथै, प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छौं। कुनै तथ्य प्रमाण बिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले विभिन्न घृणित गतिविधिहरु भइरहेको छर्लंङ्ग छ। यस्ता घृणित, अराजनीतिक र हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटनाबाट प्रभावित नहुन समस्त मतदाता, शुभचिन्तक र कार्यकर्ताहरुमा अपील गर्न चाहन्छौं, उनले १२ बजेर २ मिनेटमा फेसबुकमार्फत सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ३ मंसिर २०७९ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App