२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रभावशाली नेता नै ‘अप्ठेरो’मा

प्रदेश १ का १४ जिल्लाअन्तर्गत पर्ने २८ निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिमा प्रभाव र चर्चामा रहेका दर्जन बढी उम्मेदवार बनेका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओलीदेखि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनाल, एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला, शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, एमाले सचिव योगेश भट्टराई मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाटै प्रतिस्पर्धामा छन्। कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का साथै राष्ट्रिय जनमोर्चा (राजमो) समेटेर बनेको गठबन्धन निर्वाचन प्रतिस्पर्धामा उत्रिएको छ। एमाले पनि जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलहरूसँगको तालमेलसहित प्रतिस्पर्धामा छ। उनीहरूलाई नयाँ राजनीतिक दल र स्वतन्त्रले चुनौती दिँदै आएका छन्। त्यसले निर्वाचन परिणामको पूर्वानुमानमा थप अन्योल बढाएको छ।

यही सन्दर्भमा प्रस्तुत आलेखमा २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका साथै २०७४ को आम निर्वाचनमा तत्कालीन ६ राजनीतिक दलले समानुपातिकतर्फ पाएको मतलाई विश्लेषणको आधार बनाइएको छ। २०७४ को निर्वाचनमा प्रतिस्पर्धा गरेको कांग्रेसबाहेक अन्य दलमा गठन, विघटन र विभाजन आएका छन् । स्थानीय तहको निर्वाचनमा सबै दलले सबै वडामा उम्मेदवार उठाएनन्। त्यसले मतभारमा केही फरक पर्ने देखिए पनि अपवादबाहेक प्रमुख दलहरूले २०७४ र २०७९ मा पाएको मतमा धेरै फरक भने देखिँदैन। ती दुई निर्वाचनको परिणामलाई हेर्ने हो भने कांग्रेस नेतृत्वको गठबन्धन प्रदेश १ मा हाबी देखिन्छ। स्थानीय निर्वाचनको परिणामलाई आधार बनाउँदा प्रदेश १ मा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन १६ क्षेत्रमा अघि छ भने विपक्षी गठबन्धन १२ निर्वाचन क्षेत्रमा अघि देखिन्छ।

यद्यपि विपक्षी गठबन्धनमा राखेर हेरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २८ मध्ये २५ क्षेत्रमा अलग्गै उम्मेदवारी दिएको छ। त्यसले विपक्षी गठबन्धनको मतलाई अझ कमजोर बनाउनेछ। मोरङ ४ सहितका केही क्षेत्रमा सत्ता पक्ष र विपक्षी गठबन्धनबीच केही सय मत मात्र अन्तर देखिन्छ। यद्यपि दुई गठबन्धनको नेतृत्व गरेको कांग्रेस र एमालेले स्थानीय चुनावमा पाएको मतलाई मात्र हेर्ने भने एमाले २१ क्षेत्रमा कांग्रेसभन्दा अघि छ। कांग्रेस सात क्षेत्रमा मात्र अघि देखिन्छ।  

२०७४ सालको समानुपातिकको मात्र मतलाई हेर्दा पनि प्रदेश १ मा सत्ता गठबन्धन अघि देखिन्छ। विपक्षी गठबन्धन ११ स्थानमा अघि देखिन्छ भने बाँकी रहेको १७ क्षेत्रमा कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिन्छ। गठबन्धनमा रहेकामध्ये कांग्रेस, माओवादी केन्द्र र तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले पाएको मतलाई हेरिएको छ भने विपक्षी गठबन्धनमा एमाले, राप्रपाका साथै संघीय समाजवादी फोरम नेपालको मतलाई लिइएको छ। त्यसमा पनि राप्रपाले अधिकांश क्षेत्रमा उम्मेदवारी दिएका कारण विपक्षी गठबन्धनको मतान्तर र क्षेत्र पनि कम हुन आउँछ। अघिल्लो आम निर्वाचनमा प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये एमालेले १९ क्षेत्रमा र कांग्रेसले ११ क्षेत्रमा सबैभन्दा धेरै मत पाएको थियो।  

त्यस प्रदेशमा राष्ट्रिय राजनीतिमा आआफ्नो प्रभाव र प्रभुत्व जमाए पनि आफ्नै निर्वाचन क्षेत्रमा जनविश्वास बटुल्न नसक्दा पार्टीको उपल्लो तहका नेताहरूलाई नै आगामी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सकस देखिएको छ। आफ्नै पार्टी र गठबन्धनका दलहरूबीच सहमति जुटाउन नसक्दा प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरू अप्ठेरोमा पर्दै आएका छन्। एमालेका ओली, नेकपा एसका खनाल, एमाले उपाध्यक्ष नेम्वाङ, कांग्रेस नेताहरू सिटौला, कोइराला, महामन्त्री शर्मा, सहमहामन्त्री आङ्देम्बे, एमाले सचिव भट्टराई मात्र होइन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका नेता अशोक राईदेखि बहालवाला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका साथै पटकपटक मन्त्री र पार्टी पदाधिकारीको जिम्मेवारीमा रहेका नेताहरू चुनावी मैदानमा छन्।  

