५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

उदयपुरका ६२ कैदीबन्दीले मतदान गर्न पाउने

आसन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावमा उदयपुरका ५ दर्जन बढी कैदीबन्दीेले मतदान गर्न पाउने भएका छन्।जिल्ला कारागार शाखा उदयपुरमा सजाय भुक्तानरत कैदीबन्दीमध्ये ६२ लाई मताधिकार रहेको हो।  

कारागार शाखा प्रमुख (जेलर) डिगम कार्कीले मतदाता नामावलीमा नाम दर्ता रहेका कैदीबन्दीलाई मताधिकार दिइएको बताए। उनका अनुसार कैदीबन्दीलाई समानुपातिकतर्फ मात्र मताधिकार हुनेछ भने प्रत्यक्षतर्फ मतदानको अधिकार हुने छैन। कैदीबन्दीलाई मतदान गर्नका लागि कारागार परिसरमै मतदान केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ।  

उदयपुर कारागारमा विभिन्न अपराध कर्ममा संलग्न भएर दोषी ठहरिएका र आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट पुर्पक्षका लागि थुनामा रहेका कैदी र बन्दीको संख्या २ सय ३० जना रहेको छ। जसमध्ये महिला कैदीबन्दीको संख्या ९ जना रहेको जेलर कार्कीले बताए।  

कैदीबन्दीबाहेक मतदान केन्द्रमा खट्ने अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगीदेखि सुरक्षातर्फ खट्ने प्रहरी र म्यादी प्रहरीसमेतलाई समानुपातिकतर्फ मताधिकार रहेको छ। उनीहरु जुन जुन केन्द्रमा खट्छन्, त्यहीँ त्यहीँ मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगको गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत धनबहादुर कार्कीले बताए।  

जस अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा खट्ने २ हजार १२ कर्मचारीले समानुपातिकमा मतदान गर्नेछन्। उदयपुरको निर्वाचन क्षेत्र १ मा १ सय ५३ मतदान केन्द्रमा ८ जनाका दरले १ हजार २ सय २४ र २ नं. मा १ सय ११ केन्द्रमा ८ सय ८८ जना कर्मचारी परिचालन गरिएको कार्कीले बताए।  

सुरक्षाकर्मीतर्फ भने कतिले मतदान गर्न पाउने भन्ने अहिले नै यकिन संख्या तय भएको छैन। सामान्य अवस्थाका मतदान केन्द्रमा ३ जना प्रहरी र ५ जना म्यादी परिरचालन गर्ने नीति रहेको प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए। उनका अनुसार सुरक्षा संवेदनसिलता भएका केन्द्रमा भने त्यसभन्दा केही बढीदेखि दोब्बरसम्म सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भएकाले मतदान गर्नेको संख्या अहिले टुंगो लागिसकेको छैन।  

प्रकाशित: २४ कार्तिक २०७९ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App