२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी र एस संघमा मिले पनि प्रदेशमा प्रतिस्पर्धा

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा नेपाली कांग्रेस र एमालेका उम्मेदवारवीचमै मुख्य प्रतिस्पर्धा छ, तर प्रदेशसभाको एक क्षेत्रमा भने माओवादी र नेकपा (एस)का उम्मेदवारहरू आपसमा प्रतिस्पर्धामा रहेका छन्।

रामेछापमा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस र प्रदेशसभाका दुवै क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् तर केन्द्र र प्रदेश दुवैमा एउटा पनि सिट नपाएपछि नेकपा(एस)ले केन्द्र र प्रदेश गरी तीनवटै सिटमा छुट्टै उम्मेदवारी दिएको छ।

केन्द्रमा दिएको उम्मेदवारीलाई नेकपा (एस)ले निष्कृय पारेको छ तर प्रदेश सभाको हकमा भने रामेछाप (क)मा दिएको उम्मेदवारीलाई भने एसका नेताहरूले सक्रिय बनाएका छन्। रामेछाप (क)मा जसरी पनि जित्ने गरी एसका नेताहरले प्रचार सुरु गरेका छन्। यस क्षेत्रमा अहिले माओवादी र एसका उम्मेदवारवीचमै मुख्य प्रतिष्पर्धा छ।

प्रदेश सभामा रामेछाप (क)मा नेकपा (एस)बाट उम्मेदवारी दिएका रमेश बस्नेत पार्टीको आधिकारिक उम्मेदवार भएको भन्दै त्यस क्षेत्रमा आफूहरू विजयी हुनेमा कुनै शंका नभएको एसका पोलिटब्युरो सदस्य तथा रामेछाप इन्चार्ज देवशंकर पौडेलले बताए।

‘हामीले सुरुमै केन्द्र र प्रदेश गरी रामेछापका तीन वटै सिटमा उम्मेदवारी दियौ तर पछि प्रतिनिधिसभा र प्रदेशसभाको रामेछाप (ख)को उम्मेदवारी निस्क्रिय बनायौं,’ पौडेलले भने, ‘(क) मा माओवादीले अहंकार देखायो। त्यसैले त्यस क्षेत्रमा हामीले उम्मेदवारी फिर्ता लिएनौ।’

पौडेल आफैले पनि प्रतिनिधि सभामा नेकपा (एस)को तर्फबाट उम्मेदवारी दिएका छन् तर पार्टीको निर्देशन बमोजिम उनले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएका छन्। यसैगरी, रामेछाप (ख)मा दिइएको उम्मेदवारीलाई पनि निस्क्रिय बनाउन लगाएका छन। तर (क) मा भने केन्द्रको निर्देशनलाई एसका स्थानीय नेताहरूले मानेनन। बरु प्रचार प्रसारलाइ अझै तीब्र बनाएका छन्।

प्रदेशसभातर्फ रामेछाप (क)मा माओवादीबाट तारानारायण श्रेष्ठ, एमालेबाट शान्तिप्रसाद श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिक्मत सुनुवारले उम्मेदवारी दिएका छन्। यसैगरी रामेछाप (ख)बाट एमालेका मिलनकुमार घिसिङ, माओवादीका युवराज चौलागाईं तथा एसका झम्कबहादुर कँडेलले उम्मेदवारी दिएका छन्। कँडेलले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएका छन्।

प्रदेशसभा (क)मा मुख्य प्रतिस्पर्धा एमाले, माओवादी र एसवीच हुने भएको छ भने (ख )मा माओवादी र एमालेवीच प्रतिष्पर्धा हुने भएको छ। प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) र एमालेका उम्मेदवार कैलाश ढुंगेलले उम्मेदवारी दिएका छन्। यसैगरी राप्रपाबाट लालबहादुर घिसिङ तथा नेपाल मजदुर किसान पार्टीबाट हरिकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन। 

प्रकाशित: २१ कार्तिक २०७९ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App