जुम्लामा जारी जिल्लास्तरीय खुला फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार चार खेल सम्पन्न भएका छन्।
दीपावली र छठ पर्वको अवसरमा चन्दननाथ नगरपालिका–३ मा भइरहेको प्रतियोगितामा दुई खेलको नतिजा पेनाल्टी सुटआउटबाट टुङ्गिएको थियो।
दिनको पहिलो खेलमा आयोजक चन्दननाथ–३ ‘बी’ ले भगवती युवा क्लबलाई पेनाल्टीमा ५–३ ले पराजित गर्यो। निर्धारित समयको खेल बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट लिइएको हो।
त्यस्तै, तेस्रो खेलमा जनप्रेमी युवा क्लबले आर ब्रदरलाई पेनाल्टी सुटआउटमै ५–३ ले हराउँदै अर्को चरणमा स्थान सुरक्षित गर्यो। यो खेल पनि निर्धारित समयमा गोलरहित बराबरीमा टुङ्गिएको थियो।
दोस्रो खेलमा जनसेवा ‘ए’ युवा क्लबले चन्दननाथ नगरपालिकाको टोलीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो।
दिनको अन्तिम खेलमा ‘समाजका लागि युवा क्लब’ ले रोयल कोटिला युवा क्लबलाई २–० ले हराउँदै अघिल्लो चरणमा प्रवेश गर्यो।
प्रतियोगिता संयोजक राजबहादुर खत्रीका अनुसार मंगलबारका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने चार खेलाडी ‘म्यान अफ द म्याच’ घोषित भए।
चन्दननाथ–३ ‘बी’ का इशान बुढ्थापा, जनसेवा ‘ए’ का नविन रावल, जनप्रेमीका जगदीश महत र समाजका लागि युवा क्लबका नन्दु भण्डारी ‘म्यान अफ द म्याच’ चुनिए।
प्रतियोगिताअन्तर्गत बुधबार पनि चार खेल हुने संयोजक खत्रीले जानकारी दिए।
पहिलो खेलमा सुनारटोल र जय शम्भूनाथ युवा क्लब भिड्नेछन् भने दोस्रो खेल सप्तशिला र मिलान युवा क्लबबीच हुनेछ।
तेस्रो खेलमा जनप्रेमी बी र भुर्चुला तथा चौथो खेलमा सडक युवा क्लब र फोइकालिकाबीच प्रतिस्पर्धा हुनेछ।
प्रकाशित: ४ कार्तिक २०८२ २०:२९ मंगलबार





