ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १२ वटा विशिष्ट उद्देश्य समेटिएको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ बजेट अधिवेशनमार्फत प्रस्तुत नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी, प्रविधि र सुशासनलाई प्राथमिकतामा राखेको छ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखिएको छ। विद्यालयको शैक्षिक नतिजा सुधार गर्दै ‘नन–ग्रेड’ अवस्थाको अन्त्य गर्ने लक्ष्य लिइएको छ। साथै कक्षा १ बाट सुरु भएको अंग्रेजी माध्यमको पठनपाठनलाई आगामी वर्षदेखि कक्षा ३ सम्म विस्तार गरिने भएको छ।
शिक्षा क्षेत्रमा विद्यार्थी पहिचान कार्यक्रम, शिक्षक प्रोत्साहन कार्यक्रम, सबै विद्यालयमा इन्टरनेट पहुँच विस्तार तथा विद्यालयमा अनुशासन कायम गर्न विशेष पहल गरिने उल्लेख छ। मादक पदार्थ सेवन, धूमपान तथा अनियमित गतिविधिमा संलग्न शिक्षकहरूमाथि कारबाही गर्ने नीति पनि ल्याइएको छ।
युवा तथा खेलकुदतर्फ युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गरिनेछ। अधुरा खेलमैदानहरू सम्पन्न गरिने र गाउँपालिकाको गौरवको आयोजनाका रूपमा रहेको दमन भण्डारी रंगशाला निर्माणलाई अघि बढाउन प्रदेश र संघीय सरकारसँग सहकार्य गरिने नीति लिइएको छ।
पूर्वाधार विकासअन्तर्गत सडक, पुल तथा झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइने भएको छ। भवन तथा बस्ती विकासतर्फ आगामी वर्षभित्र फुसको छानो विस्थापन गर्ने लक्ष्यसमेत राखिएको छ।
विद्युत् पहुँच नपुगेका बस्तीहरूमा केन्द्रीय प्रसारण लाइन विस्तार गरी सम्पूर्ण गाउँपालिकालाई ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने तयारी गरिएको छ। सूचना तथा सञ्चार प्रविधितर्फ फाइबर नेट सेवाको गुणस्तर सुधार गरी सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाइने भएको छ।
स्वास्थ्य क्षेत्रमा वडा नम्बर ४ मा स्वास्थ्य चौकी सञ्चालनमा ल्याइने, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि घरदैलो स्वास्थ्य सेवा उपलब्ध गराइने तथा आयुर्वेद गाउँघर क्लिनिक सञ्चालन गरिने नीति सार्वजनिक गरिएको छ। ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण कार्यक्रमलाई पनि निरन्तरता दिइनेछ।
महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा लक्षित वर्गको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तथा आयआर्जन कार्यक्रम सञ्चालन गरिने भएको छ। छात्रवृत्ति, सीप विकास तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
खानेपानी तथा सरसफाइतर्फ ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिइनेछ भने फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन डम्पिङ साइट निर्माणलाई प्राथमिकता दिइने भएको छ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ। रैथाने बाली, फलफूल तथा तरकारी खेतीलाई विशेष प्राथमिकता दिइनेछ। सहकारी क्षेत्रको सुदृढीकरण, पर्यटन प्रवर्द्धन, वन संरक्षण, विपद् व्यवस्थापन तथा सुशासन प्रवर्द्धनका कार्यक्रमहरू पनि नीति तथा कार्यक्रममा समेटिएका छन्।
गाउँपालिकाले संघीय र प्रदेश सरकारकै शैलीमा समयमै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी विकासको स्पष्ट खाका सार्वजनिक गरेको जनाएको छ।
प्रकाशित: २१ जेष्ठ २०८३ १९:०३ बिहीबार





