रुकुमको आठबीसकोट, रोल्पाको होलेरी, सिन्धुलीको सिन्धुलीगढीमा रहेका प्रहरी चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैँक कब्जा गरी २०५२ साल फाल्गुन १ गतेदेखि विधिवत भुमिगत भएको माओवादी १० वर्षमै सत्ताको मुलधारमा आयो। २०६३ मा शान्ती प्रकृयामा आएको माओवादीले २०६४ सालको पहिलो संविधान सभा निर्वाचन पछि सत्ता र प्रतिपक्षको अलग अलग स्वाद चाखिरहयो।
मध्यपश्चिमका पहाडी जिल्लामा बढी प्रभाव रहेको माओवादीले दोस्रो संविधान सभा निर्वाचनसम्म आउँदा नआउँदै साख गुमाउन थालेको थियो। २०७० पछिका निर्वाचनहरु फलामको च्युरा बनेको माओवादीलाई यो पटक गठबन्धन भए पनि कतिपय प्रभाव क्षेत्रमै सकस परिरहेको छ। कुनै समय रुकुममा हुने हरेक निर्वाचनहरुमा क्लिन स्वीप पार्ने माओवादीलाई गएको स्थानीय तह निर्वाचनले गतिलो झड्का पनि दिएको छ।
सुरुवाती दिन २०५२ फागुन १५ मा रुकुमको पीपलमा ६ जना खत्री बन्धुहरूको प्रहरीद्वारा हत्या गरिएका उनीहरुका परिवार जस्तै यहाँका प्राय सबै मृतक, बेपत्ता परिवार र घाइते अपांगहरुलाई माओवादी द्वन्द्व कागलाई बेल जस्तै भएको छ। माओवादी द्वन्द्वका समयमा अत्याधिक पिल्सिएको जिल्ला रुकुम पनि हो। २०५७ पुस ५ सम्म आइपुग्दा नेपालको इतिहासमा पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा गरी हालका उम्मेदवार पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनसरकार प्रमुख चुनिएका थिए।
समय बित्दै जाँदा उनी लुम्बिनी प्रदेशका सभामुखसम्म पुगे। पश्चिम रुकुमका माओवादी हस्ति पटक पटकका मन्त्री हुँदै जनार्दन शर्मा यतिबेला अर्थ मन्त्रीका रुपमा आसिन छन्। शान्ति प्रकृयापछिका हरेक चुनावमा सानदार जित हासिल गर्दै पटक पटकका सत्तामा पुग्ने माओवादीले जनभावना अनुसार काम गर्न नसकेको आरोप लाग्ने गरेको छ।
जनअपेक्षा अनुरुप माओवादीले काम नगरेको भन्दै रुकुममा तीव्र असन्तुष्टि बढेको यहाँका माओवादी आफैं बताउँछन्। ‘रुकुम माओवादीले विगतमा एकल जित्दै आएको जिल्ला हो। विरासत जोगाउनलाई सबैलाई कठिन नै भएको हो र त गठबन्धन गरिएको छ।’ माओवादीबाट पूर्वीरुकुम प्रतिनिधि सभाका उम्मेदवार तथा लुम्बिनी प्रदेशका सभामुख पुर्ण घर्ती भन्छन्, ‘जनताको अपेक्षा पनि बढी त हो तर हामीले पनि जनभावना अनुसार काम नगरेको वा कमी भएको सत्य हो।’
पत्रकार महासंघ रुकुमका पूर्व अध्यक्ष गणेश चिन्तन भन्छन्, ‘माओवादीले एजेण्डा त्याग्यो। विचारमा स्खलन भयो। कार्यकर्ताको संरक्षणमा अभाव देखियो। सहिद परिवार प्रतिको भावनात्मक सम्बन्ध कट्यो। समावेशिको सवाल त्याग्यो। हिजोका पूर्वलडाकु र पूर्णकालीन कार्यकर्ताको भविष्यका बारेमा सोच राख्न सकेन अनि निर्वाचनमा सजिलो कसरी हुन्छ?’
रुकुममा माओवादी साख गुमेका बारेमा पत्रकार चिन्तन थप्छन्, ‘म आफू पनि माओवादी निकटको मान्छे हो तर म आफैं माओवादीको कार्यशैली प्रति सन्तुष्टि छैन। नेतृत्व वर्गसंग गम्भीर असहमति छ।’ उनले एक उखानलाई विश्लेषण गर्दै भने ‘कागलाई बेल त कहिले फुटाएर खान त मिल्छ यो त ढुंगा जस्तो भयो।’
माओवादी रुकुम पश्चिमका संयोजक सचिन रोका आफ्नो पार्टीको साख घटेको स्वीकार गर्न नसकिने बताउँछन्। ‘निर्वाचन जित्न कठिन छैन र संगठन कमजोर हैन। जनगुनासो त स्वभाविक हो।’ रोका थप्छन् ‘कति गुनासोहरु सम्बोधन गर्न सकिएको छैन होला तर पनि हामी कमजोर भएको भने होइन।’
रुकुम, रोल्पा जस्ता माओवादी आधार क्षेत्र मानिने जिल्लाहरुमा यो पटकको निर्वाचन सत्ता गठबन्धन नै भए पनि उनीहरुलाई जित्नका लागि ठूलै जोडबल गर्नुपर्ने अवस्था आएको छ। जनजीविकामा गतिलो ध्यान नदिएको, द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएका परिवार, घाइते अपाङ्ग, पूर्व लडाकुहरुलाई भुलेको, नेतामा परिवारवाद हावी भएको र सुशासन कायम गर्न नसकेको प्रयाप्त आरोप लाग्ने गरेको छ।
प्रकाशित: १८ कार्तिक २०७९ ०८:२६ शुक्रबार