२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘दाहाल’ को अनावश्यक महत्वाकांक्षा तथा चरम अस्थिरताका कारण बाम गठबन्धन टिक्न सकेन: भट्टराई

नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभाका एमाले उम्मेदवार योगेश भट्टराईले माओवादी नेता पुष्पकमल दाहालको अनावश्यक महत्वाकाँक्षा तथा चरम अस्थिरताका कारण बाम गठबन्धन टिक्न नसकेको बताएका छन्। तर उनले जनताको बहुदलिय जनवादको मूल सिद्धान्तको आधारमा निकट भविष्यमै माओवादीसहितका कम्युनिष्ट शक्तिहरु एमालेको नेतृत्वमा वृहत्त बाम एकतामा आएरै छाड्ने दाबी गरे।  

एमाले फुङलिङ नगर कमिटीले ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबार आयोजना गरेको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै नेता भट्टराईले भने ‘पार्टी भित्रै समस्याको हल खोज्न नसकेर पार्टी विभाजन गर्नुमा दाहाल आफैं दोषी हुन्’। पार्टी एकता किन टिकेन,सरकार निक ढल्यो यि सबै प्रश्न नेपाली समाजमा रहेपनि पार्टीभित्रका समस्या हल गर्नुको सट्टा पार्टीलाई विभाजनको तहसम्म पुर्‍याउनु राम्रो विषय नभएको भट्टराईको भनाइ थियो।  

अध्यक्ष केपी शर्मा ओली र एमाले पार्टीलाई गाली गर्ने हक दाहालमा नभएको भट्टराईले जिकिर गरे। ‘दाहाल जी हिजोमात्र हाम्रै जिल्लाको तोक्मेमा आएर भाषण गरेर फर्किनु भएछ,हाम्रो जस्तो दुर्गम जिल्लामा देशको शीर्षस्थ नेतृत्व आउनु स्वागतयोग्य कुरा हो’ भट्टराईले भने ‘तर संसद विगठनको सतही बहसको आवरणमा एमाले र हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएका नकारात्मक टिप्पणी बेकुत मात्र हुने छ’। कुनैपनि कालखण्डको संसद विगठन सुखीको कुरा नहुने स्मरण गर्दै अब कहिल्यै त्यस्तो नहोस् भन्नका लागि सुद्रिढ राष्ट्रियता अनिवार्य भएको बताए।

सार्वभौम नेपालीको शिर ठाडो पार्न,सीमाको रक्षा गर्न,मिचिएको सीमाक्षेत्र फिर्ता ल्याउन सकेमा सुद्रिढ राष्ट्रियता सम्भव हुने बताउँदै त्यो कार्य एमालेको नेतृत्वमा मात्र सम्भव हुने भएकोले मंसिर ४ गतेको निर्वाचनमार्फत जनताले एमालेलाई मत दिनुपर्ने भट्टराईको भनाइ थियो।  

गठबन्धन सरकार बनेपछि धराशायी भएको देशको अर्थतन्त्र माथि उठाउन,शान्ति र समृद्धिको प्रकट चाहना पूरा गर्न,श्रम बजारमा जाने लाखौं युवायुवतीलाई स्वामीमनलाई माथि उठाई स्वदेशमै रोजगारी सृजना गर्न,सबै जाति जनजाति सामाजिक एकतामा आवद्ध गराउँदै बलियो राष्ट्रियताको आधार तयार गर्न एमालेलाई जनताले मत दिनुपर्ने भट्टराईको भनाइ थियो।  

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तिलकुमार मेन्याङ्वो,एमालेका प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार गोपाल थोप्रा सहितका नेताहरुले सम्बोधन गरेका थिए।  

प्रकाशित: १ मंसिर २०७९ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App