२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उदयपुरमा मतदान केन्द्रमा खट्ने कर्मचारीलाई तालिम दिन सुरु

कटारीस्थित २ नं. निर्वाचन अधिकृतको कार्यालय। तस्विरः महेश्वर

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा खट्ने कर्मचारीलाई बिहीबारदेखि उदयपुरमा तालिम दिन सुरु गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले अघिल्लो दिन जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा खट्ने कर्मचारीको टुंगो लगाएसँगै तालिम दिन सुरु गरेको हो।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत धनबहादुर कार्कीका अनुसार २ नं. क्षेत्रमा खट्ने मतदान अधिकृत र सहायक अधिकृतलाई बिहीबार कटारीमा १ दिने तालिम सम्पन्न भएको छ। शुक्रबार १ नं. क्षेत्रमा खट्ने अधिकृत र सहायक अधिकृतलाई तालिम दिने कार्यक्रम रहेको उनले बताए। ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीयतह रहेको उदयपुरका मतदान केन्द्रमा खट्न प्रत्येक केन्द्रमा ८ जना कर्मचारी परिचालन गरिने छ। जसमा मतदान अधिकृत र सहायक अधिकृत १–१ तथा बाँकी सहायक कर्मचारी र कार्यालय सहयोगी हुने छन्।  

उदयपुरका २ वटा प्रतिनिधिसभा र ४ प्रदेशसभाका लागि जम्मा २ हजार १२ कर्मचारी खटाइने छ। निर्वाचन क्षेत्र १ मा १ सय ५३ मतदान केन्द्र कायम गरिएको छ। जसमा १ हजार २ सय २४ जना कर्मचारी खटाउने टुंगो लागेको छ। त्यस्तै २ नं. का १ सय ११ वटा केन्द्रमा ८ सय ८८ जना कर्मचारी परिचालन गर्ने तयारी भएको कार्कीले बताए।  

सुरक्षाकर्मी भने कति खटाउने भन्ने यकिन भइसकेको छैन। सामान्य अवस्थाका मतदान केन्द्रमा सहायक प्रहरी निरीक्षक (असई) नेतृत्वमा ३ जना जनपथ प्रहरी र ५ जना म्यादी प्रहरी परिचालन गर्ने नीति रहे पनि संवेदनसिल केन्द्रमा त्यो भन्दा बढी सुरक्षाकर्मी खटाउनुपर्ने प्रावधान छ। जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले अहिले सामान्य र संवेदनशिल मतदान केन्द्रको टुंगो लागिनसकेका कारण सुरक्षाकर्मी कति खटाउनुपर्ने भन्ने यकिन नभइसकेको बताए।  

उदयपुरमा नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपासहित ४ राजनीतिक दलले चुनाव बहिस्कारको घोषणा गरेका छन्। बिप्लब नेकपासँगै विश्वभक्त दुलाल (आहुति) नेतृत्वको नेपाल कम्युनिष्ट वैज्ञानिक समाजबादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र हिमालसिंह राई नेतृत्वको माओवादी मजदुर पार्टी चुनाव बहिस्कारको अभियानमा छन्।  

चुनाव बहिस्कार गर्ने दलहरुमध्ये माओवादी मजदुर पार्टीका महासचिव राई ३ दिनअघि पक्राउ परी छुटेका छन्। बजारमा चुनाव घोषणाको प्रचार प्रसार गरेको पाइएपछि मंगलबार विहान गाईघाटस्थित आफ्नै निबासबाट पक्राउ परेका राईलाई २४ घण्टा हिरासतमा राखेर प्रहरीले छाडेको छ। राईलाई चुनाव बिथोल्ने कुनै पनि गतिबिधि नगर्ने शर्तमा सही गराएर छाडेको जिल्ला प्रहरी कार्यालयले अन्य बहिस्कारकर्ता दलका नेता कार्यकर्ताको पनि खोजी गरिरहेको जनाएको छ।  

प्रकाशित: २४ कार्तिक २०७९ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App