७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

निष्पक्ष र तटस्थ बनेर निर्वाचन सम्पन्न गर्न ताप्लेजुङका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन

मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन व्यवस्थापन समिति ताप्लेजुङका पदाधिकारीले निष्पक्ष र तटस्थ बनेर निर्वाचनका कार्यक्रम सम्पन्न गर्न मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्देशन दिएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको पहिलो चरणको तालिम सुरु गर्दै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस निर्मला योङ्याले अबको जिम्मेवारी निष्पक्ष बनेर निर्वाह गर्नुपर्ने बताइन्।‘निष्पक्ष र तटस्थ बनेर बीना विवाद निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी अब तपाँईको हो’ मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृत योङ्याले भनिन् ‘आग्रह र पूर्वाग्रहलाई त्यागेर कुनै पनि हिसावले निर्वाचनलाई निष्पक्ष रुपले सम्पन्न गर्नु तपाँईको जिम्मेवारी र कर्तव्य हो’।  

शुक्रबार मात्र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले आफु जसरी पनि जित्नु पर्छ भन्ने सोच राख्ने गरेका कारण फर्जी मत खस्न सक्ने जोखिम भएकोले त्यसतर्फ ध्यान दिन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्देशन दिएका थिए।  

जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले निर्वाचनका कार्यक्रमलाई तटस्थ भूमिकाका साथ सभ्य,व्यवस्थित,निष्पक्ष निर्वाचन गराउने दायित्व मतदान अधिकृत र सहायक मतदान अधिकृतको हुने भएकोले त्यो जिम्मेवारीबाट बिमुख नहुन निर्देशन दिए।  

मतदान अधिकृत र सहायक मतदान अधिकृतले आ–आफ्नो टोलीलाई निष्पक्ष भूमिका निर्वाह गरी निर्वाचन सभ्य र व्यवस्थित बनाउन भूमिका निर्वाह गर्नुपर्ने प्रजिअ पोखरेलको भनाइ थियो। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले हिजो कुनै कार्यालयको कर्मचारीको रुपमा रहेपनि निर्वाचनमा खटिने टोली अब निर्वाचन आयोगका कर्मचारीको रुपमा रहने भएकोले निश्पक्ष निर्वाचनको मर्म अनुरुप र आग्रह र पूवाग्रह भन्दा माथि उठेर कर्तव्य पूरा गर्न दृढ अठोटका साथ लाग्नुपर्ने बताए।  

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार शनिबार पहिलो चरणमा र सोमबार दोस्रो चरणको अनुशिक्षण सञ्चालन गरिने छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि दुईचरणमा तालिम सञ्चालन गर्ने भएको छ।  

शनिबार फक्ताङ्लुङ गाउँपालिका,मिक्वाखोला गाउँपालिका,सिदिङ्वा गाउँपालिकाका सबै मतदान केन्द्र तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ सिकैचाका मतदान केन्द्र बाहेक अरु सबै ७ वटै वडाका मतदान केन्द्र र पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षण दिइने छ।  

यस्तै कात्तिक २८ गते सोेमबार फुङलिङ नगरपालिका,मेरिङदेन गाउँपालिका,मैवाखोला गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाका सबै मतदान केन्द्र, सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाका मतदान केन्द्र पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनका मतदान केन्द्र बाहेक अरु ५ वटा वडाका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अनुशिक्षण सञ्चालन गरिने भएको छ। प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि ताप्लेजुङमा ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्। यहाँ ८८ हजार २ सय ८५ मतदाता रहेका छन्।  

प्रकाशित: २६ कार्तिक २०७९ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App