कतिपय नेताहरूविरुद्ध विद्रोही कायमै रहँदा उनीहरू थप समस्यामा परेका छन् भने प्रदेशसभातर्फको विवादले पनि झन्झट थपिदिएको छ। प्रदेश १ मा मुख्यतः कांग्रेस र एमाले नेतृत्वको दुई गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ। केही क्षेत्रमा पार्टी र गठबन्धनको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै मैदान उत्रिएका विद्रोहीले आधिकारिक उम्मेदवारलाई चुनौती बढाइदिएको छ। कतिपय क्षेत्रमा पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन हुन नसक्दा उम्मेदवारहरू फितलो साबित हुँदै गएका छन्।  

आफ्नो जितलाई सुनिश्चित गर्न एमाले अध्यक्ष ओलीले राप्रपासँग गरेको चुनावी तालमेललाई उनकै गृह जिल्ला झापामा पार्टीका नेता तथा कार्यकर्ताले सहज मानेका छैनन्। राप्रपा, जसपासहितका दलहरूको समर्थनमा झापा ५ बाट उम्मेदवारी दिएका ओलीलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न त्यति कठिन हुने देखिन्न। अघिल्ला निर्वाचनलाई आधार बनाउँदा पनि कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार बनेका खगेन्द्र अधिकारीलाई ओली धेरै नै भारी हुने देखिन्छ। त्यसमा पनि राप्रपाको समर्थनले ओलीका लागि परिणाम आफ्नो पक्षमा पार्न कठिन नभएको आकलन गरिएको छ। तर एमालेको बलमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने तयारीमा रहेका राप्रपा अध्यक्ष लिङ्देनका लागि भने अवस्था सहज छैन।  

कांग्रेस नेता सिटौलासँग झापा ३ बाट चुनावी प्रतिस्पर्धामा रहेका लिङ्देनविरुद्ध एमाले नेता तथा व्यवसायी दुर्गा प्रसाईंसहितका केही नेता तथा कार्यकर्ता खडा भएका छन्। हल्दिबारी गाउँपालिकामा एमालेबाट निर्वाचित निवर्तमान उपाध्यक्ष डम्बरबहादुर गिरीले विद्रोही उम्मेदवारी दिएका छन्। गिरीको उम्मेदवारीले एमाले र राप्रपाबीच झापामा मात्र होइन, अन्यत्रको चुनावी तालमेलमा पनि असर पार्ने आकलन गर्न थालिएको छ। लिङ्देनको पक्षमा एमालेको मत नजाने अवस्थामा झापाका अन्य क्षेत्रमा पनि राप्रपाको भोट नखस्ने अवस्था आयो भने त्यहाँको चुनावी परिणाम अलग हुन सक्ने आकलन छ। झापा ४ मै एमालेबाट खुस्बु ओलीले विद्रोही उम्मेदवारी दिएकी छन्। त्यहाँ गठबन्धनबाट देउकुमार थेबे र विपक्षी गठबन्धनबाट एलपी साँवा उम्मेदवार छन्। झापा २ मा गठबन्धनका तर्फबाट माओवादीका हरि रानामगरविरुद्ध कांग्रेसका कुमार भट्टराईले उम्मेदवारी दिएपछि जोखिम थप बढेको छ। त्यहाँ विपक्षी गठबन्धनबाट देवराज घिमिरे प्रतिस्पर्धामा छन्। झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र अग्नि खरेल चुनावी प्रतिस्पर्धामा छन्।  

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका नेता खनालविरुद्ध कांग्रेस नेता विक्रम पाण्डे मैदानमा खडा भएका छन्। इलाम १ बाट चुनावी प्रतिस्पर्धामा रहेका खनालसँग एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत प्रतिस्पर्धामा छन्। विपक्षी गठबन्धनको बलमा इलाम २ मा एमाले उपाध्यक्ष नेम्वाङ उम्मेदवार छन् भने सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काले चुनौती दिएका छन्।  

