२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

योगेश भन्छन्: विकल्प हुँदाहुँदै संसद् विघटन गलत

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले जेन-जी पुस्ताको मागको उचित सम्बोधन संसदले नै पूरा गर्न सक्ने विकल्प हुँदाहुँदै संसद् विघटन गरेर मुलुकलाई सही निकासतर्फ अघि बढाउन चुकेको बताएका छन्।

शनिबार बिहान एक भिडियो सन्देश जारी गर्दै भट्टराईले यस्तो बताएका हुन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल र नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई ‘तपाईँहरूका हरेक कदम संविधानको बाटोबाट भए जनता र हामीले स्वीकार गर्छौं, संविधान विपरीत भए प्रतिवाद गर्छौं' भनेर भनेका छन्।

भट्टराईले संविधान र लोकतान्त्रिक प्रकृयालाई लिकभन्दा बाहिर जान नदिन शान्त, सभ्य, उत्तेजनाविहीन र संस्कारपूर्ण हिसावले अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए। उनले भदौ २३ र २४ गते भएका सबै घटनाको न्यायिक र निस्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्। नेकपा एमाले र आफू जस्तोसुकै घटनाको न्यायिक र निस्पक्ष छानबिनको पक्षमा रहेको उनले भनेका छन्।

भट्टराईले एमाले नेतृत्वको सरकारले भौतिक पूर्वाधारको क्षेत्रमा आसलाग्दो काम गरे पनि भ्रष्टाचार सुशासनका पक्षमा राज्यका संयन्त्रलाई उचित हिसावले परिचालन गर्न चुकेको स्वीकारेका छन्। विगतका कमीकमजोरीको समीक्षा गरी अब पार्टीको नेतृत्व, संगठन र कार्यशैलीमा परिवर्तन गरी अग्रसर हुने प्रतिबद्धता भट्टराईले व्यक्त गरेका छन्।

बेथिति र भ्रष्टाचारको न्यायिक छानबिनको घेराबाट एमाले र एमाले नेतृत्व नभागेको नभाग्ने प्रष्ट पार्दै भट्टराईले पार्टी पूर्णतया युवामैत्री संगठनिक संरचनाले भरिएको बनाउने गरी अग्रसर हुने बताए। एमाले अब जनताको बिचमा जनताको मनमा र जनताको विचारको आधारमा चल्ने परिवर्तित संगठनको रूपमा एकीकृत हुने उनले बताएका छन्।

अबको दायित्व टुटेका मनलाई जोड्ने, खरानी भएको संरचनाको पुनर्निर्माणमा एक भएर जोडिने, वृहत्त राष्ट्रिय एकताको भावानबाट अग्रसर हुने र अन्तर्राष्ट्रिय सद्भावपूर्ण नेपाली एकताको सन्देश दिनु रहेको उनको भनाइ छ। यसका लागि उनले सबै पक्षलाई आह्वान समेत गरेका छन्।

एमाले पार्टीपंक्तिमा निराशा र विचलन हुनुपर्ने कुनै कारण नभएकाले परिवर्तित अवस्थाको सन्देशका आधारमा पार्टी निर्माणमा झन् बलियो र एकीकृत रूपमा उभिन उनले कार्यकर्तालाई आग्रह समेत गरेका छन्। उनले जेन-जी पुस्ताको आन्दोलनको नाम भजाएर अराजक समूहबाट भएको तोडफोड,लुटपाट र आगजानी सहितका पछिल्ला सबै घटनाको निस्पक्ष छानबिन जरुरी भएको समेत बताएका छन्।

प्रकाशित: २८ भाद्र २०८२ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App