१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनावी एजेन्डा बन्यो साँंगाको झोलुंगे पुल

भक्तपुरको साँंगामा बनेको एउटा झोलुंगे पुल चुनावको एजेन्डा बनेको छ। विकासको नाममा अनावश्यक ठाउँंमा एक करोड बढी लागतमा पुल बनाइएपछि चुनावसँगै आलोचना वढेको हाे। अहिले झोलुंगे पुल तर्न टिकट लिन थालेपछि यो मुद्धा थप पेचिलो बन्दै गइरहेको छ। खोला नभएको, मानिस आवतजावत गर्नु नपर्ने अनावश्यक ठाउँंमा सडकको माथि पुल रहेको छ।

 नेकपा एमाले नेता महेश वस्नेतले सरकारलाई बजेट निकासा गर्न लगाएर पुल बनेको थियो। नेपाल सरकारको बजेटबाट पुल रहेको सूर्यविनायक नगरपालिकाले पुल बनाएको थियो। यसकारण अहिले चुनावमा यसलाई एजेन्डा बनाई विकासको नाममा राज्यको पैसा खर्च गराउनु भ्रष्टाचार भन्दै एमालेविरुद्ध प्रहार गर्ने क्रम वढेको हो। विकासको नाममा अनावश्यक खर्च गरिएको भन्दै विशेष गरेर एमालेका विपक्षी उम्मेदबार, समर्थक, कार्यकर्ता तथा अन्य केही स्वतन्त्र व्यक्तिहरुबाट पनि आलोचना हुने क्रम चालू छ।  

तल सडक पनि देखिने गरी पुलको फोटो राखेर एकजनाले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्, ‘यसलाई बिकास भन्नेहरु पनि होलान् तर मेरो देशमा यस्तो झोलुगे पुलको आवश्यकता भएको ठाउँ धेरै छन्। किन बन्यो साँगाको झोलुङ्गे पुल मैले बुझ्नै सकिन। वरू भक्तपुरबासीकोतर्फबाट दुर्गम गाउँमा हालिदिएको भए, जसले बनायो उहाँलाई म नमन गर्ने थिए।’ एवं रितले फेसबुकमै धेरैले अनावश्यक ठाउँंमा पुल बनेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठदै आएका छन्।  

धेरै आलोचनासँंगै चुनावमा असर पर्ने देखिन थालेपछि नेकपा एमाले सूर्यविनाक नगर अध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुका वडा अध्यक्ष रवीन्द्र सापकोटाले सूर्यविनायक नगरपालिका वडा नं ९÷१० मा निर्मित झोलङ्गे पुलकावारेमा टीकाटिप्पणी देखियो भन्दै स्पष्टीकरण लेखेका छन्। उनले लेखेका छन्, सूर्यबिनायक नगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले नेपाल सरकारसंगको समन्वयमा आ व २०७६÷७७ मा डि पि आर गरी करिव २६७ मिटर लामो झुलेङ्गे पुल निर्माण गरिएको हो। जहावाट अग्लो शिव महादेव मन्दिर जान सहज हुनेछ। बिकाशमा अवधारणा नबुझ्नेहरुले निर्माण चरणमा नै अनेकौं टीका टिप्पणी गरेका थिए। यद्यपि पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले निर्माण गरिएको प्रस्टीकरणसंगै टीकाटिप्पणी बन्द भएका थिए। अहिल निर्वाचनको पूर्व सन्ध्यामा केही जनसमुदायलाई भ्रममा पार्न सकिन्छ भनेर यो बिषय उठान गरेका छन्।  

नेता महेश वस्नेतको यो क्षेत्रमा कांग्रेससहित अर्काे शक्तिको रुपमा रहेको नेपाल मजदुर किसान पार्टीले विकासको नाममा अनावश्यक ठाउँंमा पैसा खर्च गर्न लगाएर एकप्रकारको भ्रष्टाचार गराउनेमाथि कारबाही हुनुपर्ने माग राख्दै आएको छ। शनिबार भएको एउटा चुनावी सभामा उक्त पार्टीबाट सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका उम्मेदबार अनुराधा थापामगरले भनिन्, ‘सडकको माथि झोंलुगे पुल बनाउन लगाएर राज्यको करौडौ रुपैयाँं खेर पठाउन लगाउनु पनि भ्रष्टाचार नै हो। सडकको माथि यसरी पुल बनाउनु अन्तर्राष्टिय मापदण्डविरुपरित पनि छ।’  

प्रकाशित: २६ कार्तिक २०७९ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App