१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मतपत्र बाहेकका निर्वाचन सामग्री ताप्लेजुङ आईपुग्यो

निर्वाचन आयोगले पठाएका निर्वाचन सामग्रीलाई जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतदान केन्द्रमा पठाउने तयारीका लागि प्याकिङ गर्न थालेको छ ।  

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज(विपिन) दुलालका अनुसार मतदान केन्द्रमा पठाईने निर्वाचन सामाग्रीको प्याकिङ सुरु गरिएको हो । आयोगले मतपत्र बाहेक अधिकांश निर्वाचन सामग्री पठाईसकेको जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले जानकारी दिए ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार आयोगले मतपेटिका सुरक्षण सामग्री, स्ट्याम प्याड, नउड्ने मसीको मार्कर, स्ट्याम प्याडको मसी, स्वस्तिक छाप, छेकाबारा, मतदाता नामावली र निर्वाचनसँग सम्वन्धित ऐन, नियम र निर्देशिकाको प्रति पठाएको छ । आयोगले पठाएका सामग्री प्राप्त भई रुजु गर्ने र यहाँका मतदान केन्द्रमा पठाउने प्रयोजनका लागि प्याकिङ गर्ने कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  

ताप्लेजुङमा ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र रहेका छन् । आउँदो फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा यहाँ ९० हजार ३ सय २७ मतदाता कायम भएका छन् । मतपत्र भने आउँन बाँकी रहेको छ ।  

यहाँ १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

प्रकाशित: ४ फाल्गुन २०८२ १६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App