५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

पहिलाका सहयोगी अहिले प्रतिस्पर्धी

योगेश भट्टराई र खेलप्रसाद बुढाक्षेत्री ‘पराग’।

नेकपा एमालेका सचिव योगेश भट्टराई दोस्रो पटक ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। जितलाई निरन्तरता दिने अभियानमा रहेका उनका लागि यसअघि सघाएका माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ चुनौती बनेका छन्। अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन थियो।

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार भट्टराई २९ हजार ४ सय ७९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गरेका थिए। यसपटक भने परिस्थिति फेरिएको छ। भट्टराई नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता गठबन्धनका उम्मेदवार बुढाक्षेत्रीसँग प्रतिस्पर्धा गर्दैछन्। एमाले विभाजनको असर ताप्लेजुङमा पनि देखिएकाले भट्टराईलाई सत्ता गठबन्धनका बुढाक्षेत्रीले टक्कर दिने आकलन गर्न थालिएको छ। भट्टराईले भने पार्टी संगठन र आफ्नो लोकप्रियताकै कारण निर्वाचन जित्ने विश्वासका साथ घरदैलो गरिरहेका छन्। ‘विगतमा मैले गरेका कामकै आधारमा ताप्लेजुङका जनताले मलाई २०७४ सालमा जस्तै मत दिएर प्रतिनिधिसभामा पठाउँदै छन्,’ भट्टराईले नागरिकसँग भने, ‘म हिजो पनि यहाँकै जनतासँग थिए, आज पनि छु, भोलि पनि हुनेछु। मैले गरेका सबै कामको सार्वजनिक अडिट छ, जोकोहीले हेर्न सक्नुहुन्छ।’

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बुढाक्षेत्री पनि आफूले चुनाव जित्ने दाबी गर्छन्। ‘मलाई विश्वास छ, जनताले यसपटक जिताउनेछन्,’ उनले भने।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मतका आधारमा ताप्लेजुङमा एमाले पहिलो शक्तिका रूपमा देखिन्छ। ताप्लेजुङका ६१ वडामध्ये एमालेले २९, कांग्रेसले १६, माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले २ वटा र स्वतन्त्रले चारवटा वडा जितेका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा एक नगरसहित पाँचवटा गाउँपालिका जितेको एमालेले गत वैशाखमा सम्पन्न सोही तहको निर्वाचनमा भने तीनवटा पालिकामा चित्त बुझाउनुपरेको छ। यसबाट सत्ता गठबन्धन दल केही उत्साही भएका छन्।

पछिल्लो स्थानीय तह निर्वाचनमा जिल्लाका ९ वटा स्थानीय तहमध्ये गठबन्धनले ६ वटामा प्रमुख जितेको छ। यसैलाई सत्ता गठबन्धनले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा जितको आधार मानेको छ। सत्ता गठबन्धनका उम्मेदवार बुढाक्षेत्री एमालेका भट्टराईलाई ‘मौसमी उम्मेदवार’ भएको आरोप लगाउँदै प्रचारप्रसारमा जुटेका छन्। भट्टराईले बुढाक्षेत्रीको आरोपलाई विज्ञप्ति निकालेर खण्डन गरिसकेका छन्।

ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनसमाजवादी पार्टी नेपालका पनि उम्मेदवार चुनावी मैदानमा छन्। त्यस्तै स्वतन्त्रतर्फ दुईजना उम्मेदवार छन्। तर निर्वाचनमा प्रतिस्पर्धा भने एमालेका भट्टराई र सत्ता गठबन्धनबाट माओवादी केन्द्रका बुढाक्षेत्रीबीच नै हुने मतदाता बताउँछन्।

ताप्लेजुङमा प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र (ख) मा एमालेका गोपाल थोप्रा र सत्ता गठबन्धनबाट कांग्रेसका खगेनसिं हाङ्गामबीच प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जसपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार पनि मैदानमा छन्। त्यस्तै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र (क) मा एमालेका तिलकुमार मेन्याङ्बो र सत्ता गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ उम्मेदवार छन्। सत्ता गठबन्धनमा रहेको नेकपा एसका खेम वनेम पनि यस क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन्।

प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार भट्टराई विद्यार्थी जीवनबाट केन्द्रीय राजनीतिमा स्थान बनाएका नेता हुन्। उनले जिल्लामा शैक्षिक सुधारका कार्यक्रम पहिलो प्राथमिकतामा राखेर चुनाव प्रचार गरिरहेका छन्। उनी बितेका पाँच वर्षमा ताप्लेजुुङमा शैक्षिक उन्नयनका लागि आफूले उल्लेख्य पहल गरेको दाबी गर्छन्।

