७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न संयुक्त अपील

आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनले आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल,नेकपा (एकीकृत समाजवादी) का  अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका हुन्।  

'कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक–वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरू उत्साहित भएर सहभागी हुनु भएबाट गठबन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौँ। यो अभियानलाई निरन्तरता दिँदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरू एवं शुभेच्छुकहरूमा हार्दिक अपिल गर्दछौँ', अपिलमा उल्लेख छ।  

देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लङ्घन गरी दुई–दुईपटक गरेको प्रतिनिधिसभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा र्लिप्त हुँदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध विसं २०७८ असारमा गठबन्धन बनाउनुपरेको अपिलमा जनाइएको छ।

यो गठबन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएको गठबन्धनका नेताहरूले उल्लेख गरेका छन्। गठबन्धनका शीर्षनेताहरूद्वारा आज जारी अपिलमा भनिएको छ, 'झण्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गराएको छ। मुलुकको विदेश नीतिमा सन्तुलन कायम गरेको छ। नागरिकलाई सत्ताको अधिनायकवादी त्रासबाट मुक्त गर्दै दैनिक जीवनयापनका स्रोत, साधनको नियमित आपूर्ति गर्दै आएको छ।'

प्रकाशित: १ मंसिर २०७९ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App