८ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

उदयपुरका आठवटै पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न, देउवा पक्ष समानान्तर तयारीमा

नेपाली कांग्रेसको १५ औं महाधिवेशन प्रक्रियाअन्तर्गत गगन थापा नेतृत्वको संस्थापन पक्षले उदयपुरका सबै आठवटै स्थानीय तहमा नेतृत्व चयन प्रक्रिया सम्पन्न गरेको छ।

केन्द्रले तोकेको कार्यतालिकाअनुसार बुधबार सुरु भएको पालिका अधिवेशन बिहीबार सकिएको हो।

जिल्ला पार्टी प्रवक्ता नवीन राईका अनुसार जिल्लाका आठमध्ये सातवटा स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ भने एउटा पालिकामा निर्वाचनमार्फत समिति गठन गरिएको छ।

बेलका नगरपालिकामा सभापतिका आकांक्षीहरूबीच सहमति नजुट्दा मतदान प्रक्रिया अपनाइएको थियो। बेलकामा भएको चुनावी प्रतिस्पर्धाबाट टंक आचार्य नगर सभापतिमा विजयी भएका छन्।

कुल २ सय २४ मतदातामध्ये १ सय ८८ मत खसेको निर्वाचनमा लभराज अधिकारी, प्रेम अधिकारी र राजेन्द्र तामाङलाई पछि पार्दै आचार्य निर्वाचित भएका हुन्।

चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरको जिल्ला सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकामा प्रकाश खड्का, कटारी नगरपालिकामा पुस्कर खड्का र चौदण्डीगढी नगरपालिकामा पर्बत दाहाल सर्वसम्मत रूपमा नगर सभापति चयन भएका छन्।

यस्तै, गाउँपालिकातर्फ उदयपुरगढीमा चन्डेश्वर श्रेष्ठ, ताप्लीमा माधव रास्कोटी, रौतामाईमा घमानसिंह मगर र लिमचुङबुङ गाउँपालिकामा हिक्मत राई सर्वसम्मत रूपमा सभापति चुनिएको प्रवक्ता राईले जानकारी दिए।

देउवा पक्षद्वारा असोज १५ देखि समानान्तर अधिवेशनको तयारी

थापा नेतृत्वको संस्थापन पक्षले पालिका तहको अधिवेशन सम्पन्न गरिसक्दा शेरबहादुर देउवा नेतृत्वको इतर समूह भने समानान्तर रूपमा नियमित महाधिवेशनको गृहकार्यमा जुटेको छ।

इतर समूहले जिल्लामा अधिवेशन सम्पन्न गर्नका लागि त्रियुगा नगरपालिकाका मेयरसमेत रहेका बसन्त बस्नेतको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ।

आगामी असोज १५ गतेदेखि वडा तहबाटै महाधिवेशन प्रक्रिया सुरु गर्ने गरी तयारी तीव्र पारिएको संयोजक बस्नेतले बताए। पार्टीका वास्तविक, निष्ठावान् र इमान्दार कार्यकर्ताहरू नियमित महाधिवेशनको पक्षमा रहेको दाबी गर्दै उनले महाधिवेशनमार्फत कांग्रेसलाई पुनर्गठन गरिने दाबी गरे।

वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्मकै अधिवेशन सम्पन्न गर्न देशभर समानान्तर संरचना बनाएर अघि बढ्ने रणनीति इतर समूहले लिएको संयोजक बस्नेतको भनाइ छ।

प्रकाशित: ८ आश्विन २०८३ २१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App