८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

गाउँमा लालपुर्जा र बाटो दिनेलाई भोट

जब चुनाव आउँछ, बाँकेको बैजनाथ गाउँपालिका वडा नं २ नौबस्ता (पितमारी) गाउँका हरिबहादुर सुनारलाई सधैं एउटै कुराले पिरोल्छ। जुम्लाको सिँजाबाट २०५३ सालमा बसाइँ सरेर पितमारी गाउँमा झरेका उनको परिवार विगत २६ वर्षदेखि ऐलानी जमिनमा बस्दै आएको छ।

करिब डेढ कट्ठा ऐलानी जमिनमा उनको सानो घर छ। जब चुनाव आउँछ, नेताहरू गाउँमा आएर लालपुर्जा दिने अनेक सपना बाँड्छन्। चुनाव जितेपछि भने गाउँमा फर्कंदैनन्। २०६४ सालदेखि मतदान गर्न थालेका सुनार पटक–पटक आफूहरूले धोका मात्रै पाएको बताउँछन्। ‘अहिलेसम्म कोही पनि नेताले हाम्रा काम गरेनन्’, उनले नागरिकसँग भने, ‘चुनावको मुखमा कुरा ठिक्क पार्छन्, जितेर गएपछि यो ठाउँमा कहिल्यै फर्किदैनन्।’

कोही पनि नेताले आफूहरूलाई विश्वास दिलाउन नसकेको सुनारको गुनासो छ। जनताका अमूल्य मतले चुनाव जित्ने गरेका नेताले जनताका गाँस र बाससम्बन्धी समस्यामा चासो नदेखाउँदा दुःख लागेको बताए। पितमारीकै भीमबहादुर खत्री आसन्न चुनावबाट त्यति उत्साहित छैनन्। २०५३ मा दैलेखबाट पितमारीमा बसाइँ सरेर आएका उनले घर खर्च चलाउन सानो पसल गरेका छन्।

वृद्धवस्थामा आइपुग्दा घर र बासको ठेगान नहुँदा उनको मन चिन्तित हुन्छ। हरेक चुनावमा नेताले गरेका बाचा अहिलेसम्म पूरा नभएकोमा उनी आक्रोशित छन्। ‘हरेक चुनावमा हामीलाई लालपुर्जा दिने आश्वासन बाँड्ने नेताको अब त विश्वास नै लाग्न छाडिसक्यो। कि त गर्न नसक्ने काममा आश्वासन दिनु हुँदैनथ्यो’, उनले भने, ‘उधारो आश्वासन बाँड्ने नेताको अब जनताले विश्वास मान्न छाडिसकेका छन्।’

यसपटकको निर्वाचनमा भोट माग्न आउने नेताले लालपुर्जा दिने आश्वासन दिएको खत्रीले सुनाए। ‘जति जोगी आए पनि कानै चिरेका’, उनले उखान सुनाउँदै भने, ‘हामजनताले यिनीहरूको कसरी विश्वास गर्नु ?’ चुनाव जितेर जाने नेताले जग्गाधनी पुर्जाको व्यवस्था, सिँचाइ र बाटो राम्रो बनाइदिए आफूहरू खुसी हुने बताए।

नौैबस्ताको पितमारी विविधताले भरिएको गाउँ हो। यहाँ पहाडी जिल्ला जुम्ला, हुम्ला, कालिकोट, मुगु, दैलेख, सुर्खेत, जाजरकोट, डोल्पालगायत जिल्लाबाट बसाइँ सरेर आएका छन्।

२०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका कृष्णसिंह परियार निर्वाचित भएका थिए। यस्तै २०५१ मा राप्रपाका फत्तेसिंह थारू, २०५६ मा कांग्रेसका कैलाशनाथ गुप्ता (कशौधन), २०६४ मा माओवादीकी पूर्णाकुमारी सुवेदी, २०७० मा नेकपा एमालेका दलबहादुर सुनार र २०७४ सालमा एमालेकै नन्दलाल रोकाय निर्वाचित भएका थिए।

आगामी मंसिर ४ मा हुन लागेको निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि पाँचदलीय गठबन्धनका तर्फबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, एमाले–राप्रपाबीचको तालमेलबाट एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, जनता समाजवादी पार्टीका नोयन्द्र धिताल, नेपाल मजदुर किसान पार्टीका नगेन्द्रबहादुर बुढाक्षेत्री, लोकतान्त्रिक समाजवादी पार्टीका हफिज पठान, जनमत पार्टीका राजुप्रसाद कुर्मी, नेकपा माक्सवादी (पुष्पलाल) का वीरबहादुर ओली क्षेत्री, नेपाली कांग्रेस (बिपी) का दुर्गाबहादुर घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्ला चुनाव लड्दैछन्।

यहाँका अधिकांश उम्मेदवारले यसपटक पनि भूमिहीन, सुकुम्बासी समस्या समाधान गर्ने चुनावी एजेन्डा बनाएका छन्। बस्ती व्यवस्थापन कार्य पेचिलो बन्दा ‘नौबस्ता औद्योगिक क्षेत्र’ निर्माणले पूर्णता पाउन सकेको छैन। सरकारले २०७२ चैत १ मा मन्त्रिपरिषद् बैठकबाट बाँकेको नौबस्तामा लुम्बिनी प्रदेशअन्तर्गतको औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो। घोषणापश्चात् सरकारले २०७५ कात्तिक ७ मा औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना ग¥यो, तर औद्योगिक क्षेत्र निर्माणका क्रममा जग्गा विवादलगायत विभिन्नखाले समस्या सिर्जना भएपछि अलपत्र पर्दै आएको छ।

साबिकको नौबस्ता गाविस हाल बैजनाथ गाउँपालिकाको उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितमारीको चार किल्लाभित्र रहेको ५ सय २५ बिघा सरकारी जमिनमध्ये ३ सय ३८ बिघा जमिन नौबस्ता औद्योगिक क्षेत्रका नाममा आइसकेको छ। बाँकी जमिनमा सशस्त्र प्रहरी बल नेपालको तालिम केन्द्र र केहीमा भूमिहीन र सुकुम्बासी बसेका छन्।

प्रकाशित: २३ कार्तिक २०७९ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App