coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गठबन्धनमा तालमेल नहुँदा उम्मेदवारहरु चिन्तित

नेका जिल्ला सभापति नै गठबन्धनको निर्देशनलाई अवज्ञा गर्दै स्वतन्त्र उम्मेदवारसित चुनावी अभियानमा।

पाँच दलीय गठबन्धनमा रहेका दलका स्थानीय नेताहरु एकापसमा नमिल्दा र एमालेको नेतृत्वको तालमेलमा रहेका दलका स्थानीय नेताहरु फरक फरक भएर हिँड्दा दुवैमा भाँडभैलो देखिएको छ। दुवैमा एकापसमा तालमेल नहुँदा उम्मेदवारहरुको चिन्ता भने बढेको छ।

सत्तापक्षीय पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध गठबन्धन भित्रकै दलको पनि उम्मेदवारी कायमै छ। रौतहटको क्षेत्र नम्बर १ मा पाँच दलीय गठबन्धनमा भने पूर्णतया तालमेल देखिएको छ। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवारहरु कृष्णप्रसाद यादव र नागेन्द्र साह निरन्तर चुनावी अभियानमा सक्रिय छन्। तर जसपा–एमाले तालमेलका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारबीच तालमेल मिलेको छैन। प्रतिनिधिसभा उम्मेदवार एमालेका अजय गुप्तासँग प्रदेशसभा उम्मेदवार जसपाका योगेन्द्र यादव चुनावी अभियानमा घुमेका छैनन्।

रौतहट क्षेत्र नम्बर २ मा सत्ता पक्षीय गठबन्धनबाट नेकाका डा. फिर्दोस आलमसँग प्रदेशसभामा गठबन्धनबाट लोसपाका शेख जमशैद र माओवादी केन्द्रबाट अशोक जयसवाल उम्मेदवार छन्। तिनै जना एक साथ चुनावी अभियानमा सक्रिय रहे पनि नेकाबाटै निर्वाचित पूर्व प्रदेशसभा सदस्य नागेन्द्र सिन्हा भने विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका छन्। सोही क्षेत्रमा नेकपा एसले पनि कनिश पटेललाई उम्मेदवार बनाएको कारण प्रदेशसभाको चुनावको लागि गठबन्धनमा किँचलो देखिएको छ। जसपा–एमाले गठबन्धनबाट प्रतिनिधिसभाका लागि जसपाका शैलेन्द्र साह उम्मेदवार रहेका छन् भने प्रदेशसभामा एमालेका जैद राजा र पूर्व सभा सदस्य जसपाका रामकिशोर यादव उम्मेदवार छन्। पहिलेदेखि एमाले उम्मेदवारको रुपमा चर्चामा रहेका किरण साहले अन्तिम समयमा टिकट नपाएर स्वतन्त्र उम्मेदवार बनेपछि भाँडभैलो मच्चिएको छ।  

रौतहटको क्षेत्र नम्बर ३ मा चरम भाँडभैलो देखिएको छ। पार्टीको निर्देशन नमान्नेदेखि लिएर यस क्षेत्रमा गठबन्धनको उम्मेदवारलाई नै निष्काशित गर्ने कामसम्म भएको छ। सत्ता पक्षीय गठबन्धनको तर्फबाट नेकपा माओवादीको भागमा परेको प्रतिनिधिसभा सदस्यको लागि धीरज पटेललाई उम्मेदवार बनाएको थियो तर प्रभु साहले स्वतन्त्र मनोनयन दर्ता गराएपछि माओवादीले समर्थन गरेको थियो। केन्द्रीय गठबन्धनले स्वतन्त्र उम्मेदवार साहलाई समर्थन गरे पनि माओवादी उम्मेदवार पटेलले भने आफ्नो उम्मेदवारी कायमै रहेको बताउँदै आफ्नो प्रचार गरिरहेका छन्। माओवादी केन्द्रले भने उम्मेदवार पटेलसहित केन्द्रीय सदस्य विन्देश्वर यादवलाई पार्टीबाट निष्काशित गरे पनि पटेल चुनाव प्रचारमा सक्रिय रहेका छन्।  

स्वतन्त्र उम्मेदवार साहलाई नेपाली काँग्रेस र नेकपा एसका स्थानीय नेता तथा कार्यकर्ताहरुले पनि आफ्नो उम्मेदवार मानिरहेका छैनन्। नेपाली काँग्रेस र नेकपा एसका स्थानीय नेता तथा कार्यकर्ताहरु प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका नेकाकै ओमप्रकाश जयसवालको प्रचारमा रहेका छन्। प्रदेशसभाका लागि नेकाको उम्मेदवार जितेन्द्र यादव र नेकपा एसका उम्मेदवार नागेन्द्र राय यादव नेकाबाटै स्वतन्त्र उम्मेदवार बनेका जयसवालको लागि सक्रिय रहेका छन्।

जसपा–एमाले गठबन्धनबाट क्षेत्र नम्बर ३ प्रतिनिधिसभा उम्मेदवारविहीन बनेको छ। प्रभु साहले एमालेबाट उम्मेदवारी नदिई स्वतन्त्र बनेपछि जसपा–एमाले उम्मेदवारविहीन क्षेत्र बन्न पुगेको हो। तर प्रदेशसभामा भने जसपाकी पूजा चौधरी उम्मेदवार बनेकी छन्।  

रौतहट क्षेत्र नम्बर ४ मा पनि सत्ता पक्षीय गठबन्धनमा किँचलो देखिएको छ। प्रतिनिधिसभाका लागि नेकाबाट साँसद देवप्रसाद तिमल्सिना उम्मेदवार छन् भने प्रदेशसभामा नेकपा माओवादीका समीर भट्टराई र नेकपा एसका शेख सतार उम्मेदवार भए पनि समीर भट्टराईसँगै नेकपा एसका बालकृष्ण श्रेष्ठले पनि उम्मेदवारी दिएका छन्। गठबन्धनकै दुई दलबाट दुई जना उम्मेदवार भएपछि दुवै उम्मेदवारलाई भोट माग्न अप्ठ्यारो परेको छ।

यसै गरी २०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट प्रदेशसभामा उम्मेदवार रहेका रामाज्ञा राय यादवका छोरा उम्मेदवार बनेपछि नेपाली काँग्रेसका अधिकांश कार्यकर्ताको झुकाव यादवसितै देखिएको छ।  

जसपा–एमाले गठबन्धनबाट एमालेका उद्धव रेग्मी प्रतिनिधिसभाका उम्मेदवार छन् भने प्रदेशसभाका एमालेकै अखिलेश चौधरी र जसपाका शेख अबुल कलाम आजाद उम्मेदवार रहेका छन्। गठबन्धनका उम्मेदवारहरुबीच नै तालमेल नहुँदा स्थानीय नेता तथा कार्यकर्ताहरु रनभुल्लमा परेका छन्।  

प्रकाशित: २८ कार्तिक २०७९ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App