१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

उम्मेदवार लाउँछन् विकासका नारा, जनतालाई महंगी र बेरोजगारीको चिन्ता

कास्की–२ (१)का प्रदेश सभा सदस्यका उम्मेदवार विश्वप्रकाश लामिछाने धान काटेकै ठाउँमा गएर जनतासँग मत माग्दै। तस्बिरः नागरिक

चुनावी रन्को ह्वात्तै बढेको छ। उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन्। कामको चटारोले जनतालाई चुनावी गफ सुन्न फुर्सद छैन। तर घर र काम गरेकै ठाउँमा नेता र उम्मेदवार पुगेपछि सर्वसाधारण जनता व्यस्तताका बाबजुद उनीहरुको कुरा सुन्न बाध्य छन्।  

करिब पाँच वर्षपछि जनताको घरदैलोमा पुगेका नेता र उम्मेदवारहरुले पुरानै नारा र अजेण्डा उठाएका छन्। उनीहरु उहि पुरानो बाटो, पु्ल, पानी, सिंचाई लगायतका विकासका आश्वासन बाँढ्छन्। तर जनताले भने उनीहरुको विकासको खोक्रो आश्वासन भन्दा फरक माग राख्ने गरेका छन्।

२०४६ सालदेखि अहिलेसम्म एउटै नारा र अजेण्डा सुनेर जनताका कान पाकेका छन्। तर पार्टी, नेता र उम्मेदवारको रटान उहि विकासका खोक्रा आश्वासनमै केन्द्रीत छ। उनीहरु फेरी पनि विकासका पुरानै आश्वासन बाँढेर मत मागिरहेका छन्। उनीहरुका विकासका गुलिया आश्वासनमा अधिकांश भुलिरहेका छन्। तर केहि सचेत वर्ग र जनता भने उनीहरुलाई विकासका खोक्रा आश्वासन भन्दा आफ्नो दैनिकी बदल्ने अजेण्डा ल्याउन सुझाईरहेका छन्। त्यसमा उम्मेदवारहरुले पनि हो मा हो मिलाउने गर्छन्।

पोखरा–३३ भरतपोखरीकी सोमु विकले कास्की क्षेत्र नम्बर २ (१) का गठबन्धनबाट माओवादी उम्मेदवार बनेका विश्वप्रकाश लामिछानेसँग जनताको जीवनस्तर बदल्ने अजेण्डा बोक्न सुझाव दिईन्। ब्यबस्था बदले पनि जनताको अवस्था नबदलिसकेको भन्दै उनले भनिन्, ‘महंगीले ढाड सेकिसक्यो, यहि कारण बालबच्चा पाल्नै नसक्ने अवस्था सिर्जना भयो। लौन महंगी नियन्त्रणमा भूमिका खेल्नूस्, बरु हामीलाई विकास चाहिएन।’ जवाफमा उम्मेदवार लामिछानेले भने, ‘म बिजयी भएमा नीति निर्माण तहमै कुरा उठाउँछु । महंगी नियन्त्रणमा सक्दो पहल गर्छु।’

पोखरा–३३ कै हाममाया पौडेलले पनि विकास भन्दा स्वास्थ्य समस्या चाँडो सम्बोधन गर्न आग्रह गरिन्। उनले भनिन्, ‘परिवारको एक जना कोहि विरामी भएमा जिन्दगीभर कमाएको सम्पती सकिने अवस्था छ। नागरिक खर्च नपाएर मर्ने अवस्था नआओस्।’ जवाफमा लामिछानेले त्यसका लागिपनि भूमिका खेल्ने वचन दिए।

पोखरा–३२ ढोंडवेशीका महेन्द्र धमलाले रोजगारी नपाउँदा बेरोजगार बढेको र युवाहरु विदेश पलायन भईरहेको भन्दै त्यसतर्फ उम्मेदवारको ध्यानाकर्षण गराए। कास्की–१ (१) मा गठबन्धनबाट माओवादी उम्मेदवार दीपक कोईराला घरदैलोमा पुगेका बेला उनले भने,‘एकातर्फ महंगी बढेर बाँच्नै नसकिने अवस्था छ। अर्कोतर्फ रोजगारी पाईंदैन । यसरी त कसरी बाँच्ने ?।’ जवाफमा कोईरालाले युवा उद्यमशीलताको विकास गर्ने, साना तथा मझौला उद्योग सञ्चालनमार्फत बेरोजगारी समस्या समाधान गर्ने योजना कार्यान्वयन गर्ने आश्वासन दिए।

पटक÷पटक जिताएर पठाउँदापनि आफूहरुको माग सम्बोधन नभएकोमा जनताले आक्रोसपनि पोख्ने गरेका छन्। कास्की–२ मा एमालेबाट प्रतिनिधि सभा उम्मेदवार विद्या भट्टराईलाई घरदैलोका क्रममा पुग्दा पोखरा–१७ का एक मतदाताले भनिन्,‘हामीले पटक÷पटक जिताएर पठायौं तर हाम्रो माग कहिल्यै सम्बोधन भएन। नत महिला हक, हित र अधिकार नै स्थापित भयो।’ जवाफमा मुसुक्क मुस्काउँदै भट्टराईले भनिन्, ‘नीति निर्माणमै समस्या छ। मैले त संसदमा कुरा उठाएकै छु। तर अब कार्यान्वयन गर्नेगरी आवाज बुलन्द गर्छु।’

कास्की–१ का प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाईपनि जनताले विकासका झूठा आश्वासन बाँढ्नु भन्दा सक्नेजति मात्र बोल्न सुझाव दिएका छन्। जवाफमा उनले भन्ने गरेका छन् ,‘म तपाईंहरुकै प्रतिनिधि हुँ। अहिलेपनि र जितेपछि पनि तपाईंहरु जे भन्नुहुन्छ त्यहि गर्छु।’ कास्कीका अन्य उम्मेदवारहरुलेपनि जनताको कुरा सुन्दै उनीहरुको माग अनुसार नै नीति निर्माण र त्यसका कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाउने गरेका छन।

प्रकाशित: १८ कार्तिक २०७९ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App