सरकारी स्कुलको गुणस्तर सुधारका लागि स्थानीय, प्रदेश, संघीय सरकारसँगै अन्तर्राष्ट्रिय दातृ निकायको सहकार्यमा भौतिक पूर्वाधार र जनशक्तिको विकास गरेको उनले बताए। आफ्नो पहल र ह्युमन प्राक्टिस फाउन्डेसनको सहयोगमा २०७४ सालयता जिल्लाका ४० वटा समुदायिक विद्यालयका भवन निर्माण सम्पन्न भएको, ९ वटा भवन निर्माणाधीन रहेको र पाथिभरा क्याम्पससहित थप ११ वटा विद्यालय भवन निर्माणका लागि छनोटमा परेको उनको दाबी छ।

कस्तो छ अवस्था?

८८ हजार २ सय ८५ मतदाता रहेको ताप्लेजुङमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो।

सत्तापक्षको नेकपा एस भने आंशिक रूपमा गठबन्धनमा थियो। स्थानीय तह निर्वाचन परिणामअनुसार ताप्लेजुङमा एमालेको २४ हजार ९ सय ९५, कांग्रेसको १८ हजार ६ सय १८, माओवादी केन्द्रको ४ हजार ४ सय ९७, नेकपा एसको ८ सय ५४, जसपाको ५ सय ४१ र राप्रपाको ३ सय ९७ मत छ। स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले १ हजार ९ सय ७२ मत पाएका थिए। त्यस्तै स्थानीय तह निर्वाचन नतिजाअनुसार प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा एमालेको १२ हजार १ सय २५, कांग्रेसको ९ हजार ३ सय २३, माओवादी केन्द्रको २ हजार ९, स्वतन्त्रको १ हजार ७ सय ९५, नेकपा एसको ४ सय ८३ र राप्रपाको ३ सय ७९ मत छ। प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा एमालेले १२ हजार १ सय ७०, कांग्रेसले ९ हजार २ सय ९५, माओवादी केन्द्रले २ हजार ४ सय ८८, जसपाले ५ सय ४१, नेकपा एसले ३ सय ७१ मत स्थानीय तह निर्वाचनमा पाएका छन्।

को हुन् भट्टराई?

योगेश भट्टराई विद्यालयमा अध्ययनरत रहँदा झापा विद्रोह चरम रुपमा थियो। ताप्लेजुङलगायत जिल्लामा यसको प्रभाव परेकाले उनी पनि विद्यालय शिक्षाकै क्रममा वामपन्थी राजनीतिप्रति आकर्षित भए। उनको परिवारका सदस्य पनि वामपन्थी पृष्ठभूमिका थिए। उनले २०३७ सालमा अनेरास्ववियुको सदस्यता लिएर राजनीति थालेका हुन्। उनले अनेरास्ववियु विद्यालय प्रारम्भिक कमिटी हुँदै क्याम्पस तहका कमिटीमा पनि बसेर काम गरे। २०४३ सालमा महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौंमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति जितेका उनी एमालेको प्रभावशाली संगठन अनेरास्ववियुको अध्यक्ष भए। २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको अध्यक्ष भएका उनी एमाले जिल्ला कमिटी, अञ्चल कमिटी, काठमाडौं विशेष जिल्ला कमिटी, उपत्यका कमिटी सचिव हुँदै केन्द्रीय सदस्य भए। दुई कार्यकाल एमालेको केन्द्रीय सचिव भएका भट्टराई २०६४ साल र २०७० सालमा भएका संविधानसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार भएका थिए। ती दुवै चुनाव उनका लागि फलदायी भएनन्।

को हुन् बुढाक्षेत्री?

ताप्लेजुङबाट पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। अघिल्लोपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धन भएकाले बुढाक्षेत्रीले भट्टराईलाई सहयोग गरेका थिए। दशकभन्दा बढी समय माओवादी आन्दोलनमा बिताएका बुढाक्षेत्री जिल्लाकै राजनीतिमा सक्रिय छन्। पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर ताप्लेजुङमै कार्यक्षेत्र बनाएर करिब २ दशक बिताएका उनको केन्द्रीयस्तरको राजनीतिमा भने ठूलो पहँुच देखिँदैन। जिल्ला तहमा भने आफू लोकप्रिय रहेको उनको दाबी छ। ताप्लेजुङमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सिँचाइ, जडीबुटी पहिचान र संरक्षण, सार्वजनिक सेवामा सुधार गर्ने अजेन्डा उनले अघि सारेका छन् ।

प्रकाशित: २३ कार्तिक २०७९ ००:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App