त्यस्तै ६ निर्वाचन क्षेत्र रहेको मोरङ ४ मा गठबन्धनका तर्फबाट माओवादीका अमनलाल मोदीले टिकट पाए पनि कांग्रेसका नवीन खवासले बागी उम्मेदवारी दिएका छन्। त्यहाँ विपक्षी गठबन्धनबाट विनोद ढकाल प्रतिस्पर्धामा छन्। मोरङ ५ मा माओवादी नेता शिव मण्डलविरुद्ध कांग्रेसकै मोहम्मद रेजा हुसेनले बागी उम्मेदवारी दिएका छन्। त्यहाँ विपक्षी गठबन्धनबाट जसपाका राजकुमार यादव प्रतिस्पर्धामा छन्। त्यसको प्रभाव प्रदेशका क्षेत्रहरूमा पनि देखिएको छ। मोरङ ३ मा राप्रपाबाट नायिका रेखा थापाको उम्मेदवारीले कांग्रेस नेतृत्व गठबन्धन उम्मेदवार सुनिल शर्मा अप्ठेरोमा परेका छन् भने एमाले गठबन्धनका भानुभक्त ढकालका लागि पनि चुनौती बढाइदिएको छ।  

मोरङ २ मा निर्वतमान सांसद मीनेन्द्र रिजाल चुनावी अभियानमा सहभागी नहुँदा सुजाता कोइराला समस्यामा छिन्। जसले गर्दा अहिलेसम्म सुजाताले चुनावी माहोल बनाउन सकेकी छैनन्। त्यहाँ विपक्षी गठबन्धनबाट एमाले नेता ऋषिकेश पोखरेल छन्। मोरङ ६ बाट कांग्रेस प्रभावशाली नेता शेखर कोइराला प्रतिस्पर्धामा छन्। पार्टीभित्रको आन्तरिक किचलो व्यवस्थापनले उनलाई केही सहज बनेको आकलन छ। त्यहाँ एमालेबाट लालबाबु पण्डित प्रतिस्पर्धामा छन्।

सुनसरी १ मा तालमेल हुँदा जसपाका अशोक राईलाई एमाले नेतृत्वको गठबन्धनले उम्मेदवार बनाएको छ। तर त्यसप्रति असन्तुष्ट एमालेका मनोज मेन्याङ्बोले बागी उम्मेदवारी दिएका छन्। धरानका पूर्वमेयरसमेत रहेका मनोजले दुवै गठबन्धनका उम्मेदवारलाई चुनौती दिइरहेका छन्। सत्ता गठबन्धनले त्यहाँ माओवादीका मुक्साम हांगो सुब्बालाई उम्मेदवार बनाएको छ। सुनसरी ३ मा कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारका लागि अवस्था सहज छैन। त्यहाँ विपक्षी गठबन्धनबाट भगवती चौधरी उम्मेदवार छिन्। सुनसरी ४ बाट २०७४ को निर्वाचनमा जित निकालेका सञ्चारमन्त्री कार्कीका लागि अघिल्लो निर्वाचनजस्तो सहज नभएको आकलन गरिएको छ। त्यहाँ विपक्षी गठबन्धनबाट एमालेका जगदीशप्रसाद कुसियत उम्मेदवार छन्। सुनसरी २ मा कांग्रेसका सीताराम मेहता र एमालेका भीमप्रसाद आचार्य उम्मेदवार छन्।  

त्यसैगरी धनकुटामा कांग्रेस पूर्वसहमहामन्त्री सुनिल थापालाई राजेन्द्र कुमार राई, पाँचथरमा कांग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेलाई एमालेका वसन्त नेम्वाङ, ताप्लेजुङमा एमाले सचिव भट्टराईलाई माओवादीका खेलप्रसाद बुढाक्षेत्रीले चुनौती दिइरहेका छन्। सोलुखुम्बुमा कांग्रेस नेता बलबहादुर केसी पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसक्दा अप्ठेरोमा पर्ने देखिएको छ। त्यहाँ विपक्षी गठबन्धनबाट मानवीर राई छन्। उदयपुर २ बाट उम्मेदवार बनेका नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाविरुद्ध कांग्रेसका पूर्वक्षेत्रीय सभापति रामकुमार राईको उम्मेदवारीले चुनौती बढाएको छ। उदयपुर १ बाट उम्मेदवार बनेका परराष्ट्रमन्त्री नारायण खड्काका लागि पनि अवस्था अनुकूल नभएको स्थानीय बुझाइ छ। त्यहाँ विपक्षी गठबन्धनबाट क्रमशः अम्बरबहादुर रायमाझी र मन्जुकुमारी चौधरी उम्मेदवार छन्। तेह्रथुममा कांग्रेस नेत्री सीता गुरुङविरुद्ध एमालेका विजय सुब्बा मैदानमा उत्रिएका छन् भने ओखलढुंगामा रामहरि खतिवडाविरुद्ध यज्ञराज सुनुवार उम्मेदवार छन्।

प्रकाशित: २५ कार्तिक २०७९ ०१:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App