२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

अबको सरकार गोठाला खेतालाको: हर्क सामपाङ

श्रम सँस्कृति पार्टी (एसएसपी)का अध्यक्ष हर्क सामपाङले आउँदो फागुन २१ गतेपछि नेपालमा गोठाला, खेताला र किसानहरुको सरकार बन्ने भविष्यबाणी गरेका छन् । खोटाङ सदरमुकाम दिक्तेलमा शनिबार आयोजित पार्टी आमसभामा बोल्दै अध्यक्ष सामपाङले त्यस्तो  भविष्यबाणी गरेका हुन् ।  

धरान उपमहानगर प्रमुखसमेत रहेका सामपाङले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा एसएसपीले बहुमत ल्याउने दावी गर्दै त्यसपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी दोहोर्‍याए । खोटाङ आफ्नो गृह जिल्ला पनि बताउँदै उनले अरु जिल्ला जस्तै त्यहाँ पनि एसएसपीप्रति जनाकर्षण बढ्दो रहेको दावी गरे ।  

सामपाङले अहिले नेपालमा भिजन (दृष्टिकोण) नभएका नेताहरुको हातमा रहेकाले विकास हुन नसकेको दावी गर्दै आफ्नो पार्टीसँग देश र समाज निर्माणको स्पष्ट भिजन भएको बताए । नेपाल विना दृष्टिकोणका नेताहरुको हातमा परेकाले दिनदिनै बर्बाद हुदै गएको भन्दै उनले अब विदेशीको ऋणबाट देश विकास गर्ने नभई आफ्नै पौरखबाट गर्नुपर्ने बताए ।  

देश विकास गर्न स्पष्ट भिजन चाहिने बताउँदै उनले तर, अहिलेका नेताहरुसँग  कमिशन खाने सोँच मात्र भएकाले भ्रष्टाचार चरम चुलीमा पुगेर मुलुक टाट पल्टेको बताए । यस्ता नेताहरुबाट देश विकास सम्भव नभएको बताउँदै उनले देशको समस्या पहिचान गर्न नसक्नेह नेता हुन नसक्ने ठोकुवा गरे ।  

विद्यमान राजनीतिक दलहरुले एउटै समस्या समाधान गर्न पटकपटक भोट मागेको बताउँदै सामपाङले तर, भोट दिएर जितेपछि १० वर्षसम्म एउटै योजनामा बजेट हालिरहने र कमिशन खाईरहने परिपाटीको खरो विरोध गरे । अहिलेसम्म जनताले नुन र सुन छुट्याउन नसक्दा दुःख पाउनु परेको बताउँदै उनले फागुन २१ गतेको चुनावमा भने नुन र सुन के हो भनेर चिन्न आग्रह गरे ।  

विगतका चुनावहरुमाजस्तो आफ्नो अमूल्य भोट रक्सी, जाँड र मासुभातमा खेर नफाल्न देशवासीलाई आग्रह गर्दै अध्यक्ष सामपाङले गलत नियत बोकेका नेताहरुले जनताको अमूल्य भोट लिएर देश बर्बाद पारिरहेको कुराप्रति गम्भीर भएर निर्णय लिन आग्रह गरे । कसैको आश्वासन, लहड, फकाउ र बहकाउमा लागेर अमूल्य मतको दुरुपयोग नगर्न उनको अनुरोध थियो ।  

‘अब जिन्दावाद र मुर्दावादले देश बन्दैन रहेछ, गफले पनि देश नबन्ने रहेछ भन्ने प्रमाणित भईसक्यो नि’ सामपाङले भने ‘देश विकास गर्न भिजनसहितको योजना र त्यसलाई ठोस गर्न श्रमदान गर्नुपर्छ, त्यो भिजन र श्रम क्षमता एसएसपीसँग छ । त्यसैले हामीप्रति, हाम्रो पार्टी श्रम सँस्कृति पार्टीप्रति विश्वास गरेर ऐक्यबद्धताका साथ हातेमालो गरौँ ।’

कार्यक्रमअघि विभिन्न जातीय तथा साँस्कृतिक झाँकीसहित निस्केको पैदल, मोटरसाईकल र गाडी सम्मिलित र्‍यालीले दिक्तेल बजार परिक्रमा गरेको थियो ।  

प्रकाशित: २७ मंसिर २०८२ १९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App