१६ चैत्र २०८० शुक्रबार
राजनीति

कपिलवस्तुमा पुरानै अनुहार चुनावी मैदानमा

कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह चुनावी मैदानमा छन्।

उनी २०६३ सालयता निरन्तर सांसद रहेका छन्। शाह चौथोपटक सांसद बन्ने प्रयासमा छन्। उनी २०७० सालमा संघीय समाजवादी, २०७४ मा नेपाली काँग्रेस र अहिले पुनः गठबन्धनबाट उम्मेदवार बनेका हुन्। विसं २०७४ को निर्वाचनमा शाहले २० हजार एक मत ल्याएका थिए। विगतमा गरेको कामका आधारमा अहिले आफू सहजै जित्ने शाहको दाबी छ।

कपिलवस्तु–३ मा एमालेबाट मंगलप्रसाद गुप्ता उम्मेदवार बनेका छन्। गुप्ता २०७४ सालमा जसपाबाट उम्मेदवार बनेका थिए। सो क्षेत्रमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वरदयाल मिश्र उम्मेदवार छन्। गत निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर उठेका मिश्र यसपटक भने आफ्नै पार्टीबाट उम्मेदवार बनेका हुन्।

कपिलवस्तुमा ठूला दलले पूरानै उम्मेदवार दोहोर्‍याएका छन्। नयाँ अनुहारका रूपमा कपिलवस्तु–१ बाट लौरो अभियानका देवेन्द्रकुमार शर्मा र कपिलवस्तु–३ बाट मौलिक जरोकिलो पार्टीका यमन उपाध्याय उम्मेदवार बनेका हुन्।

कपिलवस्तु क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र)ले चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ। नेकपा (एमाले)बाट बलराम अधिकारी चुनावी मैदानमा होमिएका छन्। विसं २०७४ मा वाम गठबन्धनबाट विजयी खनाल यसपटक काँग्रेसको साथ लिएर निर्वाचनमा उत्रिएका छन्।

गत निर्वाचनमा खनालले २९ हजार सात सय ९९ मत ल्याउँदा प्रतिस्पर्धी काँग्रेसका दीपकुमार उपाध्यायले २८ हजार आठ सय ५३ मत पाएका थिए। एमालेले २०७० सालमा निर्वाचित बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ। गत निर्वाचनमा अधिकारी र खनाल एकै ठाउँमा थिए। क्षेत्र नं १ मा दुवै पहिलाकै सांसद हुन्।

कपिलवस्तु क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार सुरेन्द्रराज आचार्य र एमालेका वृजेश गुप्ताबीच प्रतिस्पर्धा हुने देखिन्छ। दुवै नेता पटक–पटक सांसद र मन्त्रीसमेत भइसकेका व्यक्ति हुन्। दुई पटक काँग्रेसका जिल्ला सभापति भएका आचार्य गत निर्वाचनमा गुप्तासँग पराजित भएका थिए। गुप्ता भने चार पटक सांसद भइसकेका छन्।

प्रकाशित: १८ कार्तिक २०७९ ०५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App