१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुनसरी १: जसपाका नेता अशोकलाई एमालेका बागीको चुनौती

पहिचानको मुद्दा बनाएर २०६९ सालमा एमाले छाडेर नेता अशोक राईले आफ्नै नेतृत्वमा संघीय समाजवादी पार्टी बनाए। दोस्रो संविधानसभामा प्रत्यक्षतिर शून्य नतिजा हात पर्‍यो। दोस्रो संविधानसभामा राईको संघीय समाजवादी पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो।

दोस्रो संविधानसभापछि अशोकले उपेन्द्र यादवसँग एकता गरे। उपेन्द्रसँग एकता गरेपछि २०७४ सालको निर्वाचनमा संघीय समाजवादीले प्रतिनिधिसभामा १६ र राष्ट्रियसभामा दुई जना सदस्य जितेको थियो। प्रदेश सभामा ३० सिट जितेको थियो।

तर, स्वयम् राईले भने सुनसरी क्षेत्र नं. १ बाट आफ्नै चेला जयकुमार राईसँग निकै ठूलो अन्तरले पराजित हुन पुगेका थिए। जयकुमारले ४४ हजार ५ सय २८ मत प्राप्त गर्दा अशोकले २२ हजार १ सय २३ मत ल्याएका थिए।

यसपटक फेरि अशोक एमालेसँग सहकार्यमा क्षेत्र नं. १ बाटै दोस्रोपटक प्रतिनिधीसभामा प्रतिस्पर्धा गदैछन्। तर, उनलाई झनै ठूलो चुनौती थपिएको छ। एमालेका बागी मनोज मेन्याङ्बो अशोकमा निम्ति भारी बन्ने भएका छन्।

मंसिर ४ गते हुन लागेको निर्वाचनमा धरान उप-महानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाका पाँचवटा र रामधुनीका दुई वटा वडा समेटिएको सुनसरी क्षेत्र नं. १ मा पनि ठूला दल गठबन्धनका उम्मेदवारलाई  एमालेका बागी र स्वतन्त्र उम्मेदवार मुख्य चुनौती बनेका हुन्।

क्षेत्र नं. १ मा यसपटक मुख्य प्रतिस्पर्धी एमाले र काँग्रेसले आफ्नो उम्मेदवारलाई टिकट नदिएर गठबन्धनबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उम्मेदवारलाई टिकट दिएपछि उनीहरुका निम्ति एमालेका बागी मनोज र स्वतन्त्र उम्मेदवार कुमार कार्की भारी बन्ने भएका हुन्।

क्षेत्र नंं. १ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो र एमाले–जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक उम्मेदवार बनेका छन्। क्षेत्र नं. १ मा जसपा कमजोर छ। संगठनका हिसाबले एमाले बलियो छ।

अशोकले  एमालेकै भरमा आफूले सहजै चुनाव जित्ने दाबी गर्दै आएका छन्। तर, एमालेका केही सिनियर र थुप्रै कार्यकर्ता मनोजको पक्षमा खुलेरै चुनावी गतिविधीमा सक्रिय रहेकाले गर्दा अशोकलाई निकै गाह्रो हुनेछ। अशोकको भन्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका मुक्साहाङको अवस्था केही राम्रो छ।

तर, उनीसँग पनि सत्ता गठबन्धनकै काँग्रेस, माओवादी र नेकपा एसका केही नेता–कार्यकर्ता असन्तुष्ट छन्। उनले गठबन्धन समूहको मत रोक्न सकेमा सफलता हात लाग्न सक्नेछ। धरानको पूर्व मेयर समेत रहेका मनोजलाई प्रायः जसो सबै राजनीतिक दलबाट असन्तुष्ट भएकाको मत आउने विश्वास गरिएको छ। राजनीतिक दलबाट असन्तुष्ट भएका र ‘न्यूट्रल’ मत आफूले पाउनेमा मनोज विश्वास्त छन्।

मनोजले प्रमुख दलहरुले धरानलाई अपहेलना गरेका कारण एमालेबाट विद्रोह गरी स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएको बताउँदै आएका छन्। उनले अरु उम्मेदवारभन्दा क्षेत्र नं. १ मा आफ्नै बढी योगदान रहेको जिकिर गरेका छन्। सुकुम्वासीको पकड क्षेत्र रहेको क्षेत्र नं. १ मा  सुकुम्वासी नेता कुमार कार्की पनि प्रतिनिधिसभाका उम्मेदवार छन्। उनले पनि राजनीतिक दलबाट असन्तुष्ट मत र सुकुम्वासीहरुको मत पाउने देखिन्छ।

सुकुम्बासी नेताहरु उनको पक्षमा मत माग्न व्यस्त छन्। कार्कीले पनि सुकुम्वासी र सचेत नागरिकहरुले आफूलाई निर्वाचित गराउने दाबी गर्छन्। काँग्रेस र एमालेका क्षेत्रस्तरका सिनियर नेताहरु टिकट वितरण राम्रो नभएको सहजै स्वीकार्छन्। टिकट वितरण राम्रो नभएको गर्दा पार्टीको मत पनि संरक्षण गर्न गाह्रो हुने उनीहरुको तर्क छ।

हुन त धरानका मेयर हर्कराज राई टिमका भनेर चिनिएका तर्कबहादुर मगर र काँग्रेसबाट असन्तुष्ट भएर मातृका भट्टराईले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनीले जित्ने अवस्थाको मत नल्याएता पनि ठूला दलका उम्मेदवारका निम्ति प्राप्त गरेको मतले केही हदसम्म असर गर्नेछ। क्षेत्र नं. १ मा राप्रपाका उद्दप श्रेष्ठले समेत राम्रै मत ल्याउने अनुमान छ।

प्राध्यापक डा. टंक न्यौपानेका अनुसार यसपटक क्षेत्र नं. १ को निर्वाचन  निकै प्रतिस्पर्धात्मक हुनेछ, जसले गर्दा कसको पक्षमा नतिजा आउँला भनेर यकिन गरी हाल्न सक्ने वातावरण अहिले नै तय भइ सकेको छैन। क्षेत्र नं. १ मा १ लाख ४१ हजार ८ सय ७८ मतदाता छन्। क्षेत्र नं. १ मा २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन बाहेक २०४८ सालयता भएका सबै जसो निर्वाचनमा एमालेले जित्दै आएको थियो।

सुनसरी क्षेत्र नं. १ (क) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका प्रदेश महामन्त्री उमेश थापा र एमाले–जसपा गठबन्धनबाट एमालेका रमेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने भएको छ। प्रदेश १ (ख) बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादी धरान नगर अध्यक्ष रेवतीरमण राई र एमाले–जसपा गठबन्धनबाट एमालेका विजय राई चुनावी प्रतिस्पर्धामा छन्। यहाँ एकीकृत समाजवादी पार्टीको संगठन कमजोर भएकाले एमालेका विजयलाई चुनाव जित्न सहज छ।

प्रकाशित: १८ कार्तिक २०७९ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App