९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

पाका उम्मेदवारसँग भिड्दै मानुषी

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसले जित्ला भन्ने जोडघटाउ सुरु भइरहेका बेला काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा भने युवा उम्मेदवार चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्रिय भएका छन्। पाका र परिपक्व नेताहरूलाई चुनौती दिँदै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई घरदैलो र चुनावी सभामा सक्रिय छिन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीकी छोरी मानुषी माओवादी केन्द्रबाट सत्ता गठबन्धनको उम्मेदवार बनेकी हुन्। ३८ वर्षीया मानुषी आफ्नै परिचयबाट चिनिन र काठमाडौं ७ लाई पनि चिनाउन चाहेको भन्दै मत माग्न घरघरमा पुगिरहेकी छन्। काठमाडौं ७ बाट प्रदेशसभा सदस्यमा पनि सत्ता गठबन्धनले युवालाई नै उम्मेदवार बनाएको छ।

प्रदेशसभातर्फका दुई सिटमध्ये एउटामा कांग्रेस र अर्कोमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उम्मेदवार छन्। कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका ४२ वर्षका सविन तामाङलाई काठमाडौं (ख) बाट उम्मेदवार बनाएको छ। नेकपा एसको भागमा परेको काठमाडौं (क) मा ५० वर्षीय वसन्तप्रसाद मानन्धर उम्मेदवार छन्। प्रदेशसभा र प्रतिनिधिसभामा गएर केही गरौं भन्ने हुटहुटी भएका युवालाई सत्ता गठबन्धनले काठमाडौं ७ बाट उम्मेदवार बनाएको बताउँदै तामाङले भने, ‘पाका र परिपक्व नेताहरूलाई हामी सम्मान गर्छौं तर एकपटक हामीलाई मौका दिन मतदातालाई आग्रह गर्छाैं।’ काठमाडौं ७ का मतदाताले गठबन्धनले अघि सारेका युवा उम्मेदवारलाई विश्वास र भरोसा गरेको तामाङको दाबी छ।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं ७ मा दलका १३ सहित २९ उम्मेदवार छन्। सत्ता गठबन्धनबाट मानुषी, नेकपा एमालेबाट श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टी (जसपा) बाट राजेन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवविक्रम मल्ल, नेपाल मजदुर किसान पार्टी  (नेमकिपा) बाट किरण महर्जन उम्मेदवार छन्। त्यस्तै हाम्रो नेपाली पार्टीबाट प्रवेन्द्र पोख्रेल, नेपालका लागि नेपाली पार्टीबाट राम नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कुमार खाकी श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीबाट जुजुकाजी महर्जन, नेपाली कांग्रेस (बिपी) बाट कमला भुसाल, नेपाल आमा पार्टी (एकल चुनाव चिह्न) बाट कृष्णप्रसाद दवाडी, जनसमाजवादी पार्टी नेपालबाट शैलेशराज श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। यसैगरी प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट रामवीर मानन्धर, राजकुमार कोइराला, हेमबहादुर ढुंगेल, प्रसन्नकुमार अर्याल, भरत तामाङ, लक्ष्मणप्रसाद गजुरेल, ईश्वर अर्याल, जानुका पौडेल, मन्जुमाया तामाङ, प्रकाश कुँवर, यादवलाल कायस्थ, लोकप्रसाद सिंखडा, रवीन्द्रकुमार श्रेष्ठ, सुजनरत्न बज्राचार्य, रोजिना अवाले र किरण केसी उम्मेदवार छन्।

स्थानीय निर्वाचनमा काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको विजयले प्रमुख दलका उम्मेदवारमा केही चिसो पसेको छ। तर प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख दलका उम्मेदवार नै प्रतिस्पर्धामा रहेको स्थानीय मतदाता बताउँछन्। काठमाडौंका अन्य क्षेत्रमा जस्तो ७ मा दुई उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुने अवस्था नरहेको मतदाताको आकलन छ। गठबन्धनबाट उम्मेदवार बनेकी मानुषीसँग पाका र संसदीय राजनीतिमा अनुभवी नेताहरू प्रतिस्पर्धामा रहेको स्थानीयको बुझाइ छ। मतदाताका अनुसार सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी मानुषी, एमालेका घिमिरे, जसपाका श्रेष्ठ, स्वतन्त्र उम्मेदवार मानन्धर लगायत प्रतिस्पर्धामा छन्।जसपासँग चुनावी तालमेल गर्ने तयारीमा रहेको एमालेले पहिला ६८ वर्षीय घिमिरेलाई काठमाडौं ७ (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर पछि यो क्षेत्रमा जसपासँग तालमेल नभएपछि एमालेले घिमिरेलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो। एमालेले काठमाडौं ७ (ख) बाट प्रदेशसभा सदस्यका लागि ४३ वर्षका प्रकाश श्रेष्ठ र (क) बाट ५८ वर्षका जीवन मानन्धरलाई उम्मेदवार बनाएको छ। एमालेले घिमिरेलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका सोही दलका पूर्वसांसद एवं पूर्वराज्यमन्त्री ५९ वर्षका रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेबाट जितेका रामवीर अहिले घिमिरेका लागि सबैभन्दा ठुलो चुनौती बनेका छन्। यस क्षेत्रमा रामवीरको उपस्थिति र सम्बन्ध बाक्लो छ। सुरुमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट सोही क्षेत्रमा उम्मेदवार बन्ने योजना जसपा नेता श्रेष्ठको थियो। तर सिट संख्या नमिलेको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेलमा पुगेपछि श्रेष्ठको योजना सार्थक हुन पाएन। अध्यक्ष यादवको ध्यान मधेसतिर केन्द्रित हुँदा काठमाडौं ७ मा तालमेलले प्राथमिकता पाएन।

जसले गर्दा एमालेले काठमाडौं ७ मा आफ्नै उम्मेदवार खडा गर्‍यो। अहिले पार्टी संगठनकै बलमा चुनावी प्रतिस्पर्धामा रहेका राजेन्द्र श्रेष्ठले २०५१ र २०५६ मा एमालेबाटै चुनाव जितेका हुन्। लामो समय एमालेमा संघर्ष गरेका उनले २०६९ मा पार्टी छाडेका हुन्। २०७४ सालमा जसपाबाट समानुपातिक सांसद तथा पछिल्लो सरकारमा मन्त्रीसमेत बनेका ६२ वर्षका उनी पूर्वपार्टी एमालेको साथ र सहयोगमा फेरि प्रतिनिधिसभा सदस्य बन्ने दाउमा छन्।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं ७ भित्रका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई आधार मान्दा यहाँ कांग्रेसको मत धेरै छ। कांग्रेसले १४ हजार १६७ मत पाउँदा एमालेको १२ हजार २०२ छ। नेकपा एसको ३ हजार ८३९ मत छ। स्थानीय निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवारले २ हजार २०६, राप्रपाले २ हजार २७, माओवादी केन्द्रले ५७६ र जसपाले १६२ मत पाएका थिए। काठमाडौं महानगरपालिकाका चार, नागार्जुन तथा तारकेश्वर नगरपालिकाका तीन/तीन वडा यस क्षेत्रमा पर्छन्। काठमाडौं महानगरपालिकाका सोह्रखुट्टे, क्षेत्रपाटी, नरदेवी र जनवहालसहितका ठाउँ यस क्षेत्रमा पर्छन्, जहाँ नेवार समुदायको बाहुल्यता छ। नागार्जुन र तारकेश्वरका वडाहरू नयाँ बस्ती हुन्।

प्रकाशित: १८ कार्तिक २०७९ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App