२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

विरासत जोगाउन ‘स्वतन्त्र’

पछिल्लो समय राजधानी लगायतका कतिपय ठाउँमा ‘परिवर्तनका लागि स्वतन्त्र’ भन्ने नाराका साथ चुनावी माहोल अगाडि बढेको देखिन्छ तर मधेसका कतिपय जिल्लामा भने विरासतकै निरन्तरताका लागि स्वतन्त्र उम्मेदवारी परेको देखियो।

सर्लाहीको क्षेत्र नं ४ मा पार्टीका आधिकारिक उम्मेदवारभन्दा विरासतको लडाइँमा होमिएका स्वतन्त्र उम्मेदवार अमरेश सिंह र मधुमालादेवी यादव बीच कडा प्रतिस्पर्धा देखिएको छ। उक्त क्षेत्रमा सत्ता गठबन्धले नेपाली कांग्रेसका नागेन्द्रकुमार राय र एमाले–जसपा गठबन्धनले जसपाका राकेश मिश्रलाई प्रतिस्पर्धामा उतारेको छ।

त्यस्तै कांग्रेसबाट टिकट नपाएका कारण निवर्तमान सांसद अमरेशकुमार सिंह आफ्नो विरासत जोगाउन स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा होमिएका छन्। २०४८ सालको चुनावमा कांग्रेसका तर्फबाट महन्थ ठाकुरले विजय हासिल गरेको यो क्षेत्रमा निवर्तमान सांसद अमरेशकुमार सिंहले २०७० र २०७४ मा गरी लगातार दुई पटक विजय हासिल गरेका छन्। ह्याट्रिकको दाउमा रहेका सिंह टिकट नपाएपछि बागी बनेका हुन्।

कांग्रेसका बागी सिंहको चुनौती सत्ता गठबन्धनका नागेन्द्रकुमार र एमाले-जसपा गठबन्धनका राकेश मिश्र नभई भर्खरै बिएससी नर्सिङ सकाएर स्वतन्त्र उम्मेदवार बनेकी युवानेत्री मधुमालादेवी यादव रहेकी छन्। मधुमाला त्यस क्षेत्रमा चर्चित माओवादी नेता शिवपुजन रायकी छोरी हुन्।

२०६४ सालको निर्वाचनमा मधेसी जनअधिकार फोरमको तर्फबाट उम्मेदवार बनेर कांग्रेसका अमरेश सिंहलाई पराजित गरेका सिंह पछिल्लो समय माओवादी केन्द्रमा आबद्ध छन्। आफूले टिकट नपाएपछि छोरीलाई चुनावमा उतारेर विरासत जोगाउन लागिपरेका शिवपुजनको चुनावी रेसमा अमरेश तगारो बनेका छन्।

हेर्दा अमरेश र मधुमालादेवीको प्रतिस्पर्धा देखिएपछि खासमा प्रतिस्पर्धा मधुमालाका पिता शिवपुजन र सिंहबीचको प्रतिस्पर्धा रहेको स्थानीय बता त्यो किन पनि भने २०७४ सालको चुनावमा यही क्षेत्रबाट उम्मेदवार बनेका शिवपुजनको उम्मेदवारी खारेज अमरेशको भूमिका भएको तथा यसपटक अमरेशलाई वाम-लोकतान्त्रिक गठबन्धनबाट टिकट नदिन शिवपुजनले भूमिका खेलेको एकअर्काको बुझाइ रहेको छ।

त्यसैले यहाँ स्थानीय तह निर्वाचनमा कसको पक्षमा कति मत खस्यो भन्दा पनि यो क्षेत्रमा अमरेश र शिवपुजनको व्यक्तिगत प्रभाव कसको बढी होला भन्ने अनुमान गर्न थालिएको छ। ‘यहाँ स्वतन्त्रबीच विरासतको लडाइँ छ’, गोडैता-२ की ४५ वर्षीय गायत्रीदेवी महतो भन्छिन्, ‘यो क्षेत्रमा यी दुईमध्ये कसले जित्छ भन्न मुस्किल छ।’

२०४८ सालको चुनावमा कांग्रेसका तर्फबाट महन्थ ठाकुर निर्वाचित भएको यो क्षेत्रमा ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तराई-मधेस लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका उनी पराजित बनेका थिए। कांग्रेसको जनआधार बलियो देखिएको यस क्षेत्रमा गगन थापालाई उम्मेदवारी बनाउने चर्चासमेत चलेको थियो।

यता रौतहट क्षेत्र नं ३ मा एमालेको टिकट खल्तीमै राखेर नाटकीय ढंगबाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह पनि विरासतकै निरन्तरतामा लागिपरेका छन्। यसअघिका तीनवटा निर्वाचन माओवादी केन्द्रबाट जितेका साह आफ्नो क्षेत्रमा बलियो प्रभाव राख्छन्। उनी २०६४ र २०७० को संविधानसभामा निर्वाचन र २०७४ को चुनाव पनि यहींबाट चुनाव जितेका हुन्।

यति मात्र नभएर यस क्षेत्रमा पर्ने मौलापुर नगरपालिकामा उनकी श्रीमती रिना साहले लगातार दुईपटक मेयर बनेकी छन्। कहिले माओवादी कहिले एमाले बन्दै विरासतको निरन्तरतामा लागेका प्रभु साह पछिल्लो समय त नाटकीय ढंगबाट स्वतन्त्र बनेका हुन्।

स्वतन्त्र बनेका उनलाई सत्ता गठबन्धनले समर्थन दिने जनाएपछि उनी केही बलिया देखिएका छन्। प्रभुले धोका दिएकाले उम्मदवारी दिन नपाएको एमालेले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई समर्थन गर्ने जनाएको छ।

जसका कारण कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका ओमप्रकाश प्रभुको विरासतको बाटोमा तगारो बन्न सक्ने छन्। ज्योति डिस्टिलरी र बाबा बैजुनाथ सुगर मिलका सञ्चालक समेत रहेका ओमप्रकाश यस क्षेत्रका चर्चित व्यवसायी हुन्। ‘यहाँ पनि विरासतकै लडाइँ छ, ‘कटहरियाकी हथियाही टोलकी रुकमनीदेवी झाले भनिन्, ‘मान्छे पुरानै हुन् तर स्वतन्त्र भएका छन्।’

प्रकाशित: २१ कार्तिक २०७९ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App