पूर्व सहमतिअनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ। कांग्रेस–एमाले गठबन्धन बनेपछि गण्डकीमा पहिलो कार्यकाल वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र दोस्रो कार्यकाल खगराज अधिकारी मुख्यमन्त्री बन्ने सहमति भएको थियो। सो सहमतिअनुसार पाण्डे हाल मुख्यमन्त्री छन् भने आगामी साउनमा अधिकारी मुख्यमन्त्री बन्नुपर्ने हो।
तर गण्डकीमा सो सहमतिअनुसार सरकार फेरबदल हुने कुनै गुञ्जायस देखिएको छैन। किनकि गण्डकीमा एमालेबाहेक पनि कांग्रेसले बहुमत पुर्याउन सक्ने अंकगणित छ। गण्डकी प्रदेश सभामा कांग्रेसका २८, एमालेका २२, नेकपाका ७, राप्रपाका २ र प्रलोपाका १ सांसद छन्। सोअनुसार एमालेले सहमतिअनुसार सरकारको नेतृत्व मागेमा अन्य दललाई साझेदार बनाएर आफू नेतृत्वको सरकारलाई निरन्तरता दिने मुख्यमन्त्री पाण्डेको तयारी छ।
सरकार फेरबदलको डरले नै उनले केही समयअघि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। कांग्रेसको देउवा समूहका उनी गगन थापा नेतृत्व अघि आएपछि गण्डकी सरकार फेरबदल गर्ने आशंकामा एक महिना अघि आफूबाहेक सबै मन्त्री फेरबदल गरेका थिए। गगन पक्षलाई गुमराहमा राखेर मन्त्रिपरिषद् पुनर्गठन गर्दा एमालेलाई भने विश्वासमा लिएका थिए। थाहै नदिई मन्त्रिपरिषद् पुनर्गठन भएपछि कांग्रेस संस्थापन पक्षले असन्तुष्टि जनाएको थियो। उनले पछि तिनै असन्तुष्ट सांसदलाई संसदीय दलका पदाधिकारी बनाएर चुप लगाएका थिए।
तर फेरि केन्द्रमा सातै प्रदेशका सरकार फेरबदल गर्ने प्रयास सुरु भएपछि गण्डकी तरंगित बनेको छ। एमाले पूर्व सहमतिअनुसार सरकारको नेतृत्व पाउने आशामा बसेको छ। तर कांग्रेस कुनै पनि हालतमा गण्डकीमा नेतृत्व हस्तान्तरण नगर्ने पक्षमा छ। खासगरी हालका मुख्यमन्त्री पाण्डे नेतृत्व हस्तान्तरण नगर्ने अडानमा छन्। एमालेबाहेक पनि बहुमत पुग्ने अंकगणितका कारण उनी टसमस गर्ने छाँटमा नरहेको मुख्यमन्त्री निकट स्रोतले बतायो।
“उहाँ यही सरकारलाई निरन्तरता दिने पक्षमा हुनुहुन्छ,” उनले भने, “यसमा दायाँबायाँ हुन्छ जस्तो मलाई लाग्दैन।”
एमाले सरकार परिवर्तनको पक्षमा भए पनि अंकगणितका कारण मौन बसेको छ। भुइँको टिप्दा पोल्टाको पोखिन्छ कि भन्ने डरले नेतृत्व माग्दा कतै सरकारबाटै बहिर्गमन पो हुने हो कि भन्ने भयमा एमाले रहेको बताइएको छ। त्यसैले एमाले ‘तैं चुप, मै चुप’ भएर बसेको एक सांसदले बताए। सरकार परिवर्तनबारे अनौपचारिक छलफल भए पनि औपचारिक रूपमा मुख खोल्ने पक्षमा नरहेको बताउँदै उनले नाम नबताउने सर्तमा भने, “सरकार परिवर्तनबारे माथिको सहमति, निर्णय वा आदेश कुरेर बसेका छौं।”
एमाले सांसद गणेशमान गुरुङले भने सरकार परिवर्तनबारे छलफल भइरहेको बताए। गण्डकीमा हालका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता खगराज अधिकारीले मिलेमतो गरेर बजेटको दुरुपयोग गरिरहेको आरोप लगाउँदै उनीहरूको विकल्प खोज्नेबारे छलफल भइरहेको उनको भनाइ छ।
“केन्द्रमा छलफल भइरहेकाले यहाँ पनि सबैले कान ठाडो पारेर बसेका छन्,” उनले भने, “मौका मिल्नेबित्तिकै पाण्डे र अधिकारीको विकल्प खोजिन्छ। त्यसका लागि भित्रभित्रै तयारी गरिरहेका छौं।”
कांग्रेस गण्डकी संसदीय दलका सचेतक प्रकाश बरालले सामान्य छलफलबाहेक अन्य प्रक्रिया अगाडि नबढेको बताए। यहाँ औपचारिक छलफलसमेत नभएको बताउँदै उनले भने, “माथिको सहमति कुर्नुबाहेक अर्को विकल्प छैन।”
प्रकाशित: ६ जेष्ठ २०८३ २०:१२ बुधबार





