१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सप्तरी–२ मा यादव र राउतको प्रतिस्पर्धा

मधेस प्रदेशका जुनसुकै ठाउँमा एउटै प्रश्न र चर्चा सुनिन्छ– ‘सप्तरी–२ मा उपेन्द्रले जित्लान् कि सिकेले?’ जनता समाजवादी पार्टी(जसपा) को उपेन्द्र यादवले यही निर्वाचन क्षेत्रबाट पछिल्लो चुनाव जितेका छन्। स्वतन्त्र मधेसको मुद्दा विर्सजन गरेर जनमत पार्टी गठन गरेका सिके राउत यसपालि यहाँ आएका छन्।

उपेन्दले स्वास्थ्य मन्त्री हुँदा राजविराजको गजेन्द्र नारायण सिँह अस्पताललाई रेफर केन्द्रबाट सुविधासम्पन्न अस्पतालमा रुपमान्तरण गरे। उनले यस क्षेत्रमा ‘विकास’ दौडाएका छन्। अस्पतालको सेवामा सुधार गरेको विषयलाई यहाँका बासिन्दाले सकारात्मक मूल्यांकन गरेका छन्। सांसद विकास कोषको रकम पनि उनले टुक्रे योजनामा हालेनन्, एक वर्ष पूरै ६ करोड दिएर महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा इन्जिनियरिङको कार्यक्रम ल्याए, अर्को वर्ष पूरै ६ करोड ल्याएर नर्सिङ कलेज स्थापना गरे । सांसद विकास कोषको रकमले पूर्वाधार विकासमा देखिने गरी प्रभाव परेको स्थानीय बुद्धिजीबी बताउँछन्। सिके राउतले उपेन्द्रको विकासमा खराबी खोजेर जनतामा भ्रम छर्दै प्रभाव जमाउने कसरत तेज पारेका छन्।  

उपेन्द्र यादव दोस्रो पटक चुनाव लडेको सप्तरी २ मधेसका गान्धीवादी नेता गजेन्द्रनारायण सिंहको क्षेत्र हो। यसै क्षेत्रबाट नेता सिंह २०३८ (जनमत संग्रह), २०४३ (राष्ट्रिय पञ्चायत), २०४८ (संसदीय चुनाव) र २०५१ (मध्यावधी) मा लगातार चुनाव जितेका थिए। ०५६ को आम निर्वाचनमा भने सिंह नेपाली कांग्रेसका राजकुमार चौधरीसँग १७ मतले पराजित भएका थिए।

उपेन्द्र यादव जस्तोसुकै व्यक्ति भए पनि मधेसको मुद्दाप्रति इमानदार रहेको भन्दै उनले उपेन्द्रलाई गजेन्द्रनारायण सिंह जस्तै हराउनका लागि यस क्षेत्रका जनताले नचाहेको मलेठका युवा प्रदीप मेहताले बताए। मधेस र मधेसीको नामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित बनाउन उनको योगदान महत्वपूर्ण छ, उनले भने।  

सिके राउत सुरुमा मधेस अलग गर्ने भनेपछि युवाहरु उनीप्रति आकर्षित भएको थियो। यसै क्रममा राउत जेल परेपछि उनीप्रति युवा क्रेज ह्वातै बढ्यो। तर, उनी आफ्नो मूल मुद्दा सरकार समक्ष समर्पण गरेर आत्मसमर्पण गरिसकेको उनले बताए। जनमत पार्टी गठन गरेपछि सिके कहिले भ्रष्टाचारको मुद्दा, त कहिले मल, बिउको मुद्दा, त कहिले नागरिकताको मुद्दा उठाएर मधेसको सेन्टिमेन्ट बटुल्न खोजिरहेका छन्। सीके राउत र उपेन्द्र यादवको तुलना गर्न नसकिने उनले बताए। उपेन्द्र मधेसका थुप्रै माग सम्बोधन गराउन सफल भए। बाँकी मुद्दाप्रति प्रतिबद्ध छन्, उनले भने। पहिचानसहितको मधेस प्रदेश, संघीयता, आरक्षणजस्ता राजनीतिक मुद्दा स्थापित हुनुको जस उपेन्द्रजीलाई जान्छ, उनले भने।

यस क्षेत्रमा उपेन्द्रको पक्ष बलियो हुनुको अर्को कारणको जातीय आधारमा विभाजित मनोविज्ञान। यो क्षेत्रमा सबैभन्दा ठूलो जनसंख्या यादवको छ । यो जातीमा उनको बलियो पकड छ।

सप्तरी २ मा एउटा नगरपालिका र तीनवटा गाउँपालिकाहरू रहेका छन्। यो क्षेत्रमा जम्मा ३७ वटा वडा छन्। त्यहाँको स्थानीय तहको चुनावमा सबभन्दा बढी मत जसपाले प्राप्त गरेको छ भने सबभन्दा कम मत नेकपा एकीकृत समाजवादी पार्टीले प्राप्त गरेको छ। सो क्षेत्रमा १३ वटा वडामा जीतसहित जसपाले १४ हजार भन्दा बढी  मत ल्याएको छ। एकल दलीय मतले जसपा पहिलो नम्बरमा छ।

यस क्षेत्रको विपन्न समुदायका युवाबीच राउतप्रतिको अकर्षण छ। तर, मधेसका आम समुदायबीच राउतले छवि सफा बनाउन भने सकेका छैनन्। भ्रष्टाचार गरेको आरोप लगाउँदै उनका कार्यकर्ताले गत वर्ष खानेपानीका तथा सरसफाई डिभिजन कार्यालय जनकपुरका प्रमुखलाई लुगा च्यातेर जनकपुरधाम घुमाएको घटनाले मधेस लज्जीत भएको धेरैको टिप्पणी छ।

अर्कोतर्फ उनले आफ्नो पार्टीमा भित्र्याइरहेका व्यक्तिका कारण पनि छविमाथि प्रश्न गरेको छ। २०६४ को संविधानसभा निर्वाचन जितेर सांसद भएपछि रातो पासपोर्ट बेचेको अभियोग लागेका र स्थानीय पूर्वाधार निर्माणमा नक्कली उपभोक्ता समिति बनाएर भ्रष्टाचार गरेको अभियोगमा तीन वर्ष जेल बसेर भर्खरै छुटेका बीपी यादवलाई राउतले टीका लगाएर हालसालै पार्टीमा भित्र्याएका छन्।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको बजेटमध्ये अग्निसाइर कृष्णासवरण गाउँपालिका र छिन्नमस्ता गाउँपालिकाका दुई सडकको योजनामा किर्ते उपभोक्ता समिति गठन गरी भ्रष्टाचार गरेको आरोपमा बीपी ५ वैशाख २०७६ मा पक्राउ परेका थिए । किर्ते र भ्रष्टाचार मुद्दामा ३ वर्ष ६ महिना कैद र ३५ हजार जरिवाना भुक्तान गरेर गत ५ कात्तिकमा छुटेको साताभित्रै उनलाई राउतले पार्टीमा स्वागत गरेका थिए।

प्रकाशित: १ मंसिर २०७९ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App